|

काठमाडौं : माथिल्लो त्रिसूली थ्री ए जलविद्युत् आयोजना अन्तर्गतकाे  ३० मेगावाट (पहिलो युनिट) राष्ट्रिय प्रणालीमा जोडिएको छ। पहिलाे युनिटकाे विद्युत बिहीबारबाट राष्ट्रिय प्रणालीमा जोडिएको हो।

नुवाकोटको किस्पाङ ५ सिम्लेस्थित स्वीचयार्डको कन्ट्रोल रूममा रहेको स्विच दबाएर नेपाल विद्युत प्राधिकरणका कार्यकरी निर्देशक कुलमान घिसिङले आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको घोषणा गरेका हुन्। आयोजनाको विद्युत् सिम्लेमा रहेको विद्युत्गृहबाट २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत काठमाडौंको मातातीर्थ स्थिति सबस्टेसनमा जोडिएको छ।

शुक्रबार साँझ ५ बजेबाट पहिलो युनिटबाट परीक्षणका रूपमा लगातार ७२ घण्टा विद्युत् उत्पादन गरिने छ। त्यसपछि उपकरण तथा सुरुङ, बाँधलगायतका संरचनाहरूको पुनः परीक्षण गरिने छ। यो परीक्षण सकिएपछि आयोजनाबाट नियमित विद्युत् उत्पादन सुरु हुने जनाइएकाे छ। आयोजनाको दोस्रो युनिट (३० मेगावाट) असारको दोस्रो हप्ताभित्र संचालनमा ल्याउने गरी काम भइरहेको घिसिङले बताए।

कार्यकारी निर्देशक घिसिङले माथिल्लो त्रिशूली ३ ए संचालनमा आएपछि कुलेखानी जलाशयको पानी बच्ने र भारतबाट आयात भइरहेको विद्युत्को परिमाण घट्ने बताए। ‘लोड सेन्टर (काठमाडौं उपत्यका)बाट नजिक रहेको र हिउँदमासमेत करिब ४५ मेगावाट विद्युत् उत्पादन हुने भएकाले यसबाट काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई सन्तुलनमा राख्न ठूलो योगदान रहन्छ’, उनले भने ‘यसबाट उपत्यकाको विद्युत् वितरण प्रणालीमा थप विश्वसनीयता बढ्ने छ।’

उनले त्रिशूली ३ ए पूर्ण रुपमा संचालनमा आएपछि आयोजनाबाट मुलकभित्र खपत हुने ऊर्जामा करिब ८ प्रतिशतको योगदान रहने बताए। यसबाट मुख्यरूपमा हिउँदको विद्युत् माग धान्न भारतबाट आयात हुने ऊर्जा घट्ने घिसिङले बताए। १७ जेठ २०७१ (३१ मे २०१४)भित्रमा निर्माण सक्ने गरी १४ जेठ २०६७ मा चिनियाँ कम्पनी सिजिजिसीसँग ८ करोड ९१ लाख ७८ हजार डलरमा ठेक्का सम्झौता भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.