पेस्तोलसहित एक पक्राउ

|
File Photo

बुटवल : रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १० शंकरपुर नाकामा गोली चलेको छ। भारतबाट हतियार लिएर नेपाल प्रवेश गरेका भारतीय नागरिक झिनक धोवीलाई पक्राउ गरी नेपाल  ल्याउने क्रममा आक्रमण भएपछि प्रहरीले गोली चलाएको हो। 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी हृदय थापाकाअनुसार प्रहरीले चलाएको गोली लागेर महाराजगंज जिल्ला थाना सुनौली फरेन्दाका दिलीप धोवी घाइते भएका छन्। उनको पेटमा गोली लागेको छ।

भारतको महाराजगंज जिल्ला थाना सुनौली फरेन्दाका ५० वर्षीय झिनक धोवीले अटोमेटिक पेस्तोल नेपाल ल्याउदै गर्दा बोर्डर क्षेत्रमा स्थानीयले प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले आत्मरक्षाका लागि गोली प्रहार गरेको रुपन्देही प्रहरीले जनाएको छ।

सादा पोशाकका प्रहरीमाथि स्थानीयले आक्रमण गरेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले जानकारी दिए। ‘प्रहरीले पक्राउ गरी ल्याएका हतियारधारी व्यक्तिले गुहार मागेपछि भारतीयहरु नेपाली सीमाक्षेत्रमा प्रवेश गरेर प्रहरीलाई आक्रमण गरेका थिए,’ रुपन्देहीका डीएसपी धर्मराज भण्डारीले भने, ‘प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको हो।’ 

घाइते धोवीको महाराजगंजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। स्रोतका अनुसार घाइते पक्राउ परेका धोबीका भतिज दिलीप हुन्। प्रहरीले धोबीको साथबाट एउटा अटोमेटिक पेस्तोल बरामद गरेको छ। आक्रमणमा ३ जना प्रहरी घाइते भएको छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.