|

वीरगन्ज : नयाँ शैक्षिक सत्रबाट वीरगन्जमा पनि चार्टर्ड एकाउन्टेन्ट (सिए) को कक्षा संचालन हुने भएको छ। वीरगन्ज कलेजले नयाँ वर्षबाट चार्टर एकाउन्टेन्ट (सिए) कोर्षको कक्षा पनि सञ्चालन गर्ने जमर्को गरेपछि वीरगन्जमा पनि सि.ए को पढाइ हुने भएको हो।

नेपालमै पहिलोपटक एकाउन्टिङ्ग टेक्निसिएन (एटी) कक्षा सञ्चालन गरी हौसिएको वीरगन्ज कलेजले यो वर्षबाट सिए कोर्स पनि संचालन गर्ने भएको हो। पहिलो चरणमा कलेजले सि.ए अन्तर्गतको प्रारम्भिक तह क्याप १ र क्याप २ को कक्षा सञ्चालन गर्ने कलेजले वीरगन्जमा पत्रकार सम्मेलन गरी जनाएको छ। 

नेपाल चार्टर्ड एकाउन्टेन्स संस्थाबाट सम्बन्धन प्राप्त गरी गत शैक्षिक सत्रमा नेपालमा नै पहिलोपटक एटी कोर्स संचालनमा ल्याएपछि यो वर्षबाट सिएको कक्षा पनि सञ्चालन गर्न अग्रसर भएको कलेजका प्रमुख विनोद गुप्ताले बताए। विदेशमा सिएको अध्ययन गरी नेपाल फर्केका विद्यार्थीहरूलाई यहाँ अभ्यास गर्न गाह्रो भइरहेको कुरालाई मध्यनजर गर्दै वीरगन्जमा नै सिए कक्षा सञ्चालन गर्न थालिएको उनको भनाइ छ।

२०७१ सालमा व्यवस्थापन संकायबाट अध्यापन सुरु गरेको वीरगन्ज कलेजले गत वर्षसम्म व्यवस्थापन संकाय, कानुन तथा पत्रकारिता, एकाउन्टिङ टेक्निसियन समूहको अध्यापन गराइरहेको थियो। यो शैक्षिक सत्रबाट भने नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्थाबाट सम्बन्धन लिएर नै मुलुकभरका ६ वटा कलेजसरह आफूहरुले पनि सिएको पढाइ सञ्चालन गर्न जमर्को गरेको वीरगन्ज कलेजका अध्यक्ष डा. दीपेन्द्र चौधरीले बताए।

सिए पढ्ने विद्यार्थीले बि.बि.एस पढ्न चाहेमा बि.बि.एस.को शुल्कमा ५० प्रतिशत सम्म छुट दिने व्यवस्थासहित वीरगन्जको शैक्षिक क्षेत्रमा एउटा नयाँ आयाम थपिएको चौधरीको दाबी छ। विगतमा अनुमति लिएर पनि स्तरीय अध्यापन नगरेका कारण खारेजीमा परेका धेरै कलेको कारण अहिले नेपाल भरी नै जम्मा ६ वटा कलेजहरुले मात्र सिए को कक्षा सञ्चालन गर्ने अनुमति लिएका छन्। जसमध्ये वीरगन्ज एपेक्स मेनेजमेन्ट कलेज पनि एउटा भएको उनले बताए। आगामी दिनमा पनि अभिभावक र विद्यार्थीको माग अनुसारको अन्य कोर्षहरु पनि सञ्चालन गर्ने कलेजले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.