धनगढी : साझा विवेकशील पार्टीका संयोजक हुन् रवीन्द्र मिश्र। राष्ट्रिय दल बन्ने भन्दै गएको निर्वाचनमा चुनावमा होमिएको उनको पार्टी अन्ततः राष्ट्रिय दल बन्नबाट चुक्यो। झिनो मतले राष्ट्रिय दल बन्नबाट रोकिएको भन्दै आगामी निर्वाचनमा बाजी मार्ने मिश्र दाबी गर्छन्।
केही समय सेलाएका मिश्र र उनको पार्टी पछिल्लो समय सक्रिय बनिरहेको छ। मुलुकमा वैकल्पिक शक्तिको आवश्यकता रहेको भन्दै उनीहरू अहिले देश दौडाहमा छन्। मुलुकमा बढ्दो भ्रष्टाचारविरुद्ध महाअभियान सञ्चालन गरेको उक्त पार्टी यस्तै गतिविधिहरूबाट जनतामाझ लोकप्रिय बन्ने दाउमा छ। राष्ट्रिय दलसमेत बन्न नसकेको एउटा पार्टीले चलाएको भ्रष्टाचारविरुद्धको महाअभियान कति औचित्यपूर्ण छ त? यिनै विषयवस्तुमा साझा विवेकशीलका संयोजक रवीन्द्र मिश्रसँग थाहा खबरकर्मी भानुभक्त आचार्यले गरेको कुराकानीको सम्पादित अंश :
मुलुकमा भ्रष्टाचार बढिरहेको छ। यस्तो अवस्थामा भ्रष्टाचारविरुद्धको अभियान थालनी गर्नुभएको छ। सम्भव छ त नेपालबाट भ्रष्टाचारको अन्त्य?
भ्रष्टाचार हाम्रो देशको क्यान्सर हो भन्ने कुरामा हामी सबै स्पष्ट छौँ। यो कुनै पनि पुरानो पार्टीको प्रधान मुद्दा बन्नै सक्दैन। उनीहरूले यसलाई प्रधान मुद्दा बनाए भने उनीहरू आफैँ जालोमा पर्छन्। त्यसै कारणले उनीहरूले बाहिर सुशासनको गफ गरेर भित्र भ्रष्टहरूसँग साँठगाँठ गरेर आफूलाई सुरक्षित राख्ने उनीहरूको लक्ष्य हो।
उनीहरूले जीवनमा असर नपारीकन बाहिर देखाउनको लागि भ्रष्टाचारको कुरा गर्ने हो। तर हामी जस्तो सुसंस्कृत राजनीति चाहने पार्टीले नेपालमा विकास र समृद्धि चाहने हो भने एक नम्बरको एजेन्डा भ्रष्टाचारको न्यूनीकरण र सुशासन हुनैपर्छ भनेर हामी यसमा लागेका छौँ।
साझा विवेकशीलबाहेक अरू सबै दल भ्रष्ट हुन्, भ्रष्टाचारलाई प्रशय दिइरहेका छन् भन्न खोज्नुभएको हो?
साझा विवेकशीलबाहेक अरू सबै पार्टी भ्रष्ट छन् भनेर मैले भनेको छैन। तर, देशका देश हाँक्ने प्रमुख दुई पार्टीहरू भ्रष्ट मात्रै होइन महाभ्रष्ट छन् भन्नेमा कुनै पनि समस्या छैन।
सडकमा रहँदा र संसद्बा बाहिर रहँदा यस्ता कुरा गर्नेहरू सडक छोडेर सदन हुँदै सरकारमै पुगेपछि फेरिन्छन् भन्ने गरिन्छ। आजसम्मको घटनाक्रमले पनि त्यही देखाउँछ। त्यो तपाईंहरूको दलमा नदेखिएला भन्न सकिन्छ र?
सडकमा बस्दा उनीहरूले राम्रो कुरा गरे भन्ने कुरा आंशिकरूपमा भ्रम हो। किन भने राम्रो कुरा र राम्रो कर्मसँगै राखेर हेर्नुपर्छ। जुन उनीहरूको हकमा हेरिएन। उनीहरू सडकमा हुँदाखेरी उनीहरूले लोकतन्त्रको लागि लडे। तर लोकतन्त्रको लागि लड्ने क्रममा जबरजस्ती चन्दा असुली भयो। पार्टी निर्माणको लागि चन्दा असुली होइन, उनीहरूले छोराछोरीको विवाह जबरजस्ती असुलेको चन्दाबाट गरे। उनीहरू जबरजस्ती असुलेको चन्दाबाट बनेको घरमा बसे।
उनीहरू भन्नाले?
उनीहरू भनेको मैले ठूला पार्टी र तिनका अधिकांश प्रमुख नेताहरू भनेको। जसको धरातल नै भ्रष्ट आचरणबाट निर्माण भएको छ। त्यसबाट आम नागरिकले जसरी भोलि राम्रो हुन्छ भनेर अपेक्षा गरे त्यो आफैँमा एउटा भ्रम थियो। आफैँमा गलत थियो भन्ने मेरो मान्यता हो।
तपाईंहरूले भ्रष्टाचारविरुद्धको महाअभियान थालिरहँदा पनि मुलुकमा ठूला भ्रष्टाचारका कुरा आइरहेका छन्। अनियमितता र घुसखोरी झन् बढेको छ भनिन्छ। तपाईंहरूको आन्दोलनको त कुनै प्रभाव देखिएन नि?
नेताहरूले जनतालाई पटक्कै नगनेको र हेपेको स्थिति हो। किनभने तिनीहरू काग कराउँदै गर्छ पिना सुक्दै गर्छ भनेजस्तो गरिरहेका छन्। हरदिन पत्रपत्रिकामा बाहिर आमरूपमा विविध काण्डविरुद्ध जोडदार आवाज उठेको छ। तर, त्यो आवाज उठ्दाउठ्दै काण्डैकाण्डमा मुछिएको व्यक्तिसँग साँठगाठ गर्न उनीहरू कहिल्यै पनि रोकिएका छैनन्। पछि हटेका पनि छैनन्।
त्यसकारणले गर्दा नेताहरूले जनतालाई जानी जानीकन हेपेर तिमीहरूको कुनै महत्तवनै छैन भनेर गन्दै नगनेका हुन् तर, अर्को पक्ष के हो भने, जनताले पनि त्यो हेपिन तयार भएका हुन्। किन भने यी नेताले हेप्दै छन्, यिनीहरूले काण्डै काण्ड रच्दै छन्, यिनीहरूले भ्रष्टाचार गर्दै छन् भन्ने थाहा पाउँदापाउँदै पनि साथ दिएको त जनताले हो। आफ्नो जीवन दु:खी बनाएर नेताको जीवन खुसी पार्दै छन् जनता। यसैकारणले यसमा दुवै पक्ष दोषी छन् भन्नुपर्छ।
प्रदेश र केन्द्रको निर्वाचनमा हामी राष्ट्रिय दल बन्छौँ भन्नुहुन्थ्यो, अहिले हामी भ्रष्टाचारको अन्त्य गर्छौ भन्नुहुन्छ। दुवै बढी नै महत्वाकांक्षी भएन र?
यस्तो हो। योभन्दा अगाडिको निर्वाचनमा हामी राष्ट्रिय पार्टी हुन्छौँ भनेर भन्यौँ हामी झन्डैझन्डै भयौँ। अलिकतिले हुन सकेनौँ। अर्को कुरा हामीले भ्रष्टाचार अन्त्य गर्छौं भनेर भनेका छैनौँ। किनभने भ्रष्टाचार अन्त्य संसारका सबैभन्दा भ्रष्टाचार हुँदै नहुने देशमा पनि निर्मूल हुँदैन। केही न केही व्यक्तिहरू, केही न केही समूहहरू भ्रष्ट त भइहाल्छन्।
तर, भ्रष्टाचार अत्यधिकरूपमा न्यूनीकरण गर्ने हाम्रो लक्ष्य हो। त्यो लक्ष्य हामी सरकारको नेतृत्वमा पुगेपछि सम्भव हुने कुरा हो। त्यो भन्दा अगाडी हामी दबाब सृजना गर्न सक्छौँ, त्योभन्दा पहिले हामी सरकारलाई जवाफदेही बनाउन सक्छौँ। त्यही एजेन्डा लिएर हामी नेतृत्वमा पुग्यौँ भने भ्रष्टाचार नियन्त्रणका आमूल परिवर्तनकारी कदमहरू हामी उठाउन सक्छौँ।
निर्वाचनमा त जनताले खासै म्यान्डेट दिएनन्। अब तपाईँहरूको राजनीतिक दिशा कस्तो हुन्छ?
हामीले दुई/तीनवटा कुरा भनेका छौँ। एउटा हामीले कल्याणकारी लोकतन्त्र भनेका छौँ। राजनीतिक दर्शनका रूपमा त्यो कल्याणकारी लोकतन्त्रको साथमा हामीले सुसंस्कृत राजनीति र समतामूलक समृद्धि भनेका छौँ। किन भने राजनीति सुसंस्कृत भएन, राजनीतिमा इमानदारी र क्षमता भएन भने त्यसले फेरि लाभभन्दा बढी हानी गर्छ।
देशमा समृद्धिको स्वरूप चाहिँ समतामूलक भएन भने त्यसले धनी र गरिबको बीचमा बढी खाडल सृजना गर्छ। नेपाल जस्तो देशको हकमा त अझ कस्तो भने तपाईँ कुन ठाउँमा जन्मिनुभएको हो भन्ने कुराले तपाईंको भविष्य कस्तो हुन्छ भन्ने कुरा निर्धारण गर्छ।
कैलालीको गाउँमा जन्मिनु र काठमाडौं छेउको गाउँमा जन्मिनुले तपाईंको भविष्य कस्तो हुन्छ भन्ने कुरा निर्धारण गर्छ। राज्य यदी सक्षम हुने हो भने र इमानदार हुने हो भने कैलालीको गाउँमा जन्मिएको बालकले पनि शिक्षा स्वास्थ्य र सामाजिक सुरक्षाको हिसाबले त्यतिकै सुविधा पाउनुपर्ने हो जति काठमाडौंमा जन्मिएको बालकले पाउँछ। त्यसैकारणले हामीले यो कल्याणकारी लोकतन्त्रको अवधारणा अगाडि लिएर आएका छौँ। हाम्रो राजनीतिक पाटो नै राजनीतिक विचारहरूबाट निर्माण हुन्छ।
तपाईंहरूको दल बन्दा नबन्दै चोइटियो। फेरि पनि एकताका कुराहरू गरिरहनुहुन्छ। तपाईंहरूलाई छोडेर गएकाहरूसँग एकता हुन्छ कि अरू कुनै वैकल्पिक शक्तिसँग?
होइन, छोडेर गएका साथीहरूबारे पनि हामी खुला छौँ। त्यसैगरी हामीसँग समान सोच, समान विचार भएका अन्य व्यक्ति र समूहलगायत सबैसँग हामी खुला छौँ। त्यसो भएको हुनाले यो कार्यगत एकता अथवा मिल्ने कुराहरू यी सबै सम्भावनाभित्रकै कुरा हुन्। यसको सम्भावनै छैन भन्ने कुरा हुँदै होइन।
प्रयासमै हुनुहुन्छ?
प्रयास भनेको त हामी राम्रा मान्छेहरू देशभरीबाट जोड्ने प्रयासमा छौँ र त्यही यात्रामा अहिले हिँडेका पनि छौँ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।