मनोरञ्जन

एक अर्बको ओडार (कथा)

मंसिर ३०, २०७३

    बितेको ३० बर्षदेखि उसलाई एउटा कोठाको अगाडि राखिएको थियो। त्यहाँ उसलाई खाने, बस्ने, सुत्ने सबै सुबिधा थियो। उसले काम गर्नु केही पर्दैनथ्यो। बस्, बस्ने मात्र। उसको अगाडि एउटा ढोका थियो। त्यो ढोकाभित्र के छ भन्ने कुरा न उसलाई थाहा थियो, न उसले जान्ने कोशिस नै गर्यो। उसको मासिक तलव निश्चित थियो। तर कति उसलाई थाहा छैन। कुरो रहस्यमय छ। शाब्दिक रूपमा उसले तलव भनेको के हो त्यो पनि बुझ्दैन। तर उसको तलव उसकी दृष्टिविहीन आमालाई गाउँमा बुझाइन्छ। गाउँकी पढेलेखेकी एउटी शिक्षिकाले त्यहाँ तोकिएको रकम आएको भन्ने विश्वास दिएपछि उसकी आमालाई गाउँको पीसीओम्म ल्याइन्छ। उनले छोरालई फोन गर्छिन्, पैसा आयो भन्छिन्। त्यो फोन सधैँ सुन्नाइन्थ्यो तर उसले कुनै प्रतिक्रिया दिँदैनथ्यो। सायद उसले यो कुरा कति महत्त्वपूर्ण हो, बुझेको थिएन। सायद उसले आमालाई चिन्दैन। अर्थात उसलाई सम्झना छैन, आमाको अनुहार र उहाँको वात्सल्यको। एउटा घनघोर असमञ्जस्यताबीच ऊ र उसको जिन्दगी चलिरहेको छ।

    उसले त्यो होटलमा उसको नजिक आएर हात समात्ने र मालिकले नदेख्नेगरी उनको मुख उसको मुखमा ल्याएर जोडेको कुरा उसले बिर्सेको छैनजस्तो लाग्छ किनकि उसले त्यो केटीका सयौँ चित्र बनायो। प्रत्येक चित्रमा त्यो केटीले उसलाई हेरेको, नजिकैको ठाडो मैनबत्ती मुसारेको र मैनबत्ती मुसार्दा उनी मुस्कुराएको परिकल्पना गरिएको छ।

    लाग्छ, उसको जिन्दगी र ऊ २ अलग वस्तु हुन्। हुनतः प्रत्येक मै हुँ भन्नेले पनि अलग जिन्दगी जिउँछ- बाहिर देखावटी रूपमा एक किसिमको र भित्र अर्कै। तर ऊ अरू ऐरेगैह्रे जस्तो होइन। ऊ निश्वार्थ र अन्जान छ- विगतदेखि वर्तमानसम्म। उसले काम के गर्दथ्यो त? काम बुझिनसक्नु थियो। उसले एउटा ढोकाको ताला हेर्दथ्यो। यदि उसको मालिकवाहेक अरू कोही कसैले त्यो ताला खोल्ने प्रयास गरेमा उसलाई सिधै गोली हान्ने आदेश थियो। उसको साथमा यस्तो मीठो रिवल्वर थियो, त्यसले आफ्नो ड्युटी सानका साथ पूरा गर्दथ्यो। स्ट्राइगर दवाउनासाथ सामनेवालाको प्राण सिधै स्वर्ग पुग्थ्यो। यमराजका दूत त्यहाँ आइपुग्नै पाउँदैनथे, बाटैमा छोप्न बाध्य हुन्थे। तर उसले कसैमाथि रिवल्वर चलाउनुपरेकै छैन। कोही आएकै छैन, काल खोज्दै। उसलाई सुत्न, बाथरुम जान, केही सामान्य किताब पढ्न कुनै अवरोध नै थिएन। किनकि बितेको ३० बर्षमा त्यो ढोका सम्बन्धित मालिकले बाहेक कसैले खोलेन। कोही आउँदा पनि आएन। धेरै पटक उसलाई के लाग्दथ्यो भने यो मालिक बूढाले बेकार नाटक गरिरहेको छ, संसारमा चोर, बदमास र अरूको ढोकामा बिना काम कोही छिर्दै छिर्दैन। मान्छेलाई आफ्नो जिउने फुर्सत छैन, अर्काको कोठा कसले चहार्ने? यो अर्थ न बर्थको रखवारी! एक पटक उसले भाग्ने कोशिस पनि गरेको हो। तर किन भाग्ने? एउटा प्रश्न त सधैँ अनुत्तरित छँदै छ। तर मुख्य कुरा जुन रिवल्वर ऊसँग छ, त्यस्तै उसको मनलिकसंग पनि छ। त्यो कारणले आफ्नै भेजा उड्छ कि भन्ने डरले पनि उसले भाग्ने चेष्टा गर्दैन। उसले कहिल्यै त्यो कोठाभित्र के छ भन्ने कुराको मतलव राखेन।

    मालिक प्रत्येक दिन राति १० बजेतिर आउँथ्यो। त्यो ठाउँसम्म मालिकबाहेक अरू कोही आउन नै सक्दैथ्यो। विशेष प्रकारको सुरक्षित ठाउँमा ऊ थियो, जो कोही ऊसम्म आउने संभावना नै थिएन। उसलाई मालिकले फेरि पनि आदेश के दिएको थियो भने यदि कोही ऊबाहेक आइहालेमा गोली हान्नू। उसलाई बिभिन्न परिकारसहित खाना कसैले एउटा सानो प्वालबाट छिराइदिन्थ्यो। कपडा अति नै राम्रा उपलब्ध थिए उसलाई। उसलाई खाने, बस्ने, लगाउने कुनै कुराको अभाव थिएन। ऊ कहिलेदेखि त्यहाँ छ भन्ने उसलाई नै जानकारी थिएन। उसले अफ्नी आमालाई चिन्दा पनि चिन्दैन, सम्झँदा पनि सम्झँदैन। उसकी आमा गाउँमा छन्। उनी दृष्टिविहीन छन्। उनलाई यहाँबाट तिम्रो तलव दिइन्छ भन्ने कुरा मालिकले भनेर थाहा पाएको हो। त्यतिबेला पनि उसले मात्र टाउको हल्लाएको हो, प्रतिक्रिया स्वरूप। आमा दृष्टिविहीन भएकीले एउटी शिक्षिका, जो पढेलेखेकी छन्, उनले तलव बुझेर आमा हेरचाहको व्यवस्था गरिदिन्छिन् भनी मालिकले भनेको कुरा उसले विश्वास गर्दै आएको छ। उसलाई त्यो ठाउँमै सामान्य जोड घटाऊ सिकाइएको छ। उसलाई सामान्य कखरा र ए बी सी डी एउटी शिक्षिकाले सिकाएकी हुन्। त्यो सिकाउनुका पछाडि पनि मालिकको एउटा स्वार्थ छ। त्यो मालिकले प्रत्येक दिन एउटा नम्बरको कार्ड दिन्छ र बाहिर जान्छ। ऊ आउने बेलामा उसले सोही नम्बरको कार्ड भित्र छिराउँछ। त्यो नम्बर र बिहानको कार्डको नम्बर मिलेमा मात्र उसलाई ढोका खोल्ने भनी सिकाउनको लागि उसलाई पढाइएको हो। उसले जीवनमा आजसम्म स्वयंबाहेक २ जनालाई चिन्छ- मालिक र पढाउने शिक्षिका।

    उसको जीवन त्यो मालिकको व्याख्यामा आधारित छ। उसलाई पढाउने शिक्षिका पनि बूढी महिला थिइन्। उसले बितेको २५ वर्षदेखि उनलाई पनि देखेको छैन। साँच्चै भन्ने हो भने उसलाई आमा, शिक्षिका, मालिक भनेकै के हो? थाहा छैन। उसलाई ताला थाहा छ र त्यो ताला उसको मालिकबाहेक अरू कसैले खोलेमा गोली ठोक्ने भन्ने थाहा छ। नढाँटी भन्ने हो भने उसले अहिलेसम्म गोली चलाएको पनि छैन। त्यहाँ गोली छ। एक पटक उसको मालिकले गोली चलाउन सिकाउनको लागि बाहिर जङ्गलमा पनि लगेको हो। यसैगरी एक पटक उसलाई एउटा छुट्टै खाना खाने ठाउँमा पनि लग्यो। त्यहाँ छोटाछोटा कपडा लगाएका केटीहरू आएर नाचेका हुन्। त्यसमध्येकी एउटी सानीसानी नानी आएर उसको नजिक बसेर उसको हात समातेकी हो र ऊ धेरै बेरसम्म ऊ सँगसँगै बसेकी पनि हो। त्यतिबेला उसलाई कस्तोकस्तो भएको हो। एक पटक फिलिम भन्ने हेरको पनि उसलाई सम्झना छ। मस्तै मानिस नाचेका त हुन् नै, रिवल्वर चलाएर अरूलाई मारेका पनि हुन्। मालिकको मन खुसी हुँदा उसलाई विभिन्न नयाँ कुराहरूको अनुभव गराउँछ। ऊ घण्टा, २ घण्टाको लागि हवाईजहाजमा चढेको छ। कहिले उसलाई हेलीमा चढाएर हिमालको फेदीमा पनि पुर्याएको छ। नि:सन्देह मालिकले उसलाई माया गर्दछ तर सचेत बनाउन चाहँदैन। ऊ स्वयंलाई पनि सचेत हुनु र नहुनुको भेद थाहा छैन वा मतलब छैन। भौतिक चीज उसले सबै पायो, खायो र रमायो। ऊ जहाजमा चढ्यो, महँगा महँगा होटलमा खाना खायो, हरियाली देख्यो, मरुभूमि देख्यो। ऊ ठुलाठुला शहरको माथि पनि उड्यो। यो मालिकको इशारा र नियन्त्रणमा उसले दुनियाँ देख्यो तर वास्तवमा उसले के देख्यो र के महसुस गर्यो भन्ने कुरा कहिल्यै लेखेन र बताएन। तर उसले त्यो होटलमा उसको नजिक आएर हात समात्ने र मालिकले नदेख्नेगरी उनको मुख उसको मुखमा ल्याएर जोडेको कुरा उसले बिर्सेको छैनजस्तो लाग्छ किनकि उसले त्यो केटीका सयौँ चित्र बनायो। प्रत्येक चित्रमा त्यो केटीले उसलाई हेरेको, नजिकैको ठाडो मैनबत्ती मुसारेको र मैनबत्ती मुसार्दा उनी मुस्कुराएको परिकल्पना गरिएको छ।

    प्रतीक्षाका घण्टाहरू थपिँदै गए, तर बूढा फर्किएनन्। ढोका खुलै छ। उसले ढोकाभित्र जाने निर्णय गर्दछ। जान्छ पनि। उसले बाहिर बलियो मानेको ढोका भन्दा भित्रभित्र झनै शक्तिशाली ढोकाहरू देखिन्छन्।

    उसको अगाडि पर्याप्त कागज र पेन्सिल थिए। सुरुसुरुमा उसले त्यो केटी जस्ती हो, त्यस्तै चित्र बनाउँथ्यो। पछिपछि उनी अझै थप जवान भएको, उनले बच्चा पाउने भएको र एक पटक त उनले बच्चा खेलाएको समेत चित्र बनाएको थियो। तर आजकाल उसले चित्र बनाउँदैन तर पुराना तस्बीरलाई गहिरिएर हेर्दछ। अब त मालिक पनि निकै बूढो भइसक्यो। पहिला जस्तो कतै घुम्न पनि लैजाँदैन। धेरै समय त्यो ताल्चा खोलेर भित्र बसी मात्र रहन्छ। एक दुई घण्टापछि बाहिर निस्केर ढोका लगाउँछ। केहीछिन ऊसँगै बसेर गफ गर्दछ। मलिकले केही भन्छ तर उसले के बुझ्छ, कसैलाई थाहा छैन। ऊ आफैँ पनि बिगत भन्दा फरक भयो र मालिक पनि बिगत भन्दा फेरियो। अहिले पनि उसलाई त्यो बाहिर खाना खाने ठाउँमा नजिक आएर बसेकी केटीको अनुहार झल्झली सम्झना आउँछ। तर किन आउँछ, उसलाई थाहा छैन। मालिक निस्कनासाथ उसले त्यही केटीका आफैँले बनाएका तस्वीर हेर्छ, कहिलेकाहीँ धेरै बेरसम्म पनि। केटीले जसरी उसको मुखमा मुख जोडेकी थिई, त्यसरी नै कहिलेकाहीँ तस्वीरमा मुख जोड्छ। त्यो मालिकले उसले यस्तो अन्धकारमा लगेर राख्यो कि उसले सम्पूर्ण सुख, सुविधा दियो, तर उसलाई पूर्णतया गोज्याङ्ग्रो बनाएर राखिदियो। आममानिसले देखेका, भोगेका, रूख, जङ्गल, हरियाली, नदी, पानी आदिको बारेमा उसलाई जानकारी छैन। उसले सामान्य अवस्थामा बिहानको घामको महसुस गर्न पाएन। कहिल्यै थाकेर ऊ रूखको छहारीमा बिसाउन पाएन। उसले खेतमा हलो जोतेन, असार १५ को रोपाइँ कस्तो हुन्छ, उसले महसुस नै गरेन। मोटामोटीमा उसले एउटा प्रायोजित जिन्दगी जियो।

    उसले सबै कुरा जीवनको बारेमा जानेको हुन सक्छ। सायद उसलाई विवाह, यौन सम्पर्क, बच्चाबच्ची आदिको बारेमा जानकारी हुन सक्छ तर उसले भएजस्तो व्यवहार देखाएन। ऊ कहिल्यै रोएन, बस् एक पटक त्यो केटीले त्यो मैनबत्ती मुर्सादा मुसुक्क मुस्कुराएको हो। त्यो पनि किन? उसलाई थाहा छैन। एक अद्भूत जिन्दगी बाँचिरहेको छ ऊ। बाँच्नु र नबाँच्नुको अर्थ पो के हो र? बरु यसो भनौँ, उसले श्वास फेरिरहेको छ। एउटा अद्भूत श्वास, मालिकप्रतिको एउटा अद्भूत विश्वास, स्वनिर्मित एउटी केटीका चित्रसँगको एउटा अद्भूत आश! सायद यस्तैयस्तै। उसले के खाएन जीवनमा? प्रत्येक दिन चौरासी व्यञ्जन। कवाफहरू, महँगा खाले रक्सीहरू, विभिन्न प्रकारका परिकारहरू। उदाहरणीय माया गर्दछ उसलाई उसको मालिकले। परन्तु ड्युटी इज ड्युटी। कसैले अचम्म मान्नुपर्दैन, यो उसको जिन्दगी हो। के सबैको जिन्दगी उस्तैउस्तै हुनुपर्ने भन्ने कहीँ लेखेको छ र? दुनियाँका सबैले उसको जस्तो जिन्दगी बाँचेको भए ऊ नर्मल हुने थियो। तर अहिले उसलाई 'एवनर्मल' जस्तो मान्न पनि सक्छ, स्वघोषित नर्मलहरूको बहुमतले। ऊ सचेत छ। आज मालिक ढोका खोलेर भित्र पसेको ३ घण्टा भइसक्यो, बाहिर निस्केको छैन। बितेका ३० बर्षदेखि मालिक २ घण्टा भन्दा बढी भित्र बसेको थिएन। किन मालिकले ढिला गर्यो, उसले बुझ्न सकेको छैन। होला केही काम। ४ घण्टा भयो, अझै मालिक आएन। ढोका खुला छ। कुनै शव्द छैन आईरहेको, कुनै आवाज पनि छैन। ५ घण्टा पनि बित्यो। चाइँचुइँ छैन। अब के गर्ने, ढोका बाहिरबाट बन्द गरेर सुत्ने वा ढोका खोलेर बूढालाई खोज्न जाने? बडो असमञ्जस्यमा पर्यो ऊ। मालिकले कहिल्यै म मालिक हुँ, मैले भनेको तैँले मान्नुपर्दछ भनेको पनि छैन उसलाई। ऊ केही बढी उमेरको साथी पनि हुन सक्छ अर्थात् अरू केही। प्रतीक्षाका घण्टाहरू थपिँदै गए, तर बूढा फर्किएनन्।

    ढोका खुलै छ। उसले ढोकाभित्र जाने निर्णय गर्दछ। जान्छ पनि। उसले बाहिर बलियो मानेको ढोका भन्दा भित्रभित्र झनै शक्तिशाली ढोकाहरू देन्छिन्। सबैभन्दा भित्री कोठामा हजार र पाँच सयका हजारौँ नोटको बण्डल छ। ती बण्डलको नजिकै दियो, कलशसहित बेही समय अगाडि पूजा गरिएको छ। एउटा सानो टिभीमा हिन्दी च्यानलबाट समाचार आइरहेको छ। मालिक त्यो टिभी हेरेको हेर्यै अचेत अवस्थामा पल्टिएका छन्। उसले हतार हतार पूजाको अम्खोराबाट पानी छर्किन्छ। मालिक अलिकति होसमा आएझैँ बर्बराउँछन्। स...स..बै ब.र्.र्.ब..वाद भयो। ८ नोभेम्वरले सबै डुवायो। एक्कासि उनी कुर्सीबाट पल्टिन्छन्। उनको खुट्टाले बलेको दियो पल्टिन्छ। उसले हतारहतार मालिकलाई उठाउने प्रयास गर्दछ। यता दियोको लप्कोले नोटहरू जल्न थाल्दछन्। एकछिन उसले थाहा पाउँदैन। थाहा पाउँदासम्म आगाको लप्को ठूलो भैसको हुन्छ। उसले मालिकलाई तान्दै जान्छ। सकेसम्म तानिरहन्छ। अन्तिममा सीसीटिभी नै जल्दछ।

     

रामप्रसाद गौतम

प्राध्यापन पेशामा संलग्न कथाकार गौतम समसामयिक विषयमा लेखहरू पनि लेख्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]