|

काठमाडौं :  देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने लक्ष्यकासाथ सोमबारबाट अप्टिकल फाइबर बिछ्याइँदैछ। सरकारी स्वामित्वको नेपाल टेलिकमले जिम्मा पाएको प्रदेश एक, दुई र तीन अन्तर्गत विभिन्न तीन ठाउँबाट एकैपटक फाइबर बिछ्याउने कार्यक्रम छ । 

सरकारको डिजिटल नेपाल बनाउने योजना साकार पर्न महत्वपूर्ण मानिएको यसको औपचारिक सुरुवात धादिङको गल्छी गाउँपालिकास्थित मासटारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो १ः०० बजे गर्दै छन्। त्यस्तै सिन्धुलीको खुर्कोट र धनकुटाको हिलेमा पनि सोमबार नै फाइबर बिछ्याउने कामको औपचारिक सुरुवात हुनेछ।

टेलिकमले पाँचथरको चिवाभञ्ज्याङ्देखि गोरखाको आरुघाटसम्म मध्यपहाडी लोकमार्ग हुँदै दुई हजार ३७६ किलोमिटर फाइबर बिछ्याउनेछ। यसरी बिछ्याइने फाइबर मध्यपहाडी लोकमार्गलाई आधार मानेर तीनवटै प्रदेशका ३२ जिल्ला सदरमुकामसम्म टेलिकमले पुर‍‍्‍याउनेछ।

सरकारले देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेटको पहुँच पुर्याउँदै डिजिटल नेपालको आधार तयार गर्ने लक्ष्यका साथ हरेक जिल्लासम्म अप्किटल बिछ्याउने परियोजना अघि सारेको थियो भन्ने खबर गाेरखापत्र दैनिकमा छ।

सरकारको उक्त परियोजना अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामिण दूरसञ्चार विकास कोष अन्तर्गत करिब नौ अर्ब रुपियाँ लगानीमा अप्टिकल फाइबर बिछ्याउने योजना बनाएको थियो। 

सोही योजना अनुसार प्रदेश १, २ र ३ मा फाइबर बिछ्याउन प्राधिकरणले टेलिकमलाई चार अर्ब ८८ करोड रुपियाँमा जिम्मा दिएको थियो। यस विषयमा २०७३ असोज १२ गते प्राधिकरण र टेलिकमबीच सम्झौता भएको थियो। उक्त सम्झौता अनुसार उपकरण उपलब्ध गराउने विषय टुङ्गो लागेपछि दुई वकर्षभित्र फाइबर बिछ्याउनुपर्ने प्रावधान छ। बाँकी गण्डकी प्रदेश र प्रदेश ५ मा यूटीएल तथा कर्णाली र सुदूर पश्चिमा स्मार्ट टेलिकमले फाइबर बिछ्याउने जिम्मा पाएका छन्। 
टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीका अनुसार फाइबर बिछ्याउन आवश्यक उपकरणका लागि सबै सम्झौता पूरा भइसकेकाले सोमबार यसको औपचारिक सुरुवात गर्न लागिएको हो। 

टेलिकमले उपकरण उपलब्ध गराउन आह्वान गरेको टेन्डर अनुसार प्राप्त निवेदनका आधारमा प्रदेश १ मा एलएस केवल कोरिया (५९६ किलोमिटर), प्रदेश २ मा आरोग्य कन्स्ट्रक्सन र चाइना रेल्वेको जोइन्ट भेन्चर (एक हजार २८ किलोमिटर) र प्रदेश ३ मा चीनको चाइना कम्युनिकेसन सर्भिस इन्टरनेशनल (सीसीएसआई ५ सय ५५ किलोमिटर) सँग सम्झौता भइसकेको छ । 

त्यस्तै अप्टिकल नेटवर्क विस्तारका लागि आवश्यक डीडब्लुडीएम उपकरण र राउटरका लागि पनि टेलिकमले सम्झौता सम्पन्न भएको अधिकारीले जानकारी दिनुभयो । प्रदेश २ अन्तर्गतका सबै जिल्लामा भने १८ महिनामै काम पूरा गर्ने प्रतिबद्धता कम्पनीले गरेको अधिकारीले जानकारी दिनुभयो । 
उहाँका अनुसार टेलिकम आफैले कतिपय ठाउँमा नेटवर्क विस्तार गरिसकेकाले मुख्य सहरहरूमा नौ महिना भित्रै उच्च गतिको ब्यान्डविथ उपलब्ध गराउन सकिने अवस्था छ । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.