|

बैतडी : गोकुलेश्वर बहुमुखी क्याम्पस दार्चुलामा सोमबारदेखि अनिश्चितकालीन रुपमा तालाबन्दी गरिएको छ।  क्याम्पसका शिक्षक कर्मचारीले बिगत ११ महिनादेखि तलबभत्ता नपाएको भन्दा तालाबन्दी गरेका हुन्।

विस २०७५ साल साउनमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा समायोजन भएको उक्त क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीले हालसम्म पनि तलबभत्ता नपाएको गुनासो गरेका छन्।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र क्याम्पसबीच भएको समायोजन सम्झौताअनुसार तलबभत्ता तथा सेवासुविधा दिनुपर्ने उनीहरूको माग रहेको छ। यसअघि पनि पटक पटक विश्वविद्यालय प्रशासनमा तलब भत्ताको माग गर्दा समेत कुनै सुनुवाई नभएपछि तालाबन्दी गर्न बाध्य भएका गोकुलेश्वर बहुमुखी क्याम्पसका उपप्राध्यापक धनसिंह विष्टले बताए। 

समायोजन सम्झौताअनुसार स्थाई नियुक्ति भएअुनसार नै तलबभत्ता तथा सेवा सुविधा पाउनुपर्ने माग रहेको उनले बताए। विश्वविद्यालयले नियुक्त सेवा आयोगवाट अनुमोदन नहुँदासम्म अस्थाई सेवा सुविधा दिने चलखेल सुरु भएकोले त्यसका विरुद्ध आन्दोलित हुनु परेको उक्त क्याम्पसका अर्का उप प्राध्यापक कबिराज जोशीको भनाई रहेको छ।

क्याम्पसमा कार्यरत शिक्षक कर्मचारीको नियुक्ति अनुसारको तलब भत्ताको सुनिश्चितता ,समायोजनमा प्रभावित र समायोजन हुन नसकेका शिक्षकहरूको माग सम्बोधन नहुँदसम्म तालाबन्दी नखुल्ने समेत उनीहरूले बताएका छन्।  क्याम्पसमा तालाबन्दी गरी उपप्राध्यापक तथा कर्मचारी आन्दोलित भएपछि पठन-पाठन कार्य समेत ठप्प रहेको छ।

क्याम्पसमा तालाबन्दी हुदा यही जेठ १० गतेदेखि सञ्चालन हुने स्तातक तह तेस्रो वर्षको परीक्षा समेत प्रभावित हुने देखिएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.