|

सल्यान : सल्यानका सुख्खा क्षेत्रमा प्लाष्टिक पोखरी निकै प्रभावकारी बन्दै गएको छ। वर्षाको समय र खेर गएको पानी संकलन गरेर हिउँदमा तरकारी खेतीमा सिँचाइ भएकाले प्लाष्टिक पोखरी प्रभावकारी बनेको हो।

जलवायु परिवर्तनसँगै सल्यान जिल्लाका अधिकांस ठाँउहरुमा पानीका मुहानहरु सुक्दै गईरहेका छन् ।जिल्लाका बिभिन्न स्थानमा खेर गईरहेको पानी संकलन गरेर तरकारीखेतीमा सिँचाइ हुन थालेपछि तरकारी खेतीसमेत बढेको छ। पोखरीमा संकलित पानी जतिबेला पनि तरकारीखेतीमा सिँचाइ गर्न सकिने भएपछि यहाँका किसानमा प्लाष्टिक पोखरीप्रतिको मोह बढ्दै गएको छ।

पानीको अभाव हुने जिल्लामा प्लाष्टिक पोखरीमा संकलित पानीले सिँचाइ गर्न पाउँदा किसानलाई राहत मिलेको छ। पानीको अभावमा तरकारीखेती गर्न वञ्चित किसानले पोखरी निर्माण गरी अहिले तरकारी खेती गरी आम्दानी गर्न थालेका छन्। गर्मी र सुक्खा मौसममा समेत बेमौसमी तरकारीखेती गर्न प्लाष्टिक पोखरी लाभदायक भएको कालीमाटी गाउपालिका २ सिमलकुनाका किसान नारायण पंगालीले बताए।

फागुनदेखि जेठसम्म प्लाष्टिक पोखरीले तरकारी खेतीका लागि फाइदा दिने गरेको उनको भनाइ छ। ‘पानीको समस्या भएर तरकारी खेती नगरेका स्थानका किसानका लागि प्लाष्टिक पोखरी लोकप्रिय बनेको छ। धारामा खेर गइरहेको पानी संकलन गरी राख्ने र चाहिएको बेला सिँचाइ गर्ने गरेका छौँ' उनले भने

यस्तै, छत्रेश्वरी गाउपालिका २ दमाचौर खोरबारेका सुरेश केसीले पोखरी निर्माण पश्चात खेतबारीमा सिँचाइ गर्न सजिलो भएको बताए। बिगतमा सिँचाइ नहुँदा घरको लागि मात्रै तरकारी खेती गर्ने गरेका यहाँका स्थानीयले अहिले बिक्रीका लागि समेत तरकारी खेती गर्ने गरेको केसीको भनाइ छ।

स्थानीयको माग र आवश्यकतालाई मध्यनजर गर्दै छत्रेश्वरी गाउँपालिकामा ५, कालीमाटी गाउपालिकामा ३ र बन्गाडकुपिण्डे नगरपालिकामा १ वटा सिँचाइ पोखरी निर्माण गरिएको पहल कार्यक्रमका जिल्ला सिँचाइ प्राविधिक महेश कुमार वलीले बताए।

प्रत्येक सिँचाइ पोखरी पहल कार्यक्रमको २० हजार ६ सय ५२ रुपैयाँ र स्थानीयको श्रमदान २० हजार १ सय ४४ गरी ४० हजार ७ सय ९६ रुपैयाँमा निर्माण सम्पन्न भएको उनले बताए। प्रत्येक सिँचाइ पोखरी १४ हजार लिटर क्षमताको भएको उनको भनाइ छ।

खेर गएको पानी संकलन गर्दा पानीको सदुपयोग हुनुका साथै आम्दानीमा समेत वृद्धि आएको कालिमाटी गाउँपालिका वडा न २ फारुलाका किसान गज बहादुर कंवरले बताए। '२/३ घण्टाको दूरीबाट ल्याएको पानी अनावश्यक रूपमा फाल्नुभन्दा संकलन गरेर राखेमा पानीको सदुपयोग पनि हुने र तरकारी खेतीबाट आम्दानी पनि हुँदो रहेछ' उनले भने।

प्लाष्टिक पोखरीबाट सिँचाइ हुन थालेपछि स्थानीयले आफ्नै लगानीमा अहिले पोखरी निमार्ण गर्न थालेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.