|

रामेछाप : रामेछापको सदरमुकाम मन्थली प्रवेश गर्ने सडक चौडा गर्ने क्रममा मन्थली नगरपालिकाले बिनाजानकारी सडक छेउका घरटहराहरु डोजर लगाएर भत्काएको भन्दै स्थानीयबासीले आक्रोश ब्यक्त गरेका छन्। सडकको चौडाई नपुगेको भन्दै सडकसँग जोडिएका घरटहरा नगरपालिकाले भत्काएको हो। 

रणजोर  खोलाबाट मन्थली प्रवेश गर्ने सडक चौडा गर्ने क्रममा मन्थली नगरपालिकाले पूर्वजानकारी नै नदिई सडक छेउमा रहेका स्थानीयको घरटहरा भत्काएको भन्दै स्थानीयबासीको आरोप छ।

नगरपालिकाले बिनाजानकारी एक्कासी घरटहरामा डोजर लगाएको र घरभित्र रहेको सामानसमेत निकाल्न नपाएको स्थानीयको विश्वास श्रेष्ठले गुनासो गरे।

घर भत्काउने क्रममा भरभित्र रहेको सामानहरु सडकमै छरपस्ट फालिदिएकाले आफूहरूले सामान नबुझेको पनि श्रेष्ठले बताए।  नगरपालिकाले एकलौटी रुपमा घत्काएको भन्दै उचित क्षतिपूर्ति दिनुपर्ने स्थानीयको माग छ।

सम्बन्धित वडा कार्यालयलाई समेत जानकारी नदिई स्थानीयको घर भत्काएर नगरपालिकाले गल्ती गरेको मन्थली नगरपालिका–१ का अध्यक्ष नारायणदाश श्रेष्ठको आरोप छ। सडक छेउको घर टहरा भत्काउने विषयमा वडा कार्यालयलाई कुनै पनि जानकारी नभएको अध्यक्ष श्रेष्ठको भनाई छ।

सडकसँग जोडिएका सार्वजनिक जग्गामा निर्माण गरिएका घरटहराहरु भत्काउन, सार्वजनिक सूचना जारी गर्नुका साथै सम्बन्धित व्यक्तिहरूलाई पटक–पटक आग्रह गर्दा पनि नहटाएपछि सार्वजनिक जग्गाको घरटहरा भत्काइएको मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले बताए।

गत आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने सडक विस्तारको काम कर्मचारी समायोजक प्रक्रिया ढिलाई हुँदा काम हुन नसकेको र चालू आर्थिक वर्षमा सम्पन्न गर्ने गरि काम भइरहेको पनि मन्थली नगरपालिका प्रमुख बस्नेतले बताए।

मन्थली नगरपालिका–१ मा पर्ने रणजोर खोलादेखि मन्थली बजारको देवकोटा चोकसम्म सडक डिभिजन कार्यालय खाल्टे सिन्धुलीले करिब एक मिलोमिटर सडक चौडा गर्ने काम गरिहेको छ । सदरमुकामको मुख्य बजार प्रवेशद्वारमा रहेको सडक निर्माणमा ढिलाई हुँदा सदरमुकामबासीले धुलोधूवाँको सास्ती खेप्नु परेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.