|

सोलुखुम्बु : एकै याममा ६०० सय जनाभन्दा बढीले सगरमाथा आरोहण गरेका छन्। मे १४ देखि मे २४ सम्म उक्त संख्याका शेर्पासहित स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको आरोहण गरेको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिइन्।

निर्देशक आचार्यका अनुसार यो संख्यामा केही थपघट हुनसक्ने सम्भावना छ। ‘आधार शिविरबाट ट्रेकिङ एजेन्सीले दिएको जानकारी र यहाँ काठमाडौंको असिफबाट दिएको जानकारी दोब्बर हुनसक्छ,’ निर्देशक आचार्यले भनिन्, ‘सम्पर्क अधिकृत आउँदै हुनुहुन्छ, उहाँहरु आएपछि मात्र यकिन विवरण आउँछ।'

पर्यटन विभागकाबाट सगरमाथा आरोहण अनुमति लिएका अधिकांश आरोही भने शिखरमा पुगिसेको जानकारी आएको छ। आरोहण सुरु भएको मे १४ देखि मे २४ सम्म अधिकांश आरोही शिखरमा पुगिसकेको आधार शिविरमा रहेका पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए।

उनका अनुसार मे २७ मा करिब २५ आरोहीले आरोहण गर्दैछन्। आरोहण अनुमति लिएका आरोही र क्लाम्बिङ गाइड, शेर्पासहित एकै दिन १२० भन्दा बढीले शिखरमा पाइला टेकेको सम्पर्क अधिकृत श्रेष्ठले जानकारी दिए।

यस सिजनमा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका ३८१ ले आरोहण अनुमति लिएका छन्। सगरमाथा आरोहण सुरु भएको ६६ वर्ष यता यो संख्या अहिलेसम्मकै उच्च रहेको निर्देशक आचार्यले बताइन्।

सन् २०१८ को यही सिजनमा ३८ आरोही समूहका ३४६ ले आरोहण अनुमति लिएका थिए भने सन् २०१७ मा ४३ आरोही समूहका ३६६ आरोहीले अनुमति लिएका थिए। सन् २०१४ मा हुदहुद आँधी र सन् २०१५ मा भूकम्पका कारण सगरमाथा आरोहण रोकिएको थियो।

कामीरिताको नयाँ विश्व कीर्तिमानी 

यस सिजनमा     सोलुखुम्बुको थामेका कामीरिता शेर्पाले नयाँ कीर्तिमान कायम गरेका छन्। उनले एक सातामौ दुई पटक आरोहण गरेर आफ्नो नाममा रहेको कीर्तिमान तोडेका हुन्।

जेठ १ मा २३ औं पटक शिखरमा पुगेका शेर्पा पुनः जेठ ७ मा २४ औं पटक शिखरमा पुगेर कीर्तिमानी कायम गरेका हुन्।

दुई एकल महिला शिखरमा

दुई एकल महिला सगरमाथाको शिखरमा आरोहण गरेका छन्। ‘हामी पनि गर्न सक्छौं’ भन्ने नारासहित सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका–४ खुम्जुङका निमाडोमा शेर्पा र फुरदिकी शेर्पाले सगरमाथाको सफल आरोहण गरेका हुन्। 

सगरमाथा क्षेत्रमै पति गुमाएका निमा डोमा शेर्पा र फुरदिकी शेर्पाले बिहीबार बिहान ५ः२५ मा सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागका सम्पर्क अधिकृत श्रेष्ठले जानकारी दिए।

निमाका पति छिरिङ वाङछु शेर्पाले पाँच वर्षअघि सगरमाथामा गएको हिमपहिरोमा परेर ज्यान गुमाएका थिए। फुरदिकीका पति मिङमार शेर्पाको ६ वर्षअघि सगरमाथा चढ्ने बाटो बनाउँदै गर्दा खर्पसमा भासिएर ज्यान गएको थियो।

हिमालबाट खोसिएको खुशी हिमालमै खोज्ने भन्दै फरदिकी र निमा डोमाले आरोहण यात्रा तय गरेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.