|

पोखरा : पोखराको पातले छाँगो (डेभिजफल्स) सधैँ पोखरा आउने पर्यटकहरूको मुख्य गन्तव्य हो। यहाँ बिहानैदेखि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्छ। तर, शनिबार बिहान ९ बजेको दृश्य फरक थियो। पर्यटकहरू थिए नै। नेपाली सेनासँगै अन्य सात मुलुकका सेनाहरूले डेभिजफल्स घेरिएको थियो। पोखरामा एक साता अघिदेखि विभिन्न मुलुकको सैन्य अभ्यास चलिरहेको छ।

अभ्यासकै क्रममा शनिबार नेपाली सेनाले सात देशका द्वन्द्व व्‍वस्थापन निर्देशनालयका सेनाका उच्च अधिकारीसहितको टोलीलाई विपतमा उद्धार कसरी गर्न सकिन्छ भन्ने कला देखायो। नेपाली सेनाका मेजर विक्रम रानाले विदेशी सेनासामू नेपाली सेनाले सैन्य अभ्यास देखाएको बताए । उनले उनीहरूसँग भएको सीप पनि सिकिरहेको बताए।

शुक्रबार नेपाली सेनाले फेवातालमा डुबेको बेलामा कसरी उद्धार गर्न सकिन्छ भन्ने कला देखाएको थियो। त्यस्तै, शनिबार नै सेती खोँचमा नेपाली सेनासहित अन्य देशका सेनाले सैन्य अभ्यास गर्नेछन्।  सैन्य अभ्यासमा नेपाल, अमेरिका, श्रीलंका, माल्दिभ्स, इण्डोनेशिया, बंगलादेश, क्यानडाका युद्ध विशेष टिमको सहभागिता रहेको छ। 

उद्धार अभ्यासको अवलोकन र त्यसपछि उद्धारका क्रममा भएको अभ्यास बारेमा छलफलमा पनि विदेशी सैनिकहरूको सहभागीता हुन्छ। ‘डिजास्टर रेस्पोन्स एक्सरसाईज एण्ड एक्सचेन्ज’ (डिआरईई) नामाकरण दिइएको सैन्य अभ्यास नेपाली सेना र अमेरिकी सेनाको एसिया प्यासेफिक कमाण्डले संयुक्त रुपमा आयोजना गरेका छन्।

नेपालको तर्फबाट नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाल रेडक्रस, स्थानीय विपत् व्यवस्थापन समिति, नेपाल टेलिकम, विमानस्थलका कर्मचारी र स्थानीय निकायका प्रतिनिधिको समेत सहभागिता छ। जेठ १२ सम्म चल्ने अभ्यासमा करिब २ सय २० जना सहभागी रहेको नेपाली सेनाको विपत् नियन्त्रण निर्देशनालयका सहायक रथी जितबहादुर गुरुङले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.