|

हेटौंडा : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र प्रदेश-३ का मुख्यमन्त्री डोरमणि पौडेलबीच भेटवार्ता भएको छ। फिल्ड भिजिट गर्न हेटौँडा हुँदै भरतपुर जान लागेका कुलमानले मुख्यमन्त्री पौडेललाई भेटेका हुन्।

भेटमा मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले आफैँले २०-३० मेगावाटको जलविद्युत् परियोजना बनाउन खोजेको बताए। उनले निजी सार्वजनिक साझेदारी शैलीमा उक्त परियोजना गर्न खाजेको बताए। जवाफमा कुलमानले प्रदेश सरकारले ४० देखि ५० मेगावाटसम्मको जलविद्युत् आयोजना निर्माण गर्नसक्ने भन्दै प्रदेश ३ को लिखु, तामाकोशी र त्रिशूलीमा सम्भावना रहेको बताए। 

पौडेलले काठको पोल विस्थापित गर्ने योजना र विद्युतीय सवारीको लागि चार्जिङ स्टेसनमा चासो देखाएका थिए। घिसिङले काठको पोल हटाउने योजना विद्युत् प्राधिकरणको पनि भएको बताएका थिए। उनले चार्जिङ स्टेसनको लागि पेट्रलियमको जस्तै बिजनेस मोडलमा जानसक्ने बताए। घिसिङले प्रदेश सरकारका सबै मन्त्रीहरूले पनि मुख्यमन्त्रीले जसरी नै विद्युतीय सवारी चढ्नुपर्ने बताएका थिए।

प्रदेश सरकार र काठमाडौं महानगरपालिका सम्झौतामा साझा यातायातमार्फत चीनबाट २७ वटा विद्युतीय सवारी ल्याउने तयारी गरेको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ। विद्युतीय सवारीको लागि चाजिङ स्टेसन नहुँदा सवारी नेपाल ल्याउन नसकेको मुख्यमन्त्री पौडेलले बताए।

मकवानपुरको भीमफेदी गाउँपालिकास्थित सानुटारमा निर्माण सुरु भएको ११ वर्षपछि कुलेखानी तेस्रो जलविद्युत् आयोजना निर्माणको काम सम्पन्न भएको छ। ४ वर्षभित्रै सक्ने लक्ष्यका साथ २०६४ सालबाट निर्माण सुरु भए पनि चिनियाँ ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण ११ वर्षपछि निर्माण सकिएको हो।

निर्माणको काम सक्याएर आयोजनाले केही दिनअघि मात्रै सुरुङ परीक्षण गरेको छ। कुलेखानी तेस्रोको ४.२ किलोमिटर मुख्य सुरुङमा पानी हालेर सफल परीक्षण गरिएको आयोजना प्रमुख सुभाष मिश्रले जानकारी दिए। १४ मेगावाट क्षमताको कुलेखानी तेस्रोले अब आगामी असारसम्ममा नियमित विद्युत् उत्पादन सुरु गर्ने मिश्रको दावी छ।

विद्युत् गृहका टर्बाइन, जेनेरेटरलगायत इलेक्ट्रोमेकानिकल उपकरणहरूको जडान सम्पन्न गरी परीक्षणको क्रममा रहेका छन्। हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल कामको ठेक्का लिएको चिनियाँ कम्पनी झेजियाङ जिनलुन इलेक्ट्रोमेकानिकल लिमिटेडको लापरबाही र कमजोर कार्यसम्पादनका कारण कुलेखानी तेस्रोको निर्माण ढिलाइ भएको हो।

तीनपटकसम्म म्याद थप्दा पनि काम नभएपछि सन् २०१५ देखि उक्त कम्पनीको म्याद थपिएको छैन। सन् २०१४ सेप्टेम्बर, सन् २०१५ जुन र सन् २०१५ अक्टोबरमा उसको म्याद थप गरिएको थियो।

जनस्वास्थ्यको लाइन काटियो

नेपाल विद्युत् प्राधिकरण मकवानपुरले जिल्ला जनस्वास्थ्य कार्यालय हेटौँडाको बत्ती लाइन काटेको छ। लामो समयदेखि विद्युत् महसुल भूक्तानी नगरेको भन्दै विद्युत कटौती गरी मिटर सिल गरेको छ। जिल्ला जनस्वास्थ्य कार्यालयको मिटरमा एमसिबी नभएको र एमसिबी बाइपास गरिएको समेत प्राधिकरणले फेला पारेको छ।

करीब ४६ महिनादेखि विद्युत् महशुल नबुझाएको भन्दै लाइन कटिएको प्राविधिक दिनेश खरेलले जानकारी दिए। जिल्ला जनस्वास्थ्य मात्र हैन वक्यौता रकम रहेका सबै क्षेत्रको लाईन काट्ने तयारीमा रहेको र वक्यौताको रिपोर्ट हेरेर सोही आधारमा लाइन काट्ने योजनमा हाम्रो छलफल भइरहेको कार्यालय प्रमुख शम्भु खुर्सेतले जानकारी दिए।

पछिल्लो चरणमा विद्युत् बक्यौता नतिर्ने ग्राहकको रिपोर्ट लेखा शाखाले सूची तयार पारिसकेको छ र सोहीअनुसार कार्यालयको टिम बनाएर बत्तीको लाइन काट्न फिल्डमा खटिरहेको लेखा अधिकृत शिव राईले बताए। जनस्वास्थ्यलाई लाइन काटेपछि १३ लाख ९ हजारको प्रतिलिपि बिल दिएर छिटोभन्दा छिटो बक्यौता बुझाउन आग्रह गरिएको प्राविधिक खरेलले जानकारी दिए।

जनस्वास्थ्य कार्यालयको विद्युत् कटौती गरेपछि हेटौँडा अस्पतालको प्रशासन विभाग पनि अन्धकारमा रहेको छ। हेटौँडा अस्पतालको प्रशासन विभागमा समेत जनस्वास्थ्यको लाइनबाट विद्युत् उपभोग गर्दै आएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.