|

चितवन : स्थगित भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य अगाडि बढाउन सबैले सहज वातावरण बनाउनुपर्ने धुर्मुस सुन्तली फाउण्डेसनले जनाएको छ। सरोकारवाला पक्ष सबैले गरेको प्रतिबद्धतासहितको आग्रहलाई सकारात्मकरूपमा लिएको र अब ती प्रतिबद्धता व्यवहारमा देखिनुपर्ने फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले बताए।

उनले सबैभन्दा महत्वपूर्ण भूमिका रंगशाला निर्माणस्थलका स्थानीयले खेल्नुपर्नेमा जोड दिएका छन्।  केही अराजक प्रवृतिका व्यक्तिले रंगशालाको बार भत्काए पनि विश्वभरि रहेका नेपालीहरूमा स्थानीयले भत्काएको भन्ने गलत खबर पुगेकाले त्यो भ्रम चिर्न स्थानीय नै लाग्नुपर्ने धुर्मुसको भनाइ छ।

थाहा खबरसँगको कुराकानीमा उनले भने ‘रंगशाला निर्माण सम्पन्न गराउने जिम्मा हामी सबैको हो त्यसमा पनि पछिल्ला भ्रमहरू चिर्न सबैभन्दा बढी जिम्मेवार स्थानीय हुनुपर्छ, त्यसमा सबै जिल्लावासी, देश तथा विदेशमा रहेका नेपालीहरुले साथ दिनुपर्छ।’

उनले आफूहरू आजैबाट निर्माण कार्य सुरु गर्न तयार रहे पनि सुरक्षाका लागि बनाइएको तारबार भत्काइएकाले पुन तारबार गरेर शान्ति सुरक्षाको अनुभव नभएसम्म काम अगाडि बढाउन अप्‍ठ्यारो हुने बताए।

बुधबार केही स्थानीय व्यक्तिले रंगशाला निर्माणस्थल वरिपरि लगाइएको जस्तापातासहितको तारबार भत्काएपछि फाउण्डेसनले असुरक्षित भएको भन्दै सम्पूर्ण निर्माणका काम स्थगित गरेको जनाएको छ। त्यसपश्चात् महानगरमा बसेको सर्वपक्षीय छलफलले दोषीलाई कारबाही र शान्तिसुरक्षाको व्यवस्थासहित आवश्यक जस्तोसुकै सहयोगको प्रतिबद्धता जनाएका थिए। 

तारबार भत्काउने कार्यमा संलग्न स्थानीय नेकपा कार्यकर्ता प्रकाश कँडेलसहित डेढ दर्जन बढीलाई प्रहरीले पक्राउ गरेको छ। कँडेललाई नेकपाले निलम्बन गरेको छ भने कडा कानुनी कारबाही गर्न सम्बन्धित पक्षलाई आग्रह पनि गरेको नेकपा चितवन अध्यक्ष यमबहादुर परियारले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.