|

काठमाडौं :  भारत सरकारको लगानीमा निर्माण भएको सरकारी मातहतमा रहेको ट्रमा सेन्टर सञ्चालन भएको तीन वर्ष भइसक्यो तर अहिलेसम्म पनि सेन्टरले नागरिकलाई पूर्णरूपमा सेवा दिन सकेको छैन।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत रहेको ट्रमा सेन्टरमा हेड इन्जुरीदेखि दुर्घटना तथा अन्य कारणले अगंभग भएका दैनिक सात सय ट्रमाका बिरामी पुग्ने गर्छन्। पछिल्लो समय ट्रमा सेन्टरमा रहेको सिटिस्क्यान मेसिन सात महिनादेखि बिग्रिएको छ। अस्पतालमा उपचारका लागि जाने सयौँ बिरामी सेवा लिनबाट वञ्‍चित भएका छन्।

हाडर्जोनीसम्बन्धी उपचार गर्ने देशको एक मात्र केन्द्रीयस्तरको अस्पतालको सेन्टरमा सिटी स्क्यान गर्ने मेसिन बिग्रँदा बिरामीहरू महँगो शुल्कमा बाहिर सिटिस्क्यान गराउन बाध्य बनेका छन्। पटकपटक सिटिस्क्यान बिग्रिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अर्को खरिद गर्नको लागि ताकेता गरे पनि सात महिनासम्म कसैले चासो नदिएको बताउँछन् ट्रमा सेन्ट्रका निर्देशक डा प्रकोद यादव।

उनले भने, ‘सात महिनादेखि हाम्रो सिटिस्क्यान मेसिन बिग्रिएको छ,  पटकपटक मन्त्रालयलाई ताकेता गर्दा पनि अझै बन्न सकेको छैन, जसले गर्दा बिरामीलाई बाहिर पठाउन बाध्य भएका छौँ।'

निर्देशक डा यादवका अनुसार बिग्रिएको सिटीस्क्यान फेरी मर्मत गर्न नमिल्ने तरिकाले विग्रिएको हुनाले नयाँ मेसिनै किन्नुपर्ने बताए। उनका अनुसार नयाँ मेसिन खरिद गर्न एक करोड रुपयाँ मन्त्रालयसँग आफूहरूले ताकेता गरिसकेको समेत बताए।

दैनिक २० जनाभन्दा बिरामी बाहिर जान बाध्य

ट्रमा सेन्टरमा आउने बिरामीहरू धेरैजसो दुर्घटनामा परेका र धेरै चोटपटक लागेका बिरामी हुने भएकाले उनीहरूको उपचारका लागि सिटी स्क्यान आवश्यक पर्ने  हुन्छ तर सामान्य अवस्थाका दैनिक २० जना भन्दा बिरामीको सिटी गर्ने भए पनि हाल ती सबै बिरामीलाई बाहिर  पठाउन बाध्य भएको निर्देशक डा यादवले बताए।

उनले भने, ‘सामान्य अवस्थामै दैनिक २० भन्दा बढी बिरामीको सिटी गर्नुपर्ने अवस्था छ अहिले तर हामीले त बिरामीलाई सिटी गर्न वीरमा रिफर गर्नुको विकल्प छैन वीरमा पनि धेरै भिड हुने भएकाले बिरामी बाहिर जान बाध्य छन्।'

२ सय शय्‍या रहेको ट्रमा सेन्टरमा हाल १० वटा आइसियु बेड छन्, त्यो पनि बिरामीको चापअनुसार कम भएको अस्पतालले जनाएको छ। दक्षिण एसियामै नमुना सेन्टर बनाउने सोचले तत्कालीन भारतीय र नेपालाका प्रधानमन्त्रीले १९९७ जुन ६ मा ट्रमा सेन्ट्ररको शिलान्यास गरेका थिए।

शिलान्यास भएको करिब ६ वर्षपछि सन् २००३ मा दुवै देशबीच ट्रमा सेन्टर निर्माण गर्ने सहमति भएको थियो। निर्माण सम्पन्न भएपछि तीन वर्षअघि भारतले नेपाललाई हस्तान्तरण गरेको थियो। ट्रमा सेन्टरमा मात्र होइन, वीर अस्पतालको समस्या पनि उस्तै छ। केही दिन पहिले वीर अस्पतालमा पनि सिटिस्क्यान पनि बिग्रिएको अस्पतालले बताएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.