|

काठमाडौं : ४१ वर्षदेखि नेपाली फिल्म लेखन, निर्माण र निर्देशनमा तल्लिन तुलसी घिमीरे नेपाली फिल्ममा सदाबहार नाम हो। उनको २२ औँ फिल्म 'दर्पण छायाँ २' आउँदो फागुनमा रिलिजको तयारीमा छ। आइतबार उनी यही फिल्मको डबिङमा व्यस्त थिए। उनी कलाकारलाई दोहोर्‍याइ तेहेर्‍याइ डबिङ गर्न लगाइरहेका थिए। सिकाइरहेका थिए।

प्रायः नयाँ कलाकार लिएर फिल्म बनाउने तुलसीले 'दर्पण छायाँ २' मा पनि नयाँ कलाकारलाई मौका दिएका छन्। साहारा कार्की यही फिल्मबाट डेब्यू गरेकी छन्। अध्ययनका लागि अमेरिका पुगेर केही म्युजिक भिडियोमा समेत मोडलिङ गरेकी साहारालाई तुलसीले दर्पण छायाँ २ का लागि नेपाल बोलाएका हुन्।

जसलाई तुलसीले भित्र्याए

तुलसी घिमीरेले आफ्नो पहिलो फिल्ममा नै नाम चलेकी भारतीय नायिकालाई ल्याएका थिए। यो सन् १९८१ को कुरा थियो। 'बाँसुरी' बाट नेपाली फिल्ममा डेब्यू गरेकी भारतीय कलाकार रजनी शर्मा अहिले क्यारेक्टर आर्टिस्टका रुपमा बलिउडमा कार्यरत छन्।

'उनी भारतीय चर्चित टेलिफिल्म 'बालिका बधु' टेलिफिल्ममा नायिका थिइन्। त्यसपछि 'सत्ते पे सत्ता' फिल्ममा पनि अभिनय गरिन्', तुलसीले रजनीलाई सम्झिए, 'बम्बैमा जन्मे हुर्केकी उनी नेपाली फिल्म 'बाँसुरी' खेलेर बम्बै नै फर्किइन्। नेपाली फिल्ममा फर्केर आइनन्।'

तुलसी घिमीरे आफै 'बाँसुरी' मार्फत निर्देशनमा डेब्यू गरेका थिए। नेपाली चलचित्र दुनियाँमा प्रवेश गर्नुअघि तुलसी भारतको चलचित्र नगरी बम्बैमा टेक्निसियन र असिसटेन्ट डाइरेक्टरका रुपमा काम गर्थे।

सन् १९८३ मा उनले 'कुशुमे रुमाल' मा तृप्ती नाडकरलाई ल्याए। भारतीय कलाकार नाडकरले तुलसीले निर्देशन गरेको फिल्म 'लाहुरे' मा पनि अभिनय गरिन्। तुलसी भन्छन्, 'तृप्ती मैले बनाएका धेरै फिल्ममा काम गर्ने नायिकामा पर्छिन्।'

तृप्तीले तुलसीका अलवा अन्य निर्देशकले बनाएका नेपाली फिल्ममा पनि काम गरिन्। बम्बैमा जन्मेर कलाकारितामा लागेकी तृप्तीसँग तुलसीको सानैदेखिको चिनजान थियो। तृप्तीबारे तुलसीले भने, 'उनलाई म सानैदेखि चिन्थेँ। बम्बैमै छँदा।' तृप्ती अहिले बम्बैमा छन्।

सन् १९९६ मा तुलसी घिमीरेकै निर्देशनमा 'देउता' बन्यो। यो फिल्ममा डेब्यू गर्ने मौका पाइन् सिर्जना बस्नेतले। पछिल्लो समय सिर्जना फिल्म निर्माणमा सक्रिय छन्। सिर्जनाले अग्निपथ, कन्यादान, मेरो जीवनसाथी, सिन्दुर लगायत दर्जन बढी फिल्ममा काम गरिन्। सिर्जनाको चलचित्र यात्रा सफल रहेको तुलसीको मूल्यांकन छ।

'बलिदान' फिल्ममा तुलसीले धरानकी संगीता सुब्बालाई मौका दिए। 'उनको श्रीमान् शैलेस श्रेष्ठ मेरो साथी हुनुहुन्थ्यो, उहाँमार्फत संगीतालाई फिल्म क्षेत्रमा प्रवेश गराएको हुँ', तुलसी सम्झिन्छन्, 'बलिदान जस्तो फिल्म गरिसकेपछि पनि उनी नाटकमा व्यस्त रहिन्। पछि अमेरिका गइन् र उनको अभिनय यात्रा छुट्यो।'

तुलसी घिमीरेले नेपाली फिल्ममा डेब्यू गराएकी अर्की नायिका हुन् निरुता सिंह। 'दक्षिणा' बाट नेपाली फिल्म छिरेकी दार्जिलिङकी निरुता नेपाली दर्शकमाझ चर्चित पनि बनिन्। निरुताले तुलसीकै निर्देशनमा दर्पण छायाँ, रहर, लहना, दुई किनारा र देशमा अभिनय गरिन्। 'निरुता पनि मेरा धेरै फिल्ममा अभिनय गर्ने नायिकामा पर्छिन्', हाल बम्बैमा रहेकी निरुताबारे तुलसीले भने। निरुता बम्बैमा इन्टेरियर डेकोरेशन र मोडलिङमा सक्रिय छन्।

त्यसपछि तुलसीको छनौटमा परिन् सुदूरपश्चिमकी हिमानी डिसी। कैलाली धनगढीकी हिमानीको डेब्यू फिल्म थियो 'स्वर्गकी परी'। हिमानीलाई तुलसीले 'दृष्टिकोण' फिल्ममा पनि अभिनय गराए।

यही सूचीमा आउँछ नायिका नन्दिता केसीको नाम। नन्दितालाई तुलसी 'दर्शन जिन्दगीको' मार्फत कलाकारितामा प्रवेश गराएका थिए। पछि उनले तुलसीकै निर्देशनको फिल्म 'मृगतृष्णा' मा पनि अभिनय गरिन्। नन्दिता अहिले अभिनयमै सक्रिय छन्।

आफूले फिल्ममा ल्याएका कलाकारले सफलता प्राप्त कस्तो अनुभूति हुन्छ? तुलसी आत्मसन्तुष्टि मिल्ने बताउँछन्। 'नयाँ कलाकारलाई ल्याउनु चुनौती हो। उनीहरुलाई फिल्मबारे धेरै सिकाउनुपर्छ', उनी भन्छन्, 'पछि अरु फिल्म गर्दा र चर्चित हुँदा आफ्नै बच्चाहरु चर्चित भएको फिल हुन्छ। आफ्ना छोराछोरी बढेर सफल हुन्छन् नि, त्यस्तै सन्तुष्टि मिल्छ।'

सम्पर्कमा रहेका उनका चेलाचेली गुरुपूर्णिमा बेला उनीसँग आशिर्वाद थाप्न आउँछन्। 'सबैजना श्रद्धा गर्छन्। गुरु पूर्णिमाका दिन यता भएकाहरु आउँछन्, टीका लगाउँछन् र आशिर्वाद थाप्छन्।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.