|
फाइल फोटो

काठमाडौं : विद्यमान राजनीतिक गतिरोध अन्त्यका लागि सभामुख ओनसरी घर्तीले सोमबार प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्दै छिन्। 

सदनमा उत्पन्न गतिरोध हटाउन र दलहरुबीच बढ्दै गएको ध्रुवीकरण अन्त्यका लागि सभामुखले पहल गर्न लागेकी हुन्। बिहान ११ बजे सिंहदरबारमा हुने छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेतासहित प्रमुख सचेतकलाई पनि बोलाइएको सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए। 

सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधयेकको विरोधमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका साना दलले लगातार संसद बैठक अवरोध गर्दै आएका छन्। यसअघि पटक पटक सहमतिका लागि छलफल गरिएपनि एमालेले संसोधन प्रस्ताव फिर्ता नलिएसम्म सदनको अवरोध जारी राख्ने अडान लिँदै आएको छ। 

एमालेको अवरोधका कारण अख्तियार प्रमुख लोकमान सिंह कार्कीमाथिको महाअभियोग प्रस्ताव अघि बढ्न सकेको छैन भने संशोधन विधेयक पनि कार्यसूचीमा पर्न सकेको छैन। सत्तारुढ दलहरु एमाले सहमतिमा नआए पेलेर अघि बढ्ने मनस्थितिमा पुगेका छन्। एमालेले अवरोध गरे सत्तारुढ दलहरुले सोमबार प्रतिवाद गर्ने तयारी गरेका छन्।  

यसैबीच व्यवस्थापिका संसदको बैठक सोमबार बस्दैछ। बैठक दिउँसो १ बजे बस्नेछ। सभामुखले प्रमुख तीन दलका शीर्ष नेता र प्रमुख सचेतकसँगको छलफल गरेपछि त्यसैका आधारमा संसदको कार्यसूची तय हुने संसद सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुईँकेलले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.