|

नेपालगन्ज : बाँकेमा कृषि तथा वनसम्बन्धि उद्योग दर्ता हुने क्रम बढेको छ। आर्थिक वर्ष २०७२/०७३ मा मात्र बाँकेमा ४ सय ८ वटा कृषि तथा वन सम्बन्धि उद्योग दर्ता भएका छन्। साना किसानले समेत उद्योग दर्ता गरेर ब्यवसाय सञ्चालन गर्न थालेपछि कृषि तथा वन सम्बन्धि उद्योग दर्ता गराउनेको संख्या बढेको हो। 

कृषि ब्यवसाय बढाउन विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले प्रस्तावना आह्वान गरेका कारण पनि साना एवम् मझौला कृषकले उद्योग दर्ता गर्न थालेको घरेलु तथा साना उद्योग कार्यालय बाँकेका प्रमुख उद्योग अधिकृत कमल प्रसाद घिमिरेले जानकारी दिए। 

आव २०७२/०७३ मा दर्ता भएको कृषि तथा वन सम्बन्धि उद्योग अघिल्ला आवको तुलनामा दोब्बर भएको घिमिरेले बताए। उनले प्रस्तावना दर्ताका लागि दर्ता भएका उद्योग नविकरण हुनेमा शंका ब्यक्त गरे। ‘रिजम एफपीबाट सहयोग पाएका उद्योग नविकरण भएपनि अन्य उद्योग नविकरण हुनेमा शंका छ,’ उनले भने- ‘२-४ वटा गाई, भैँसी भएकाले समेत उद्योग दर्ता गरेका छन्।’ 

घरेलु तथा साना उद्योग कार्यालयका अनुसार आव २०७२/०७३ मा ३० वटा उद्योग बन्द भएको थिए। विभिन्न कारणले सञ्चालन हुन नसकेको भन्दै ३० वटा उद्योगले लगत कट्टा गरि उद्योग बन्द गराएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उद्योग अधिकृत घिमिरेले बताए। 

उद्योग दर्तामा उद्यमीको चासो

दर्ता भएका उद्योगलाई सरकारले विभिन्न किसिमका सेवा सुविधा दिन थालेपछि संस्था दर्ता गर्ने संख्या बृद्धि भएको घरेलु कार्यालयले जनाएको छ। बाँकेमा आव २०७२/०७३ मा ३ हजार ९ सय ४४ वटा उद्योग सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग कार्यालयको तथ्यांकमा उल्लेख छ। आव २०७३/०७४ को ३ महिनामा १ सय ७९ उद्योग दर्ता भएका छन् भने आव २०७२/०७३ मा मात्र ६ सय ३० वटा नयाँ उद्योग दर्ता भएका थिए। आव २०७१/०७२ मा ५ सय ५४ वटा दर्ता भएका थिए।

बाँकेमा दर्ता भएका मध्ये उत्पादनमुलक १ हजार ७ सय ९४, उर्जा ४, होटल, रेष्टुरेन्ट, पर्यटन सम्बन्धि ४ सय ३९ र सेवातर्फ १ हजार २ सय ९८ वटा उद्योग बाँकेमा संचालनमा रहेका छन्। 

खनिज उत्खननतर्फ कुनै उद्योग दर्ता नभएको प्रमुख उद्योग अधिकृत घिमिरेले बताए। ‘जनघनत्व र ओहोरदोहोर गर्ने नेपालीको संख्या बढेकोले बाँकेमा होटल र रेष्टुरेन्ट खुल्ने संख्या बढ्दो छ,’ उनले भने। 

आव २०७२/०७३ मा स्थापना भएका ६ सय ३० वटा उद्योगमा १ हजार २ सय ५२ जना महिला र २ हजार ५ सय १७ जना पुरुषले रोजगारी पाएको र ४ अर्ब १७ करोड ३७ लाख ५६ हजार रुपैयाँ पुञ्जी लगानी गरेका छन्। ‘उद्योग दर्ताबाट ५० लाख ६३ हजार राजस्व संकलन भएको छ,’ प्रमुख उद्योग अधिकृत घिमिरेले भने।

नविकरण नभएका उद्योगलाई मौका

सरकारले नविकरण गराउन म्याद गुज्रेका उद्योगलाई समेत नविकरण गराउने मौका दिएको छ। उद्योग ऐन अनुसार नविकरण नगराई नविकरणको म्याद गुज्रेका उद्योगले २०७४ असार मसान्तसम्म नविकरण गराउन सक्ने प्रमुख उद्योग अधिकृत घिमिरेले बताए। नविकरण गराउने म्याद गुज्रारेका उद्योगको नविकरण गराउने म्याद २०७२ असार मसान्तमा बन्द गरिएको थियो। ‘नविकरण नगराएका उद्योगको नविकरण नहुने ब्यवस्थामा पुनरावलोकन गरि सरकारले एक पटकका लागि अवसर दिएको छ,’ घिमिरेले भने। 

महिला उद्यमीलाई बिना धितो ऋण 

उद्योग मन्त्रालयले महिला उद्यमीलाई प्रोत्सहान गर्न यस आर्थिक वर्षमा पनि बिना धितो सहुलियत ब्याजदरमा ऋण दिने भएको छ। महिला उद्यमीले संचालन गरिरहेको उद्योगको स्तरोन्नती गर्नका लागि उद्योग मन्त्रालयले बिना धितो ऋण दिन लागेको घरेलु तथा उद्योग कार्यालयले जनाएको छ। 

अघिल्लो आवमा बाँकेका २ जना महिलाले ५ लाखका दरले बिना धितो ऋण पाएको उद्योग अघिकृत कमल प्रसाद घिमिरेले बताए। ‘यस आवमा पनि बिना धितो ऋण उपलब्ध गराउन सूचना जारी गरिएको छ,’ उनले भने- ‘एकजना उद्यमीलाई कम्तिमा एकलाख र बढीमा ५ लाख रुपैयाँ ऋण प्रदान गरिने छ।’ 

घरेलु तथा साना उद्योग कार्यालयका अनुसार उक्त ऋण ३ वर्षमा चुक्ता गर्नुपर्ने छ र ऋणीले रकमको ६ प्रतिशत ब्याज तिर्नुपर्ने ब्यवस्था छ। ‘ऋणीले नियमित रुपमा ऋण चुक्ता गरेमा एक प्रतिशत कम ब्याज तिर्नुपर्ने ब्यवस्था सरकारले गरेको छ,’ उनले भने। 

उद्यमीलाई एक लाख बराबरको उपकरण प्रदान गरिने

घरेलु तथा साना उद्योग कार्यालयले बाँकेका उत्कृष्ट २५ जना उद्यमीलाई मेसिनरी सामान, उपकरण र औजार खरिदका लागि एक-एकलाख रुपैयाँ प्रदान गर्ने भएको छ। तर, एक लाख रुपैयाँ प्राप्त गर्ने उद्यमीले उपकरण खरिदमा लाग्ने रकमको २० प्रतिशत रुपैयामा आफूले ब्यहोर्नु पर्ने छ। उद्यमीले माग गरेको सामान टेण्डरमार्फत खरिद गरिने प्रमुख उद्योग अधिकृत घिमिरेले जनाएका छन्। उनले भने- ‘प्रोत्साहन रकम पाउने उद्यमीले आफ्नो तर्फबाट अनिवार्य २० प्रतिशत लगाउनु पर्ने ब्यवस्था छ, २० प्रतिशत लगानी नगर्ने उद्यमी उक्त सुविधाबाट बन्चित हुनुपर्नेछ।’

आव २०७२/०७३ मा पनि उक्त कार्यालयले २५ बढि उद्यमीलाई उद्योग संचालनका लागि फर्निचर, मेसिन, उपकरण लगायतका सामग्री प्रदान गरेको थियो। अघिल्लो आवमा एकजनालाई १५ हजार रुपैयाँ बराबरको सामग्री प्रदान गरिएको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.