|

काठमाडौं : प्रमुख तीन दलले २ दिन भित्र राजनीतिक गतिरोध अन्त्य गर्ने प्रतिवद्धता जनाएका छन्।

सभामुख ओनसरी घर्ती सामू प्रमुख प्रतिपक्ष एमालेसहित काँग्रेस र माओवादी केन्द्रका शिर्ष नेताहरुले मुलुकलाई निकास दिन ढिलाई नगर्ने वचन दिएका हुन्।

संसदको गतिरोध अन्त्य गर्न सभामुख घर्तीले सोमबार आह्वान गरेको बैठकमा पनि सत्ता पक्ष र प्रतिपक्ष संविधान संशोधन विधेयकको विषयलाई लिएर आ–आफनै अडानमा कायम रहे।

उनीहरुले वार्तामार्फत समस्या समाधान गर्न तयार रहेको बताएका छन्। बैठकको सुरुमै प्रधानमन्त्री दाहालले निर्वाचनमा जान पनि संविधान संशोधन प्रस्ताव ल्याउनु परेको बताएका थिए। उनले प्रतिपक्षी एमालेलाई सरकारको बाध्यता बुझिदिन आग्रह गरे। जवाफमा एमाले अध्यक्ष ओलीले संविधान संशोधन विधयेक फिर्ता नभई अघि बढन नसकिने अडान राखे।

बैठकमा नेताहरुले आ- आफनै अडान राखेपनि २ दिन भित्र समस्या समाधान हुनेगरी वार्तामा बस्ने सहमति भएको नेकपा माओवादी केन्द्रका नेता एवम उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी दिए।

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधन प्रस्ताव, निर्वाचनको मिति घोषणा लगायतका विषयमा प्याकेजमै सहमति गर्नका लागि संवाद प्रक्रियालाई तीव्रता दिने सहमति भएको प्रतिक्रिया दिए।

एमाले उपाध्यक्ष बामदेव गौतमले संविधान संशोधन प्रस्ताव फिर्ता नभएसम्म संसदको गतिरोध जारी राख्ने अडानबाट पछि हटन नसकिने बताए। उनले असंवैधानिक तवरले आएको संविधान संशोधन प्रस्तावको विरोधमा सबै खालका गतिविधि अघि बढाउनु पर्ने अवस्था आएको बताए।

सत्तारुढ काँग्रेस र माओवादी केन्द्रले संविधान संशोधन प्रस्तावलाई संसदको कार्यसूचिमा राखि छलफल अघि बढाउने तयारी गरेका छन्। उनीहरुले निर्वाचनमा जानका लागि मधेसवादी दलहरुलाई साथमा लिनुपर्ने भएकाले पनि संविधान संशोधन प्रस्ताव ल्याउनुपरेको स्पष्टिकरण पनि दिँदै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.