काठमाडौं : नेपालबाट साउदी अरबमा हज गर्न हज यात्री लैजाने प्रकृयामा अनियमिता गर्ने हज कार्यसम्पादन उपसमितिका अध्यक्ष मोहम्मद शोऐबसहित १० जनाविरुद्ध अदालतमा मुद्दा परेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यक्ष शोएबसहित हज कार्यसम्पादन उपसमितीका सदस्य अताबुल अंसारी, मोहम्मद ईब्राहिम राईन, महमद जबारदिन मिया, जमिला मियाँ, मोमिना वानु मुस्लिम, मजिबुल शेषविरुद्ध मुद्दा दायर गरेको हो।
यस्तैगरी, हज समिति सचिवालयका सदस्य सचिव भीमराज पोखरेल, लेखापाल तिलकराज पन्त र संचालक दाउद हुसैनविरुद्ध पनि विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए। उनीहरूले विसं २०७४ मा नेपालबाट साउदी अरबमा जाने हज यात्रीको हवाई टिकट व्यवस्था गर्ने कार्यका लागि संस्था छनोट गर्दा घुसरकम लिएर गैरकानुनी कार्य गरेको अख्तियारको आरोप छ।
नेपाल हज समितिको सचिवालयले आह्वान गरेको बोलपत्र अनुसार सबैभन्दा कम रुपैयाँमा हजयात्रीलाई लैजाने र ल्याउने जिम्मा लिएको संस्थासँग सम्झौता नगरी बढी अंक कबोल गर्ने संस्था हिना ट्राभल्स एण्ड टुर्ससँग मिलेर गैरकानुनी ढँगले निर्णय कार्यान्वयन गरेको अख्तियारको दाबी छ। मुद्दा दायर गरिएका दशैं जनाविरुद्ध अख्तियारले ३८ लाख रुपैंया बिगोसहित सजायको मागदाबी गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।