|

बुटवल : नेकपा एमालेको युवा संगठन युवा संघ नेपाल रुपन्देहीका कार्यबाहक अध्यक्ष दुर्गा तिवारीको हत्या भएको छ। 

आइतबार दिउँसो साढे ३ बजेपछि अज्ञात व्यक्तिले गोली प्रहार गरी देवदह नगरपालिका ६ निवासी तिवारीको हत्या गरेका हुन् । गोली लागेर ढलेका तिवारीको उपचारका क्रममा देवदह मेडिकल कलेज देवदहमा मृत्यु भएको हो।

देवदह नगरपालिका–६ खैरेनीका ४० वर्षका तिवारी स्थानीय केविआइ इट्टा भट्टाका सञ्चालकसमेत हुन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रविन्द्र घानुकका अनुसार तिवारीमाथि दिउँसो साढे तीन बजे देवदह ८ कोलीय बचत तथा सहकारी संस्थादेखि १ सय मिटर दक्षिणमा घरतर्फ जाँदै गर्दा गोली प्रहार भएको हो।

गोली लागेर ढलेका उनलाई उपचारका लागि तत्काल देवदह मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो। उपचारका लागि काठमाडौं लैजाने तयारी गरिरहेको अवस्थामा चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रत्यक्षदर्शीलाई उदृत गर्दै प्रहरीले जनाएअनुसार रातो पल्सर मोटरसाइकलमा आएका दुईजनाले उनलाई गोली प्रहार गरेका थिए। दायाँतर्फ पछाडिबाट हानिएको गोली छातीको अगाडि बायाँतर्फबाट बाहिर निस्किएको प्रहरीले जनाएको छ। 

मलेसियाबाट जिम्मा लिन फोन

घटनापछि देवदह २ खैरेनी घर भई हाल मलेसियामा रहेको बताउने मनोज पुन भन्ने व्यक्तिले फोन गरेर आफुले हत्या गरेको बताएका छन्। उनले रुपन्देहीका मिडिया हाउस, प्रहरी अधिकारी र देवदहबासीलाई फोन गर्दै गत फागुनमा आफ्नो समूहले चेतावनीस्वरुप गोली प्रहार गरेको र अटेर गरेकाले हत्या गरेको बताएका छन्।

उनले इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी मुकुन्द मरासिनीलाई पनि फोन गरेर आफूले हत्या गरेको बताएका छन्। उनले ठेक्कापट्टामा कुरा नमिलेकाले हत्या गरेको समेत बताएका छन्। उनले स्थानीयलाई फोन गर्दै आफुले हत्या गरेको र आफूलाई कम नआँक्न भन्दै धम्की दिएका छन्। प्राइभेट नम्बरबाट फोनमार्फत आफूलाई पनि ज्यान मार्ने आएको स्थानीय ध्रुव खरेलले बताए। तर यसको पुष्टि हुने आधार फेला नपरेको स्थानीय प्रसासनले बताएको छ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले अन्य व्यक्तिहरुलाई धम्की दिएकोबारे आफुलाई जानकारी नआएको तर घटनामा मनोज पुनको संलग्नता हुनसक्ने आशंकामा खोजी कार्य भइरहेको बताएका छन्।

यसअघि पनि हत्या प्रयास

आफ्नै भट्टामा बसिरहेको अवस्थामा गत फागुनमा तिवारीमाथि आक्रमण भएको थियो। तर, त्यतिबेला आक्रमणबाट बाँचेका तिवारीलाई सोही समूहले नै हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ।

तिवारीमाथि गएको फागुनको पहिलो सातामा पनि गोली हानी हत्या गर्ने प्रयास गरिएको थियो। सो आक्रमणमा संलग्नमध्ये आठ जनालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको र सो समूहका नाइके भनिएका मनोज पुन फरार रहेका छन्।

स्थानीय त्रसित

घटनापछि देवदहमा त्रास फैलिएको छ। यसअघि सुत्केरी महिलाको हत्या, लुटपाट र चोरीका कारण असुरक्षित मानिएको देवदहमा दिउसै गोली प्रहार भएपछि त्रास फैलिएको स्थानीयबासी समेत रहेका पत्रकार यम रानाले बताए।

विरोधमा बन्द

आन्दोलनमा सहभागी तिवारीको हत्या भएको भन्दै एमालेले रुपन्देहीमा अनिश्चितकालीन आम हडतालको घोषणा गरेको छ। हत्यारालाई कारबाहीको माग गर्दै अनिश्चितकालीन आम हडतालको घोषणा गरेको एमाले क्षेत्र नम्बर १ का अध्यक्ष निलकण्ठ पौडेलले जानकारी दिए।

अहिले पूर्व पश्चिम राजमार्गको बुटवल–बर्दघाट सडक खण्डमा गाडी चल्न दिइएको छैन। एमालेका कार्यकर्ता र स्थानीयबासीले देवदह क्षेत्रमा प्रदर्शन गर्दै हत्यारालाई कारबाही गर्न माग गरिरहेका छन्। प्रदर्शनकारीले बुटवलको राजमार्ग चौराहामा रहेको प्रहरी बिटमा आगजनी गरेका छन्। 

प्रहरीले सीमानाका र अरु नाकाहरुमा चेकजाँच तीब्र पारेको छ। यसअघि तत्कालीन युथ फोर्स रुपन्देहीका सदस्य समेत रहेका प्रचण्ड थैवको गत २०६५ चैत्र १३ गते बुटवलमा गोली हानी हत्या भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.