|

सुर्खेत : कर्णाली सरकारको भौतिक योजना तथा पूर्वाधार मन्त्रालय अन्तर्गतको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सुर्खेतले नियम विपरित विकासे आयोजनाको सम्झौता गरेको पाइएको छ। सो कार्यालयले सार्वजनिक खरिद ऐन विपरित एक करोड भन्दा बढी लागतको आयोजना उपभोक्ता समितिलाई निर्माणको जिम्मा दिएको पाइएको हो।

सुर्खेतको चिङ्गाड गाउँपालिका ४ को धनापानी खानेपानी आयोजना उपभोक्ता समितिलाई एक करोड ३१ लाखको खानेपानी आयोजना निर्माणको जिम्मा दिइएको हो। सार्वजनिक खरिद ऐनमा टेण्डर प्रक्रिया मार्फत मात्र करोड भन्दा माथिका आयोजना निर्माण गर्ने उल्लेख गरिएको छ। आयोजनाको कुल लागत एक करोड ३१ लाख भए पनि अहिले तत्कालका लागि ७ लाख रकमको मात्र सम्झौता गरिएको छ। उपभोक्ता समितिको तर्फबाट समितिका अध्यक्ष जिते चन्द र खानेपानी डिभिजन कार्यालयको तर्फबाट डिभिजन प्रमुख बासुदेव पौड्यालले हस्ताक्षर गरेका छन्। 

मन्त्रालयका सचिव र डिभिजन प्रमुखको कुरा मिलेन

खानेपानी डिभिजन कार्यालयकमा प्रमुख बासुदेव पौड्यालले व्यवहारिक रुपमा काममा सहजता मिलाउनको लागि एक करोड ३१ लाखको आयोजना उपभोक्ता समितिलाई दिइएको बताए। ‘कतिपय केसमा एककरोड भन्दा बढीको स्टिमेट भए पनि २० प्रतिशत श्रमदान पनि जोडिएको हुन्छ’, पौड्यालले भने, ‘यो आयोजना पनि त्यस्तै प्रकृतिको हो’ उनले भने, ‘पाइप हामीले नै खरिद गरेर दिने हो। त्यो भएर पनि त्यस्तो देखिएको हो।’

तर डिभिजन प्रमुख पौड्यालले भने जस्तै एक करोड ३१ लाखको २० प्रतिशत श्रमदान कटौती गरे पनि एक करोड भन्दा बढी नै आयोजनाको लागतमा देखिन्छ। जो सार्वजनिक खरिद ऐन विपरित रहेको छ। सार्वजनिक खरिद ऐनमा एउटै आयोजनामा एक करोड भन्दा बढी लागतका आयोजना टेण्डरबाट निर्माण हुने जनाइएको छ।

यता कर्णाली प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयका सचिव दानरत्न शाक्यले एक करोड भन्दा माथिका आयोजना उपभोक्ता समितिलाई दिन नै नमिल्ने बताए। ‘हामी सरकारी कर्मचारी भए पनि कसरी ऐन नियमविरुद्ध जान सक्छौं’, सचिवले शाक्यले भने, ‘एक करोड भन्दा माथिका आयोजनालाई उपभोक्तामा दिन नै सकिन्न।‘ 

मन्त्रीका आसेपासेको बजेट हालीमुहाली

कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले हचुुवाको भरमा योजना वितरण गरेको पाइएको छ। कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री खड्क खत्रीले आफ्ना नजिकका आसेपासे र अझै गुटका मान्छेको लागि विकासे आयोजना वितरण गरेको पाइएको हो। जसमा मन्त्रीकै जोड बलमा नजिकका कार्यकर्तालाई पोस्ने गरी एक करोड भन्दा बढी बजेट लागतका आयोजना उपभोक्ता समितिलाई दिइएको एक स्रोतले जनायो। 

ठेकदारी पृष्ठभूमिबाट आएका मन्त्री खत्रीले आफ्नो पार्टी नेकपाका पनि पूर्व एमालेका आफ्नो नजिकका गुटका मान्छेलाई फाइदा पुग्ने गरी आयोजना वितरण गरेका छन्। मन्त्री खत्रीको निर्वाचन क्षेत्र १ को ख का क्षेत्रका केही नजिकका मान्छेलाई पोस्नका लागि योजना वितरण गरेको पाइएको छ। 

चिङ्गाडका पूर्व एमालेका स्थानीय नेता हर्क राना र हंसबहादुर रानाले आफ्ना नजिकका मान्छेहरुलाई पोस्ने र आफूले फाइदा लिने गरी आयोजना पारेका छन्। हर्क राना अहिले नवगठित नेकपाका जिल्ला कमिटी सदस्य तथा तत्कालीन एमालेबाट सुर्खेतको अवलचिङ गाउँ विकास समितिका पूर्व अध्यक्ष हुन्। 

हंसबहादुर चन्द गत स्थानीय तहको चुनावमा चिङ्गाड गाउँपालिका ४ बाट वडाध्यक्षका उम्मेदवार हुन्। उनी त्यस अघि सुर्खेतको वीरेन्द्रनगरमा होटल व्यवसाय गर्दै आएका थिए। मन्त्री खत्रीको पनि उही सोही निर्वाचन क्षेत्रका भएकाले पूर्व एमालेका नेता तथा कार्यकर्ताको स्वार्थमा छानी छानी आयोजना पार्ने गरेको सर्वसाधारणले गुनासो गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.