|

इरानसँगको तनाव चुलिँदै गर्दा अमेरिकाले मध्यपूर्वमा सेनाको संख्या बढाउने भएको छ। अमेरिकी कार्यकारी रक्षा सचिव पेट्रिक शानाहानले इरानले देखाएको 'शत्रुतापूर्ण व्यवहार' को जवाफमा यस्तो कदम चाल्न लागिएको बताए।

अमेरिकाले ओमनको खाडीमा गतसाता भएको ट्यांकर विस्फोटनमा इरानको हात रहेको दावी गर्दै आएको छ। अमेरिकी सेनाले 'इरानको संलग्नता पुष्टि गर्ने' केही तस्वीरहरू पनि सार्वजनिक गरेको छ। इरानले माइनको मद्दतले ती ट्यांकरमा प्वाल पारेको वासिंटनको आरोप छ।

इरानले अमेरिकासँग सन् २०१५ मा सम्पन्न सम्झौता अनुरुपको युरेनियम उत्पादन तथा परीक्षण कार्यक्रमले अर्को साता पूर्णता पाउने बताएपछि दुई देशबिचको समस्या अझ गहिरो भएको हो। राष्ट्रपति डोनाल्ड ट्रम्प पुरानो सम्झौता खारेज गरी नयाँ सम्झौता गर्नुपर्ने पक्षमा छन्।

सोमबार राति इराकस्थित अमेरिकी सैन्य क्याम्पमा तीन रकेट हमला भएका छन्। यद्यपि क्षतिको खबर आएको छैन। हमलाको जिम्मा पनि कसैले लिएको छैन। अमेरिकाले इरान–समर्थित हतियारधारी समूहले आक्रमण गरेको आरोप लगाएको छ।

अमेरिका इरानसँग द्वन्द्ब चाहँदैन', शानाहानले भने, 'मध्यपूर्वमा पहिल्यै खटिएका सेना र हाम्रो राष्ट्रिय स्वार्थको रक्षाका लागि थप सेना परिचालन गर्न लागेका हौं।' उनले इरान–समर्थित कठपुतली समूहले अमेरिकालाई चुनौती दिइरहेको बताए। उनले थप्न लागिएको सेनाको संख्या भने खुलाएनन्। 

अमेरिकाको यो निर्णयले इरान थप दबाबमा पर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.