|

काठमाडौं : काठमाडौंमा गुठी पक्षधरहरूले विशाल प्रदर्शन गरेका छन्। सरकारलाई गुठी विधेयक खारेज नै गर्न दबाब दिँदै काठमाडौं, ललितपुर र भक्तपुरका गुठी पक्षधरहरुले काठमाडौंको माइतीघर मण्डलामा बुधबार विशाल प्रदर्शन गरेका हुन्। त्यसक्रममा उनीहरुले गुठी विधेयक फिर्ता लिएको सरकारलाई खारेज नगरेसम्म आफूहरूको आन्दोलन नरोकिने चेतावनी पनि दिए।

गुठियारको अधिकार सुनिश्चित गर्न आह्वान गर्दै आयोजना गरिएको प्रदर्शनमा धर्म, संस्कृति र सम्पदाहरुको नाश गर्ने काम गरिरहेको दाबी गर्दै सरकारविरुद्ध चर्का नाराबाजीसमेत गरिएको थियो। उनीहरुले गुठी विधेयक फिर्ता गरे पनि फेरि आउने आशंका गर्दै त्यसलाई खारेज गर्न पनि सरकारलाई सचेत गराए।

राष्ट्रियसभामा प्रस्तुत गुठी विधेयकविरुद्ध चर्को आन्दोलन सुरु गरेका उनीहरुले सो विधेयक खारेज नै हुनुपर्ने अडान राखेका छन्। सरकारले मंगलबार पत्रकार सम्मेलन गरी सो विधेयक फिर्ता लिएको थियो।

तर, त्यसलाई खारेज नै गर्नुपर्ने गुठी पक्षधरहरुको माग छ। प्रदर्शनका क्रममा ‘सम्पदा मास्न पाइँदैन,’ ‘गुठियारहरुको अधिकार सुनिश्चित गर,’ ‘धर्म, संस्कृति र सम्पदाहरको रक्षा गर’लगायतका नारा लेखिएको प्लेकार्ड पनि प्रदर्शन गरिएको थियो।

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.