विधेयक तत्काल पारित गर्न आग्रह

|

काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले नागरिकको अभिव्यक्ति स्वतन्त्रता खोस्न सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक नल्याइएको बताएका छन् । 

विकास तथा प्रविधि समितिमा शुक्रबार उपस्थित भएका सरकारका प्रवक्ता बास्कोटाले अभिव्यक्ति स्वतन्त्रता र गालीबेइजतीबीच फरक खोज्न पनि सांसदहरुसँग अपिल गरेका छन्। 

‘अब यो विधेयक समितिमा धेरै नलम्ब्याइदिनुस विधेयक । म अब आउँदिन। धेरै छलफल गरेँ, फेरि आउन आवश्यक छैन’, उनले भने, ‘यो विधेयक नागरिकलाई अनुशासित बनाउन ल्याइएको हो, स्वतन्त्र नबनाउनु होइन। संविधानले नागरिकको अभिव्यक्ति स्वतन्त्रतको व्यवस्था गरेको छ।’

मन्त्री बास्कोटाले जनताको अभिव्यक्ति स्वतन्त्रताका पनि खास सीमा हुने बताउँदै छाडापन र सूचना प्रविधिको दुरुपयोगलाई नागरिक स्वतन्त्रता मान्न नसकिने उनले उल्लेख गरे।

‘यो विधेयक राजनीतिक विचारधारालाई भन्दा पनि समाजलाई अघि बढाउन ल्याइएको हो। म मात्रै सत्तामा रहिरहने होइन, जनताले तपाईंलाई पनि पत्याए भने सत्तामा आउनुहुन्छ’, उनले भने, ‘यो विधेयकलई मिडियासँग जोड्नु आवश्यक छैन। सामाजिक सञ्जाललाई लक्षित गरी ल्याइएको हो।’

मन्त्री बास्कोटाले होच्याउने, हैरानी दिने र गिज्याउने, धम्क्याउनेलाई छुट दिनुपर्छ भन्ने पक्षमा कोही पनि रहन नहुने स्पष्टिकरण दिए ।

‘अभिव्यक्ति स्वतन्त्रता र गालीबेइजतीबीच फरक छुट्याऊँ। हाम्रो समाज बहुलवादी छ। त्यही भएर यो कानुन ल्याएर एकतन्त्रीय हुन्छ भन्ने नसोचौँ’, उनले थपे, ‘अरुलाई होच्याउने अधिकार सुनिश्चित गर्नुपर्छ नभनौँ। हाम्रो परिवार र समाजबारे सोचौँ। आलोचना गर्ने कुरामा स्वतन्त्रा हुन्छ, भन्‍नै नहुने र बोल्नै नहुने कुरा हुन्न।’

मन्त्री बास्कोटाले प्रहरीमा गाली बेइज्ज्तीका मुद्दा बढेका बताउँदै सामाजिक सञ्जाल दुरुपयोगको अवस्था पनि बढ्दो क्रममा रहेको उल्लेख गरे । ‘सामाजिक सञ्जालको कन्टेन्टले मानिसले आत्महत्यासम्म गरेका छन्। व्यक्तिगत माया पिरती र यौन हिंसा एकै होइन।’

मन्त्री बास्कोटाले बम जस्तै बनेका मोबाइलको ब्याट्री गोदाममै चेक गर्ने अधिकार यो विधेयकले दिने पनि उल्लेख गरे । ‘वाकीटकीलाई सरकारको नियन्त्रणमा ल्याउने कुरा विधेयकमा छ’, उनले भने, ‘ड्रोन, लेजर लाइटहरुलाई पनि सरकारको मातहतमा ल्याउने तयारी यो विधेयकले गरेको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.