|

काठमाडौं : प्रतिनिधि सभाको आइतवार बसेको बैठकमा सत्तारुढ र प्रतिपक्षी सांसदहरुबीच तल्लोस्तरमा झरेर आरोप प्रत्यारोप भएको छ। 
सातवटा मन्त्रालयको विनियोजन विधेयकमाथि छलफलका लागि बोलाइएको बैठकको विशेष समयमा दुई पक्षका सांसदहरुबीच आफ्ना शीर्ष नेतालाई लिएर आरोप प्रत्यारोप भएको हो ।

बैठकको विषेशष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीले केपी ओली नेतृत्वको सरकारले आजसम्म देश र जनताले मूल्याङ्‍कन गर्ने कुनै काम गर्न नसकेको आरोप लगाएका छन्। 

केपी होइन झुटप्रसाद 

'यो सरकार काण्डकै काण्डमा फसेको छ। एकपछि अर्को काण्डले सरकार आलोचित छ। सिन्डिकेट हटाउने भनेर आफैँ त्यसमा फसेको छ', चौधरीले भने, 'प्रधानमन्त्रीले यसअघि जथाभावी कर असुलेर करप्रसाद ओली उपनाम पाएका थिए। अब सधैँ झुटको आश्वासन दिने भएकाले उहाँको नाम झुटप्रसाद ओली राखौँ।'

सांसद चौधरीले प्रधानमन्त्री र मन्त्रीहरुले चिप्ला र फोस्रा भाषण दिँदै हिँडेको पनि आरोप लगाए। 'भाषण हेर्दा र सुन्ददा प्रधानमन्त्री र सबै मन्त्री हावादारी आश्वासन दिँदै हिँडेका छन्', चौधरीले भने, 'सरकार पुरै असफल भएर निरंकुश बन्ने बाटोमा छ ।'

शेरबहादुर होइन छेरबहादुर 

सांसद चौधरीले यति भनेपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद झपट रावलले त्यसमा आपत्ति जनाए। चौधरीको भनाइमा आपत्तिज जनाउँदै उठेका रावलले सभामुख कृष्णबहादुर महरासँग बोल्न समय मागे। 

विशेष समयमा अन्य दुई सांसदले बोलेपछि सभामुखले रावललाई पालो दिए । त्यसपछि सांसद रावलले जनप्रतिनिधिकै भाषा शैली यति तल्लोस्तरको हुन नहुने जिकिर गरे ।

'हामी नेपाली जनताको प्रतिनिधिले बोल्ने भाषा शैलीबारेमा हेक्का राखौँ। हामीबाट नेपाली जनताले के सिक्ने ? प्रधानमन्त्रीको नाम बंग्याएर करप्रसाद र झुट प्रसाद भनिएको छ', रावलले आक्रोश पोख्दै भने, 'शेरबहादुर देउवा लगायतका अन्य नेतालाई हामीले छेरबहादुर भन्‍न बाध्य भयौँ भने के हुन्छ? अमर्यादित र असभ्य भाषा रेकर्डबाट हटाइयोस् भन्‍ने माग गर्छु।'

त्यसपछि सभामुख महराले आफूले यस कुरालाई गम्भीरतापूर्वक लिएको बताउँदै ध्यानाकर्षण भएको उल्लेख गरे। 'मेरो ध्यानाकर्षण भएको छ, पछि निर्णय लिन्छु', सभामुखले आश्वस्त पार्दै भने। 

भिडियो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.