|

बुटवल : गत सोमबार तिलोत्तमा नगरपालका वडा नं १२की ६ वर्षीया बालिकालाई अपहरण गरी होटेलमा लुकाइराखेको अवस्थामा बुटवलको एक होटलबाट बुधबार बिहान प्रहरीले उद्दार गरेको छ।

सोमबार साँझ करिब ८ बजेको समयमा टेकबहादुर थापाकी ६ वर्षीया छोरी साबित्री थापाको अपहरण भएको भन्दै थापाका परिवारले प्रहरीमा उजुरी दिएका थिए।

इलाका प्रहरी कार्यालय बुटवलबाट प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईको कमाण्डमा गएको एक टोलीले बुधबार बिहान ७:३० बजे बुटवलको होटल प्लाजा एण्ड रेष्टुरेण्ट साबित्री थापालाई उद्दार गरेको हो।

बालिकालाई रेष्टुरेण्टको कोठा नं १०३ मा लुकाईराखेको अवस्थामा फेला पारिएको प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए।

पर्साको वीरगञ्ज महानगरपालिका-२७ का ३८ वर्षीय जयराम दासले  बालिकाका बाबु टेकबहादुर थापा र आमा मन्जु थापा घरमै हुँदाहुँदै उनलाई जबरजस्ती अपहरण गरेको प्रहरीले बताएको छ।

अपहरणकारी दासले विगत नौ महिनादेखि पीडितको घरनजिकै रहेको रैनी खोलामा पुल बनाउने पेटी ठेगेदारको रुपमा काम गर्दै आएका थिए। सोही क्रममा बालिकाकी आमा मन्जु थापासँग दासको चिनजान भएको र थापालाई बिवाहको प्रस्ताबसमेत राखेको प्रहरीले बताएको छ।

आमा मन्जु थापाले विवाहको प्रस्ताव स्वीकार नगर्दा दासले छोरीलाई अपहरण गरेको प्रहरीको दाबी छ। प्रहरीले अपहरणकारी जयराम दासलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.