जनकपुरधाम : मेकानिकल इन्जिनियरिङका विद्यार्थीहरुले मानवरहित यन्त्र बनाउन सफल भएका छन् ।
उनीहरुले बनाएका मानवरहित यन्त्रले ट्राफिक कन्ट्रोल सिस्टम, तापक्रम पत्ता लगाउने, माटोको प्रकार पत्ता लगाउने र सवारी साधनलाई दुर्घटनाबाट बचाउन सक्छन्।
टेक्नोमाइन्ड रोबोटिक्स क्लव र द रोबो क्रियु संस्थामा आवद्ध मेकानिकल इन्जिनियरिङका विद्यार्थीहरुले सोमबार पत्रकार सम्मेलन गरीे उपकरण सार्वजनिक गरेका छन् ।
उक्त संस्थाको नेतृत्व दीपक साहले गरेका छन् । उनको नेतृत्वमा शाहिल गुप्ता, सशांक कर्ण, सुभाष शर्मा, जितेन्द्र शर्मा र शेखर कुमार छन् ।
उनीहरुले म्यानुअल ट्राफिक कन्ट्रोल सिस्टम, अटोमेटिक ट्राफिक लाइट कन्ट्रोल, मार्स रोबोट, अब्सटेकल रोबोट, लाइन फोलोइङ्ग रोबोट लगायत यन्त्र बनाएका छन् ।
अटोमेटिक ट्राफिक लाइट कन्ट्रोलले मानवीय सहयोगबिना ट्राफिक लाइटलाई नियन्त्रण गर्न सक्छन्। उनीहरुले निर्माण गरेको अब्सटेकल रोबोटबाट सडकमा गुडिरहेको सवारी साधनलाई दुर्घटनाबाट जोगाउन सकिन्छ ।
त्यो रोबोट सवारी साधनमा जडान गरिए अगाडिको बाधालाई २० सेन्टिमिटर पहिले नै पहिचान गरेर सवारी साधनको बाटो परिवर्तन गर्न सक्छ ।
त्यस्तै मार्स रोबोटले मानव जान नसक्ने स्थानमा पुगेर त्यहाँको वस्तु स्थिति, त्यहाँको वातावरण, माटो पानी आदीको विषयमा जानकारी संकलन गर्न सहयोग गर्न सकिनेछ ।
नासाले मार्समा पठाएको क्युरोसिटी रोबोटबाट प्रेरित भएर ती युवाहरुले यस रोबोटको निर्माण गरेका हुन् । यो रोबोट निर्माण गरेका शाहिल गुप्ताले रोबोटलाई पृथ्वीमा पनि मानव जान नसक्ने स्थानमा पठाउन सकिने बताए ।
रिसर्च सेन्टरको माग
मानवरहित यन्त्र निर्माण गरेका ती युवाहरुले जनकपुरधाममा एउटा रिसर्च सेन्टरको स्थापना माग गरेका छन् । उनीहरुले बनाएका ती यन्त्रहरुको परीक्षणका लागि आयोजित कार्यक्रममा सरकारी सहयोग भए अन्य युवा पनि लाभान्वित हुने भएकाले रिसर्च सेन्टरको स्थापना गर्न माग गरेका छन् ।
ती युवाहरुको नेतृत्वकर्ता दीपक साहले मिथिला रिसर्च सेन्टरको नाममा जनकपुरधाममा संस्था स्थापना गरिए हामीहरुलाई अन्य अविष्कारका लागि सहयोग पुग्ने बताए ।
उनले सरकारी सहयोग पाएपछि जनकपुरधाममै अटोमेटिक ट्राफिक लाइट कन्ट्रोल कम लागतमै जडान गर्न सक्ने बताए । उनले ५ लाखमा कुनै एक स्थानमा यो प्रणाली जडान गर्न सकिने बताए । उनका अनुसार उक्त कन्ट्रोलमा सिसिटिभी जडान गरिएको हुन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।