|

काठमाडौँं :  लामो समयपछि बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दल बैठकमा सरकारको चर्को आलोचना भएको छ। बैठकमा सहभागी सांसदहरुले सरकार र मन्त्रीहरुको कार्यशैलीलाई लिएर कडा टिप्पणी गरेका हुन्।

संसदीय दलको पहिलो दिनको बैठकमा बोलेका २९ जना सांसदमध्ये धेरैजसोले मन्त्रीहरुको कार्यशैली र बजेट निर्माणमा एकलौटी गरेको भन्दै चर्को आलोचना गरे। 

सरकारको गति सुस्त भएका बेला छलफल नै नगरी ल्याइने विधेयकले झन् समस्या पारेको बताएका थिए। बैठकमा बोल्दै सांसद भीमबहादुर रावलले मन्त्रीहरुले बजेट बाँडफाँटमा मनपरी गरेको भन्दै चर्को आलोचना गरे। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईको चर्को आलोचना गर्दै रावलले आलोचना गरेपछि तँ तँ र म मको अवस्था भएको हो । 

‘मन्त्रीहरुले हाम्रा कुरै सुन्दैनन्, आफूखुसी योजना बनाएर आफ्नो जिल्लामा धेरै पारेका छन्’, उनले भने, ‘यस्तो मनपरी भएपछि सरकार समस्यामा पर्छ नि।’

रावलले यसो भनेपछि मञ्चमा रहेका महासेठ उठेर योजना बनाउन कसैले सिकाउन नपर्ने भन्दै जंगिएका थिए।  त्यसपछि रावलले ‘हाम्रा कुरा नसुन्ने ... को होस् भन्दै महासेठविरुद्ध खन्निएका थिए।

त्यसपछि मन्त्री महासेठको जुहारी अर्का सांसद लालबहादुर थापासँग पनि पनि प¥यो। भीम रावलसँग तँ तँ म म परेपछि महासेठ र अर्का सांसद लालबहादुर थापाबीच त्यस्तै भाषामा जुहारी चल्यो।

लालबहादुर थापाले आफ्नो आलोचना गरेपछि जंगिएका महासेठले वामदेव गौतम लगाएर दबाब दिएको भन्दै आक्रोशित भए। ‘वामदेव गौतमबाट फोन किन लगाएको? वामदेवको फोन किन उठाइनस् भन्यौ’, महासेठले भने। त्यसपछि थापाले प्रमाण ल्याऊ भन्दा महासेठले ‘ठुला कुरा गर्छस् भनेर झपारेका थिए। 

थापासँग महासेठको तँ तँ म म परेसँगै अर्का सांसद झपट रावलले पनि सरकारको आलोचना गरे । ‘मन्त्रीहरुले आफू खुसी बजेट बनाएका आलोचना गरेको हो’, उनले भने, ‘कुरा राख्ने ठाउँ पाएनौँ, त्यही भएर संसदमा मौनधारण गर्नुपर्यो।’

अर्का सांसद जनार्दन शर्माले जनताका कुरा भन्नैका लागि संसदको सहारा लिनुपरेको बताए । ‘जनताका कुरा सरकारालाई सुनाउनैपर्यो, संसदबाटै हो भन्ने’, उनले भने, ‘यस्ता फोरम नराखेपछि संसदकै सहारा लिएका हौँ, संसदीय दल नियमित बसेको भए हामीले संसदमा कराउनै पर्दैनथियो।’

अर्की सांसद रामकुमारी झाँक्रीले पार्टीका फोरम नहुँदा अगाडि बढ्नै नसकिएको बताइन्। ‘बोल्नै ठाउँ नै पाइएन’, उनले भनिन्, ‘हामीले कुरा सुनाउने ठाउँ नपाएपछि सरकारलाई के सुनाउनु ?’

नयाँ बानेश्वरस्थित कार्यालयमा बसेको बैठकमा दुई अध्यक्षमध्ये पुष्पकमल दाहालले अबको एक महिनामै पोलिटब्युरोसहित पार्टी एकताको सबै काम सकिने जानकारी दिए । उनले भने, ‘अब अलमल हुँदैन, एक महिनमा सबै काम सक्छौँ।’

त्यस्तै अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले काम राम्रै गर्दा पनि आलोचना भएको गुनासो गरे । ‘सरकारले राम्रै काम गर्दा पनि आलोचना भयो’, उनले भने, ‘पार्टी एकता मिल्छ। सरकारले गरेका राम्रो कुराको प्रचार भएन।’

दलका प्रमुख सचेतक देव गुरुङले आजको बैठकमा २९ जना सांसदले बोलेको बताउँदै अब २१ गते बस्ने अर्को बैठकमा थप सांसदहरुले बोल्ने जानकारी दिए। बैठकमा सांसदहरु टेकबहादुर बस्नेत, भीम रावल, रामकुमारी झाँक्री, झपट रावल, रामनारायण बिडारी, लाबहादुर थापा र जनार्दन शर्मासहित २९ जनाले बोलेका हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.