'विषादी स्वदेशी होस् कि विदेशी नियन्त्रण गरिन्छ'

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्राविधिक तयारीपछि मुलुकमा भित्रिने र मुलुकभित्र उत्पादन हुने तरकारी र फलफूलमा रहेको विषादी परीक्षण गरिने बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको बैठकमा सांसदहरूले प्रश्न उठाएपछि प्रधानमन्त्री ओलीले भारतबाट आयातित हुने तरकारी र फलफूलमा हालका लागि विषादी परीक्षण रोक्नुको कारणबारे बताएका थिए।

उनले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले यथेष्ट तयारी बिना नै भारतबाट आयातित हुने फलफूल तथा तरकारीमा विषादी परीक्षण गर्ने निर्णय गरेको भन्दै अब तयारीका साथ सरकार अगाडि बढ्ने जानकारी दिएका थिए।

संसदमा प्रधानमन्त्रीले दिएको जवाफ उल्लेख गर्दै सांसद रामकुमारी झाँक्रीले भनिन्, 'सांसदहरूले बोल्ने क्रममा भारतबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण किन रोकिएको भनेर जवाफ माग्नुभएको थियो। तयारी नभएकाले हालका लागि स्थगित गरिएको प्रधानमन्त्रीज्यूको जवाफ थियो। मन्त्रिपरिषदको बैठकले सीमानामा परीक्षण गर्ने प्रविधि र जनशक्ति तयार गर्ने निर्णय गरेको जानकारी दिनुभयो।'

प्रधानमन्त्रीले स्वदेशी उत्पादनको पनि परीक्षण गर्ने पूर्वाधार तयार गर्ने बताएका छन्। प्रधानमन्त्रीको भनाइलाई उदृत गर्दै सांसद झाँक्रीले भनिन्, 'पूर्वाधार बनाउन सक्षम भइसकेका छैन रहेछौँ। कानुन त बनायौँ  तर भन्सारमा जनशक्ति र प्रविधि तयार भइसकेको छैन रहेछ। विषादी स्वदेशी होस् कि विदेशी त्यसलाई नियन्त्रण गरिन्छ।'

भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादी रहेको भन्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरेर परीक्षणपछि मात्रै नेपाल प्रवेश दिने भनिएको थियो। त्यसपछि भारतसँगको सीमामा सयौं ट्रकहरू रोकिएका थिए। काठमाडौंस्थित भारतीय दूतावासले पनि यस विषयमा चासो राखेको थियो।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.