|

सिन्धुली : असार मसान्त सम्ममा निर्माण सम्पन्न हुनुपर्ने सिन्धुलीका दर्जनाै सडक अलपत्र परेका छन्। अलकत्र अभावमा जिल्लाका दर्जन भन्दा वढी सडक निर्माणको काम अलपत्र परेको छ। अलकत्रा (विटुमिन) अभावका कारण तोकिएको समयमा सडक पिच गर्न कठिन भएको जिल्लाका निर्माण व्यवसायीले बताएका छन्।

सिन्धुली जिल्लामा हाल एक दर्जन बढी सडक कालोपत्रे गर्ने अन्तिम तयारी रहेको अवस्थामा विटुमिन अभावका कारण सडक कालोपत्रे गर्न कठिन भएको निर्माण व्यवसायी संघ सिन्धुलीले जनाएको छ। अलकत्राको अभावमा कालोपत्रे गर्न अन्तिम तयारीमा पुगेका सडक अलपत्र परेका निर्माण व्यवसायी संघ सिन्धुलीका अध्यक्ष जयकुमार ढकालले बताए।  

सिन्धुली जिल्लामा हाल राष्ट्रिय गौरवको राजमार्ग मदन भण्डारी राजमार्गसहित दर्जनबढी सडकहरू निर्माणाधीन अवस्थामा रहेका छन। जसका कारण मदन भण्डारी राजमार्ग, कमलामाई नगरपालिकाका ३ आयोजना, शहरी विकास तथा भवन डिभिजनका ४ वटा योजना र संसदीय विकास कोष तर्फका ३ वटा सडक पिच हुन सकेका छैनन। 

करिव डेढ महिनादेखि विटुमिन अभाव भएपछि सडक निर्माणको काम अवरुद्ध बनेको छ। सिन्धुलीमा यी सबै योजनाहरू गरी करिव १०० किलोमिटर सडक कालोपत्रे हुनपर्नेमा काम हुन सकेको छैन। 

यसरी काम अवरुद्ध हुने सडकमा राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्ग, संसदीय विकास कोष तर्फका डकाहा-चकमके सडक, साङ्वाले-वेलटार सडक, खनियाँखर्क-कमारे भञ्ज्याङ सडक, शहरी विकास तथा भवन डिभिजन तर्फका कमलामाई नगरपालिका ५ को पुल्चोक-मधुटार-रानीखोला सडक, पुल्चोक-चिसापानी झोरा सडक, बसपार्क-सिलामे सडक, कमलामाई नगरपालिका ६ को गौमति माविदेखि-गणेश मन्दीरसम्मको सडक, पिपलभञ्ज्याङ-बस्तीपुर सडकखण्ड रहेका छन।

यस्तै स्थानीय तहअन्तर्गत लक्ष्मणचोक-पानीट्यांकी सडक, ढुंग्रेवास-मल्लगाउँ सडक लगायतका सडक कालोपत्रे हुन सकेका छैनन्। यी सडकहरूमा निर्माण कम्पनीहरूले सव वेश र वेशको काम सकिसकेका छन। बहुवर्षे तथा चालु आर्थिक वर्षमा निर्माण सक्नु पर्ने अधिकांश योजनाको काम नसकिँदा समस्या भएको अध्यक्ष ढकालले गुनासो गरे। 
 
डेढ महिना अघिदेखि विटुमिन ल्याउन नसक्दा समस्या भएको र समयमा काम गर्न नसक्ने भन्दै निर्माण व्यवसायी सिन्धुलीले योजनाको म्याद थप गर्न माग गरेको छ। संघले  विटुमिन भारत र तेस्रो मुलुकबाट आउने र २ महिनादेखि नेपाल भित्रिन नसक्दा अभाव भएकाले निर्माण व्यवसायीको काबु भन्दा बाहिरको परिस्थितिलाई ध्यान दिन नेपाल सरकार र सार्वजनिक निकायसँग अनुरोध गरिएको अध्यक्ष ढकालको भनाई छ।

नेपालका डिलरहरूले विटुमिन दिन नसक्ने बताएका छन। तेस्रो मुलुकबाट आउनु पर्ने र सो प्रक्रिया रोकिएको भन्दै हाललाई विटुमिन दिन नसकिने डिलरले बताएको भन्दै यस्तो अवस्थामा सडक निर्माण गर्न नसकिने व्यवसायीले बताएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.