|

काठमाडौं :  विज्ञहरुले पारमाणविक भट्टी केन्द्र संचालन गर्ने अनूमति निजी क्षेत्रलाई नदिन सरकारलाई सचेत गराएका छन ।

सोमबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा ‘पारमाणविक तथा रेडियाधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको छलफलमा प्राध्यापक सुरेन्द्रप्रसाद पण्डित र चिकित्सक शान्तलाल श्रेष्ठले युद्धमा प्रयोग हुने पारमाणविक भट्टी चलाउने अधिकार सरकारमा मात्रै हुनुपर्ने स्पष्ट पारे।

प्राध्यापक पण्डितले भारत र चीनजस्ता दुई ठूला छिमेकी मुलुकको बीचमा रहेको नेपालका लागि पारमाणविक भट्टीको स्थापना र संचालन संवेदनशील भएकाले सरकारलाई गम्भीर भएर सोच्‍न पनि आग्रह गरे।

युद्धमा मानव संहार गर्ने त्यस्ता खालका भट्टीहरु दुरुपयोग हुन नदिन सरकारले कडा निगरानी राख्नुपर्ने उनको भनाई थियो । छलफलमा भाग लिँदै प्राध्यापक पण्डितले नेपालले पनि पारमाणविक भट्टी स्थापना गर्न सक्ने तर त्यसका लागि कडा नियमनकारी निकायको व्यवस्था हुनुपर्ने पनि स्पष्ट पारे।

बैठकमा चिकित्सक शान्तलाल श्रेष्ठले रेडियोधर्मी पदार्थको सुरक्षित प्रयोगका लागि ल्याइएको विधेयक सही भएपनि पारमाणविक भट्टी स्थापना गर्ने सम्बन्धमा विधेयकमा समावेश गरिएको प्रावधान भने उचित नभएको बताए। उनले पारमाणविक भट्टी स्थापना गर्न निजी क्षेत्रलाई दिने विधेयकको प्रावधान मान्य नहुने पनि स्पष्ट  पारे। विधेयकमा पारमाणविक भट्टी निजी क्षेत्रले पनि सञ्चालन गर्न सक्ने प्रावधान राखिएको छ । त्यसमा विज्ञहरुले आपत्ति जनाएका छन्। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.