भक्तपुरे महिलाको परम्परागत विधिले गर्‍यो काम

|

काठमाडौं : गोरखा भूकम्पपछि पानी सुकेर मैदान बनेको रानीपोखरीमा यतिबेला पुन: पानी अड्याउने कोसिस भइरहेको छ। भक्तपुरका महिलाहरु यतिबेला बालुवा मिसाएको कालो माटोको सहयोगमा रानीपोखरीलाई पुनर्जीवित बनाउने अभियानमा छन्।

पानी जमाउन नसकिएपछि पुनर्निर्माण प्राधिकरणले त्यसको जिम्मेवारी भक्तपुरका तीर्थलक्ष्मी र रामदेवीसहितका महिलाको काँधमा सुम्पेको छ। उनीहरु अहिले रानीपोखरीमा पानी जमाउने कठिन चुनौती छिचोल्न जुटेका छन्। 

बालुवा मिसाइएको कालो माटो र पुराना इँटाको प्रयोग गरेर अहिले रानीपोखरी टाल्ने काम भइरहेको छ। कुटो, कोदालो बोकेर दिनभरि रानीपोखरीमा खटिने उनीहरुको कयौँ महिनाको मेहनत सफल हुने संकेत पनि देखिएको छ। 

रानीपोखरीको पिँधमा कालो माटो राखेर बनाइएका दुई साना दहमा पानी जमेको छ। जुन पानी रानीपोखरीबाट सुकेको छैन। त्यहीकारण उनीहरु उत्साहित छन्। अन्तिममा रहेकी अष्टलक्ष्मी दुवाल कालो माटोलाई बालुवा बिछ्याइएको पोखरीमा मिलाउने काम गरिरहेकी छिन्।

भिडियो

सुरुमा काठमाडौं महानगरपालिकाले रानीपोखरी पुनर्निर्माणको जिम्मा पाएको थियो। तर उसले सिमेन्टको प्रयोग गरेर रानीपोखरीको मौलिक अस्तित्व मेट्न खोजेको आरोप लाग्यो। त्यसपछि नेपाली सेनालाई पनि दिन खोजियो तर अन्तत: रानीपोखरी पुनर्निर्माणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको काँधमा आएको छ।

पुनर्निर्माण प्राधिरकरणले पनि रानीपोखरीलाई ब्युँत्याउने जिम्मा भक्तपुरे महिलाको काँधमा सुम्पिएको छ। प्राधिकरणले गत फागुनदेखि उपभोक्ता समिति गठन गरेर रानीपोखरी पुनर्निर्माण थालेको हो।

अहिले रानीपोखरीमा पानी अड्याउने जिम्मा भक्तपुरका सिल्पी महिलालाई दिइएको हो। परीक्षणस्वरुप भक्तपुरे महिलाले रानीपोखरी भित्र साना दह बनाएर पानी जमाएका छन्। त्यो पानी नसुकेपछि उनीहरु उत्साहित भएका छन्। अब रानीपोखरीमा पानी जम्ने विश्वास पनि उनीहरुमा पलाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.