|

गोरखा बजार :  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षी दलले संसद अवरुद्ध गर्दैमा निर्वाचन नरोकिने बताएका छन्। शुक्रबार गोरखा उद्योग वाणिज्य संघले गोरखा बजारमा गरेको नवौं गोरखा महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्रीले संसद अवरोधले निर्वाचन नरोकिने बताएका हुन्।

महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्रीले भने, ‘कुनै जाति, क्षेत्र र समुदायलाई धकेलेर, आरोपित गरेर राष्ट्रिय एकता बलियो हुँदैन। हिमाल, पहाड र तराईलाई एकतावद्ध गर्न, राष्ट्रिय एकता सुदृढ गर्न र मुलुकमा निर्वाचनको वातावरण निर्माण गर्न सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेको छ। निर्वाचन सम्बन्धी विधेयक संसदमा पेश भएका छन्। यस्तो बेला प्रतिपक्षी दलले संसद अवरुद्ध गरिरहेको छ। तर, संसद अवरुद्ध गर्दैमा निर्वाचन रोक्न सकिँदैन। सरकार निर्वाचन गर्न प्रतिवद्ध छ।’

अहिलेको सरकारलाई अनौठो भनेकोमा प्रधानमन्त्री लोडसेडिङ घटाउने, हिमाल, पहाड र तराईलाई जोड्ने, देशमा निर्वाचनको वातावरण बनाएर संविधान कार्यान्वयन गर्ने, पुनर्निर्माणलाई तिब्रता दिने भएकोले सरकार अनोठौ नै भएको बताए। उनले भने- 'देशमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताको नेतृत्व गर्ने अनौठो सरकार हो। देश र जनताको पक्षमा काम गर्दा कसैलाई अनौठो लाग्छ भने त्यसमा म खुसी नै हुन्छु।’

प्रधानमन्त्रीले  संविधान संशोधन प्रस्तावको आविष्कारक एमाले नै रहेको दाबी गरे। ५ नम्वर प्रदेशको संशोधनसम्बन्धी प्रस्ताव एमालेको खाका रहेको उनले खुलाए। प्रधानमन्त्रीले महाअभियोग प्रस्ताव र निर्वाचन रोकेर एमालेले देशलाई अनिर्णयको बन्दी बनाउन खोजेको आरोप लगाए।

आर्थिक समृद्धि र विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी दिँदै प्रधानमन्त्रीले भने-‘काठमाडौं उपत्यकामा लोडसेडिङ अन्त्य गरिएको छ। मैले राष्ट्रिय गौरवका आयोजनाहरुको निरन्तर अनुगमन गरिरहेको छु। मेरो अनुगमनपछि विकास, निर्माणका कामले तिब्रता पाएका छन्। सरकार पुनर्निर्माणका लागि थप कठोर कदम चाल्ने तयारीमा छ। सरकारले विकास र आर्थिक समृद्धिलाई उच्च प्राथमिकतामा राखेको छ।’ 

कृषि, पर्यटन र व्यापारलाई केन्द्रमा राखेर आयोजना गरिएको महोत्सव पुस ८ गतेदेखि १६ गतेसम्म चल्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.