|

सल्यान : कपुरकोट गाउँपालिका–३ मुलपानीमा रहेको वनस्पति अनुसन्धान केन्द्रले लोपोन्मुख ३७५ प्रजातिका वनस्पतिको सरंक्षण गर्दै आइरहेको छ। राज्यले प्राथमिकताको सूचीमा राखेका तथा आर्थिक र औषधिको रुपमा महत्त्वपूर्ण मानिएका ३७५ प्रजातिका वनस्पति संरक्षण गरिँदै आइएको छ।

वनस्पति उद्यानको प्रमुख उद्देश्य वनस्पतिको संरक्षण तथा अध्ययन अनुसन्धान गर्नु रहेको वनस्पति अनुसन्धान केन्द्रका प्रमुख दिनश बरालले बताए। अनुसन्धान केन्द्रका हेड फिल्ड असिस्टेन्ट कृष्ण पुनका अनुसार केन्द्रमा अवलोकन गर्नेहरु पनि बाक्ले आउने गरेका छन्। अवलोकनका लागि शुल्क लाग्दैन।

वनस्पति उद्यानमा श्रीखण्ड, टिमुर, विजयसाल, सतिसाल, सुगन्धवाल, चिराइतो, कुरिलो, घिउकुमारी, तेजपात, लौठसल्ला, केशर, सुगन्धकोकिला, सर्पगन्धा अश्वगन्धा पिपलालगायत ३७५ वटा प्रजातीको संरक्षण गरिएको बरालले जानकारी दिए।

२०५६ सालमा स्थापना भएको वनस्पति उद्यान ११३ दशमलव ५ रोपनी क्षेत्रफलमा फैलिएको छ। उद्यानको मुख्य आकर्षणमा यस क्षेत्र रहेका २८ प्रजातिका सुनाखरीलाई संरक्षण गरी राखिएको छ। यसका साथै नेपालबाट साइटिसको अनुसूचीमा परेका १३ प्रजातिका वनस्पतिमध्ये यस उद्यानमा हुर्कने सक्ने साइकस, लौठसल्ला, सर्पगन्धा, गुन्सी तथा सुनाखरीको साइटिक गार्डेन बनाई संरक्षण गरिएको छ। यसबाहेक टिमुर उत्पादन पोलीहाउस, फर्न गार्डेन, रक गार्डेन, जलिय उद्यान, अर्किड हाउस, मौसमी फूल बगैंचा, जडीबुटी सूचना केन्द्र, आदि रहेका छन्।

कर्णाली प्रदेशकै एक मात्र वनस्पति उद्यानको रूपमा रहेको यस उद्यानले बर्सेनि हजारौँको संख्यामा लोपोन्मुख तथा बहुमूल्य जडीबुटीका बिरुवा उत्पादन गरी कर्णाली प्रदेशका १० वटै जिल्ला र अन्य जिल्लामा पठाउँदै आएको कार्यालयले जनाएको छ।

आन्तरिक पर्यटन विकासमा टेवा

मुलपानी उद्यानमा अहिले आन्तरिक पर्यटनको घुइँचो नै लाग्ने गरेको छ। पछिल्ला वर्षहरूमा उद्यानमा आन्तरिक तथा बाह्य पर्यटकहरू बढ्दै गइरहेका कार्यालय प्रमुख बरालले जानकारी दिए।

‘उद्यानमा बिदाको दिन रमाइलो गर्न पनि सर्वसासधारण आउने गरेका छन्,’ बरालले भने, ‘विभिन्न जडीबुटी र वनस्पतिको अनुुसन्धानका लागि अनुसन्धानकर्ताहरू तथा शैक्षिक भ्रमणका लागि विद्यार्थीहरू उद्यानमा आउने गरेका छन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.