रुकुम : चार महिनाअघि काभ्रेबाट पक्राउ परेर हाल ललितपुरको नख्खु कारागारमा राखिएका नेपाल कम्युनिस्ट पार्टीका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ को घरमा पक्राउ पुर्जी पुगेको खुलेको छ। रुकुम पश्चिम त्रिवेणी गाउँपालिका ६ मुरुमा रहेको नेता ओलीको घरमा प्रहरी आफै पुगेर म्याद सूचना तथा पक्राउ पुर्जी दिएको हो।
झुल्नेटा चौकीबाट गएको प्रहरीले उनकी जेठी श्रीमती सुष्मा ओलीलाई अदालतको पुर्जी थमाएको हो। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, प्रहरी नायव उपरीक्षक सुमित खड्काका अनुसार संखुवासभा जिल्ला अदालतबाट वैशाख २३ गतेको मितिमा जारी गरिएको म्याद तामेली तथा पक्राउ पुर्जी बुझाइएको हो। उनका अनुसार
उक्त म्याद सूचनामा प्रतिबन्धित नेकपा माओवादी पार्टीका नेता ओलीलाई विभिन्न ३ वटा मुद्दाको विषयमा उल्लेख गरिएको छ। जसमा संगठित रुपमा आगजनी गरेको, संगठित रुपमा हाहतियार ओसार-पसार तथा संचित गरेको र संगठित रुपमा हातहतियार खरखजना तथा बिस्फोटक पदार्थ ओसार-पसारमा संलग्न रहेको मुद्दा छ।
उक्त म्याद सूचना परिवारलाई बुझाएर प्रहरीले असार ८ गते नै जिल्ला अदालत संखुवासभालाई पत्राचार गरिसकेको छ। उनलाई काठमाडौँ र ललितपुरमा विभिन्न मुद्दामा जेलमा राखिएको छ भने संखुवासभाबाट पनि संगठित रूपमा आगजनी मुद्दामा पक्राउ पुर्जी जारी गरिएको खुलेको हो।
यसअघि नै पक्राउ परेर जेलमा रहेका व्यक्तिको घरमा पुःन पक्राउ पुर्जी दिनुलाई आश्चर्यको रुपमा लिइएको छ। तर रुकुम पश्चिम प्रहरीले अदालतबाट आएको पत्रलाई घरसम्म पुर्याउने जिम्मेवारी मात्र निभाएको बताएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।