|
फोटो : www.thestar.com

काठमाडौं : युरोकप २०१६ को अन्तिम क्वार्टरफाइनलमा आइतबार राति आयोजक फ्रान्सले यस प्रतियोगितामा “जाइन्ट किलर”को छवि बनाएको आइसल्यान्डसंग प्रतिस्पर्धा गर्दैछ।

पहिलो पटक ठूलो प्रतियोगितामा सहभागी भएको आइसल्यान्डले क्वार्टरफाइनलसम्मको यात्रा तय गर्दा युरोपियन फुटबलका पावरहाउस मानिने इगंल्यान्डलाई निर्धारित ९० मिनेटभित्रै पराजित गरी आफु कोही भन्दा कम नभएको जनाउ दिइसकेको छ। 

समूह चरणदेखिनै सनसनीपूर्ण नजिता निकालको आइसल्यान्डले पोर्चुगल, हंगेरी जस्ता टिमहरुलाई पनि पछि पार्दै समूह विजेता भएको थियो। युरोकप सुरु हुनुअघि सबैभन्दा कमजोर मानिएको आइसल्यान्डले मैदानमा भने उत्कृष्ट खेल देखाउँदै आएको छ। 

यस्तोमा आइतबार हुने क्वार्टरफाइनलमा उपाधिको दाबेदार फ्रान्स दबाबमा हुनेछ। प्रिक्वार्टरफाइनलमा इगंल्यान्डलाई पराजित गरेपछि आइसल्यान्डले ठूलो प्रतियोगिताको पहिलो सहभागितामा नै सबैथोक पाएको भन्दै उसको सरकारले भव्य स्वागतको तयारी गरेको छ। यस्तोमा आजको खेलमा आइसल्यान्डलाई गुमाउनु केही छैन। 

आफ्नो फुटबल इतिहासकै सबैभन्दा चरम विन्दुमा रहेको आइसल्यान्ड आजको खेलमा पनि आयोजक फ्रान्सलाई स्तब्ध पार्दै सेमिफाइनल पुग्ने दाउमा हुनेछ। यसका लागि उसका जिलेफी सिगुर्डसन, बोडभारसन, ट्राउस्टासन जस्ता खेलाडीले आफ्नो उत्कृष्ट खेललाई निरन्तरता दिनुपर्नेछ। 

हुनत आइसल्याण्डसँगको खेलमा इतिहास फ्रान्सको पक्षमा छ। यी दुई टिम विगतमा ११ पटक आमनेसामने भएका छन्। जसमा ८ पटक फ्रान्सले नतिजा आफ्नो पक्षमा पार्दा ३ पटक बराबरीमा सकिएको छ। तर वर्तमान सँधै इतिहासको पक्षमा हुन्छ भन्ने छैन र प्रत्येक वर्तमान इतिहास बन्ने भएकोले आज आइसल्यान्डले अर्को इतिहास नरच्ला भन्ने छैन।

फ्रान्स त्यस्तो टिम हो जसले ठूला प्रतियोगिता अन्तर्गत घरेलु भूमिमा खेलेको पछिल्लो १६ खेलमा अपराजित छ। पछिल्लो पटक सन् १९६० को युरोकपमा चेकोस्लोभाकियासँग पराजित भएयता उसले १४ मा जित निकाल्दा २ खेलमा बराबरी गरेको छ। 

जारी युरोकपमा पेनाल्टीमा २ गोल खाएको फ्रान्सले ६ गोल गरेको छ, भने आइसल्यान्डले पनि ६ गोल गर्दै ३ गोलमात्र खाएको छ।  यही मैदानमा समूहचरणको खेलमा अष्ट्रियालाई २–१ पराजित गरेको रेकर्ड आइसल्यान्डसंग छ भने फ्रान्सले यो मैदानमा गोल नगरेको ६०३ मिनेट कटेको छ। 

उच्च मनोबल, दबारहित मानसिकता र मैदानको “फेभर” रहेको आइसल्यान्डलाई रोक्नका लागि फ्रान्सका एन्टोनी ग्रिजम्यान, पाउलो पोग्बा, ओलिभर जिरुड जस्ता खेलाडीहरुले आफ्नो स्तर अनुसारको प्रदर्शन गर्नुपर्नेछ। 

आइतबारको खेलको विजेताले फाइनल प्रवेशको लागि नेपाली समय अनुसार जुलाई ९ तारेखमा विश्व विजेता जर्मनीको सामना गर्नेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.