|

भद्रपुर, (झापा) : भद्रपुरस्थित मेची पुल जोड्ने भारततर्फ बनाइएको अस्थायी ग्राभेल सडक बगाउँदा आवतजावतमा फेरि समस्या उत्पन्न भएको छ।

अविरल वर्षासँगै मेची नदीमा आएको बाढीले शुक्रबार बिहान पुल जोड्ने ग्राभेल सडक बगाउँदा आवतजावतमा समस्या उत्पन्न भएको हो। मेचीको बाढीले एसएसबीले दशगजानजिकै राखिएको अस्थायी पोस्टसमेत डुबाएको छ।

बाढीको पानी सडकमाथिबाटै बगेको थियो। सडकमा पानी जमेपछि शुक्रबार दिनभर आवतजावतमा समस्या भयो। मोटरसाइकल र हलुका चार चक्के सवारीसाधन अवरुद्ध भएको छ। पानीले ग्राभेल सडकको गिट्टी बालुवा बगाउँदा सडक ठाउँ ठाउँमा भत्किएको छ।

मेची पुल जोड्ने भारततर्फको कालोपत्रे सडक नबन्दा स्थानीयको सुविधाका लागि किशनगञ्ज जिल्ला भादगाउँ ग्राम पञ्चायतले करिब ७ लाख आन्तरिक बजेट निकासा गरी मेची पुल जोडन एउटा कल्भर्ट निर्माण गरी बालुवा र माटोसहितको सय मिटर ग्राभेल सडक बनाएको थियो।

भारतले अस्थायी सडक बनाएपछि त्यो सडकलाई जोडन भद्रपुर नगरपालिकाले समेत ह्युम पाइप राखेर सय मिटर सडक निर्माण गरिदिए। दुवै देशका स्थानीय निकायले वर्षालाई मध्यनजर गरी ग्राभेल सडक बनाएका हुन्। तर, शुक्रवार मेची नदीमा आएको बाढीले त्यो सडक पनि बगाइ दिएको छ।

‘पुलको पारी पट्टी नदीको पानीले सडक बगाएको छ’, वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले भने, ‘शुक्रवार मोटरसाइकल र हलुका सवारीसाधन ठप्प भयो, सर्वसाधारणलाई आवतजावतमा समेत समस्या भयो।’ ‘बिहान पानीको सतह बढेको थियो’, उनले भने, ‘अहिले पानी घट्दै गइरहेको छ, तर सवारीसाधन चलेको छैन।’

५६० मिटर लम्बाई र ९‍.८ मिटर चौडाइको १७ पिलरसहितको मेची पुल ३५ करोड ९५ लाख रुपैयाँको लागतमा ९ वर्षमा बनेको मेची पुलको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ साल माघ १७ गते गरेका थिए। सडक निकास विनाको पुलको उद्घाटन भए पनि हलुका चार चक्के सवारी, मोटरसाइकल, साइकल र पैदलयात्रीले मात्र पुलबाट आवतजावत गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.