|

दाङ : दाङ तुलसीपुर १२ का २२ वर्षीय रामबहादुर वलीलाई खुकरी प्रहार गरी हत्या गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ।

घटनामा संलग्न भएको आरोपमा तुलसीपुर १८ दूधरासका २२ वर्षीय सौरभ मल्ल र तुलसीपुर ६ का १९ वर्षीय शुभम् शर्मालाई प्रहरीले घटना भएलगत्तै  तुलसीपुर ११ स्थित मोतिपुरको नर्सरी जंगलबाट पक्राउ गरेको थियो।

यस्तैगरी अन्य पक्राउ पर्नेहरूमा तुलसीपुर १२ कपडा देवीका २४ वर्षीय तेजेश पुनमगर, तुलसीपुर ११ बेलटाकुराका २२ वर्षीय रमेश केसी, सोही ठाउँका २० वर्षीय अमृत ओली र सोही वर्ष २२ को भरत शाही रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता विनोद विक्रम शाहीले बताए।

उनीहरूलाई प्रहरीले आइतबार दिउँसो २ बजेतिर दंगिशरण गाउँपालिका २ डागीचौर कलम खोलाबाट पक्राउ गरेको हो। शनिबार दिउँसो तुलसीपुर ११ जनबहार चोकस्थित रुद्रबहादुर डाँगीको खाजा पसलमा खाजा खाइरहेको अवस्थामा मोटरसाइकलमा आएका युवाको समूहले वलीमाथि एकाएक खुकुरी प्रहार गरी फरार भएका थिए।

गम्भीर घाइते भएका वलीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर हुँदै भारतको लखनउ लैजादै गर्दा आइतबार बिहान १ बजेतिर बाटोमा नै मृत्यु भएको प्रहरीले बताएको छ। पक्राउ परेकाहरूविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.