|

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी नेपालले संसदमा स्थगनको प्रस्ताव दर्ता गराएका छन् । उनीहरुले संसदको नियमित कार्यसूची स्थगित गरि बाढी पहिरोले देशभर पुर्‍याएको क्षति तथा उद्दार र राहतमा सरकारले गरिरहेको कामबारे छलफल गर्न माग गरेका हुन् । 

प्रतिनिधिसभा नियमावलीको नियम ७८ (१) अनुसार अत्यन्त जरुरी सार्वजनिक महत्वको विषयमा छलफल गर्नका लागि बैठकको कार्यक्रम स्थगित गरियोस भन्ने प्रस्ताव सभामुखको अनुमतिले पेश गर्न सक्ने व्यवस्था गरिएको छ । 

देश बाढी पहिरोले आक्रान्त भएका बेला अन्य विषयमा छलफल गर्नु सान्दर्भिक नहुने भएकाले स्थगन प्रस्ताव दर्ता गरिएको राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए।

स्थगन प्रस्ताव दर्ता गर्ने प्रस्तावकमा काँग्रेस सांसदहरु डाक्टर मिनेन्द्र रिजाल र पुष्पा भुषाल छन् भने राजपाबाट अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव रहेका छन् । 

नियमावली अनुसार बैठक सुरु हुनुभन्दा दुई घण्टा अघि संसद सचिवालयलाई जानकारी गराउनुपर्ने भएकाले विहान ११ बजे प्रस्ताव दर्ता गराइएको काँग्रेस सांसद रिजालले जानकारी दिए। प्रतिनिधिसभा बैठक अहिले १ बजेलाई बोलाइएको छ । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.