सेल्फी अनिवार्य गरेपछि सुध्रियो पढाई

|

एजेन्सी : अचेल मोबाइलबाट सेल्फी लिनु फेसन बनेको छ। मानवीय संवदेनशीलता भुलेर जहाँ पनि सेल्फी लिने प्रवृत्ति बढेको छ। युवाहरुमा त यसको क्रेजले ज्यानै लिएका घटना पनि छन्। सेल्फीको दुरुपयोग बढिरहेका बेला भारतमा भने विद्यालयमा उपस्थित भएको प्रमाण सेल्फीबाट दिनुपर्ने व्यवस्था गरिएको छ।

उत्तर प्रदेशको बाराबङ्की जिल्लास्थित प्राथमिक विद्यालयका शिक्षक शिक्षिकाको हाजिरी लिने नयाँ तरिका खोजिएको हो। शिक्षक शिक्षिकालाई बिहान ८ बजे विद्यालयमा पुग्न भनिएको छ।

८ बजेभित्र विद्यालय पुगेर मात्रै हुन्‍न, उनीहरुले त्यहाँका कर्मचारी र छात्र छात्रासँग सेल्फी लिनुपर्ने नियम बनाइएको छ। त्यसपछि उक्त सेल्फी आधारभूत शिक्षा विभागको ह्वाट्सएप ग्रुपमा पठाउनुपर्नेछ। त्यसपछि मात्र पढाई र अन्य काम सुरु गर्न पाइन्छ।

उक्त व्यवस्थाको पालना नगरी अनुपस्थित हुने शिक्षक शिक्षिकाको एक दिनको तलब काटिनेछ। जिल्लाका आधारभूत शिक्षा अधिकारी बिपी सिंहले बीबीसीलाई बताए अनुसार धेरै शिक्षक शिक्षिका समयभित्रै विद्यालय नपुगी विदामा बस्‍ने गरेको गुनासो बढेपछि गत वैशाखमा नयाँ शैक्षिक सत्र सुरु भएदेखि यो कदम उठाइएको हो।

बाराबंकीमा सरकारी प्राथमिक र निम्न माध्यमिक विद्यालयमा झण्डै साढे ७ हजार शिक्षक शिक्षिका छन्। ती सबैका लागि सेल्फीवाला नयाँ नियम लागू गरिएको छ। यो नयाँ व्यवस्थालाई 'सेल्फी एटेन्डेन्स मिटर” नाम दिइएको छ। धेरैजसो अध्यापकहरुले यो व्यवस्थालाई उचित भनेका छन्। केहीले यसप्रति आपत्तिसमेत जनाएको बिबिसीले जनाएको छ। 

नियम कति प्रभावकारी

बंकीको कन्या जुनियर स्कुलकी प्रधानाध्यापक सुशीला शर्मा यस नियमको समर्थन गर्छिन। तर समयमै विद्यालय नआउने शिक्षक निक्कै कम रहेको बताउँदै उनले उनीहरुले पनि सेल्फी एटेन्डेन्सलाई खासै वास्ता गरेको नपाइएको बताइन्। बाराबंकी जिल्लामा यो व्यवस्था लागू गर्ने विचार त्यहाँकी मुख्य विकास अधिकारी मेधा रुपमले गरेकी हुन्। 

नयाँ व्यवस्थाबाट लाभ ?

सिडियो मेधा रुपमा भन्छिन्, 'सेल्फी एटेन्डेन्सको निगरानीका लागि हामीले एउटा छुट्टै सेल स्थापना गरेका छौं। मैले यसको मूल्याङ्कन गरिरहेकी छु। मेरो विभागबाट पनि केही मानिस उक्त सेलमा आबद्ध छन्। कसैलाई समस्या पर्यो भने विभागको एप ग्रुपमा पोस्ट गरिहाल्छन्।' 

बिएसए बिपी सिंह गत मे १६ देखि यो व्यवस्था लागू भएपछि विद्यालयमा शिक्षक शिक्षिकाको उपस्थित बढेको बताउँछन्। उनले विद्यार्थीहरुको उपस्थिति समेत बढेको बताए। तर यो व्यवस्थाको विरोधमा शिक्षक शिक्षिकाले प्रदर्शन पनि गरेका थिए। 

चाख लाग्दो कुरा त के हो भने, पछिल्ला दिनमा राज्यका आधारभूत शिक्षामन्त्री अनुपमा जैसवालले शिक्षकहरुलाई विद्यालयमा एन्ड्रोइड फोन र विशेषगरी सामाजिक सञ्जालको प्रयोगमाथि कडा रोक लगाउन भनेका थिए।

तर यता सेल्फीवाला हाजिरी व्यवस्था लागू भयो। बिएसए सिंह सामाजिक सञ्जालमा व्यस्त नहुन र बालबालिकाको पढाईमा ध्यान दिन, सेल्फी लिएर एपमा राखेपछि शिक्षकहरुलाई आफ्नो फोन बन्द राख्‍न या घण्टी नबज्‍ने गरि राख्‍न डाटा बन्द गर्न भनिएको बताउँछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.