|

काठमाडौं : सन् २०२२ को कतार विश्वकपको दोश्रो चरणको एसियाली छनोटमा नेपाल समूह 'बी' मा परेको छ। नेपाल रहेको समूहमा विश्वकपमा पाँच पटकको सहभागी अष्ट्रेलिया, जोडर्न, चाइनिज ताइपेइ र कुवेत रहेका छन्।

नेपालले आफू रहेको समूहको अष्ट्रेलियाबाहेक अन्य टोलीसँग यसअघि पनि प्रतिस्पर्धा गरिसकेको छ। दोस्रो चरणका छनोटका खेलहरू डबल राउन्ड रोबिन पद्धतिमा घरेलु र अबे टोलीको मैदानमा खेलिनेछ।

दोस्रो चरणका खेल  ५ सेप्टेम्बर २०१९ देखि जुन २०२० सम्म हुनेछ। नेपालले एसियाको शीर्ष ३४ स्थानभित्र परेपछि सिधै दोस्रो चरणका लागि छनोट भएको थियो।

समूह चरणबाट कुल १२ टोली विश्वकप छनोटको अन्तिम चरणका लागि छनोट हुनेछन्। ८ समूहका विजेता र ४ उत्कृष्ट उपविजेताले सन् २०२३ मा हुने चीनमा हुने एसियन कपमा पनि स्थान पक्का गर्नेछन्। अन्तिम छनोटका ४ उत्कृष्ट टोलीले विश्वकपमा स्थान बनाउनेछन भने पाँचौ टोलीले अन्तर महादेशीय प्लेअफमा प्रतिस्पर्धा गर्नुपर्नेछ।

रसिया  विश्वकप छनोटको प्रारम्भिक चरणबाट नै नेपाल बाहिरिएको थियो। प्लेअफको पहिलो लेगमा २–० ले पराजित नेपालले दोश्रो लेग गोल रहित बराबरी खेलेको थियो। 

सन् १९७० मा फिफाको सदस्यता पाएको नेपालले सन् १९८६ मा पहिलो पटक विश्वकप छनोट खेलेको थियो। ३३ वर्षे छनोट इतिहासमा ३० खेलमा सहभागिता जनाएको नेपालले सन २००२ को छनोटमा मकाउ र २०१४ मा इस्ट टिमोरविरुद्ध मात्र जित निकाल्न सकेको छ। अन्तिम खेल तालिका केही समयपछि सार्वजनिक गरिनेछ।

कुन टिमविरुद्ध कस्तो प्रदर्शन

समूहको सबैभन्दा कमजोर टोलीको रूपमा नेपाललाई हेरिएको छ। वरीयताक्रममा समेत नेपाल अन्य ४ टोलीभन्दा कमजोर छ। हालसम्म सबैभन्दा उत्कृष्ट नतिजाको रूपमा २०१४ को विश्वकप छनोटमा दोश्रो चरण प्रवेश रहेको छ।

सन् २०१४ को विश्वकप छनोटको क्रममा इस्ट टिमोरलाई ७–१ गोल अन्तरले हराउँदै नेपालले पछिल्लो पटक दोश्रो चरण खेलेको थियो।

चाइनिज ताइपेइ : नेपाल र चाइनिज ताइपेइबीच दोश्रो पटक प्रतिस्पर्धा हुनेछ। यसअघि  गत जुनमा अविशेक रिजालको गोलको मद्दतले नेपालले ताइपेइविरुद्ध १–१ गोलको बराबरी खेलेको थियो।

जोर्डन : नेपाल र जोर्डनबीच हालसम्म २ पटक प्रतिस्पर्धा भइसकेको छ। यसअघि २०१४ को ब्राजिल विश्वकपको छनोटको दोश्रो चरणमा जोर्डनसँग प्रतिस्पर्धा गरेको थियो। जस्मा बलियो प्रतिद्वन्द्वी जोर्डनसँग १०–१ गोल अन्तरले पराजित भएको थियो। जोर्डनको होम ग्राउन्डमा ९–० ले हारेको नेपाल दशरथ रंगशालामा भएको खेलमा भरत खवासको गोलको मद्दतले १–१ को बराबरी गर्न सफल भएको थियो।

कुवेत : नेपाल र कुवेत पुरानो प्रतिद्वन्द्वी हुन्। ३७ वर्षको अवधीमा यी २ टोलीबीच ६ प्रतिस्पर्धा भएका छन्। जस्मा कुवेतले ५ खेल जित्दा १ खेल बराबरी खेल्यो। पछिल्लो पटक गत मार्चमा २ मैत्रीपूर्ण खेलमा एक हार र एक बराबरीको नतिजा नेपालले निकालेको थियो।

अष्ट्रेलिया : एसियाको बलियो टोली अष्ट्रेलिया र नेपाल पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन्। अष्ट्रेलियाले ५ पटकको विश्वकपमा सहभागिता जनाइसकेको छ। १९७४ को जर्मनी विश्वकपमा पहिलो पटक सहभागिता जनाइसकेको टोलीले सन् २००६ यताका ४ वटै विश्वकपमा सहभागिता जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.