आत्मरक्षाका लागि बमको जरुरत !

|

काठमाडौं : नेत्रविवक्रम चन्द विप्लव नेतृत्वको नेकपा कार्यकर्ता एकपछि अर्को दुर्घटनामा पर्न थालेका छन्। राज्यविरुद्ध हतियार नउठाएको दाबी गर्ने विप्लवका कार्यकर्ताले बोकेका विस्फोटका पदार्थका कारण सर्वसाधरणले पनि ज्यान गुमाउनु परेको छ। 

ललितपुरको नख्खुस्थित एनसेलको कार्यालयमा गत १० फागुनको साँझ विप्लवका कार्यकर्ताले घातक बमको प्रयोग गरी विस्फोट गराउँद एक सर्वसाधारणले ज्यान गुमाए। त्यही दिनदेखि नेपालमा फेरि विस्फोटको श्रृंखला सुरु भएको छ।

लमजुङका ४९ वर्षीय सिंहप्रसाद गुरुङको ज्यान जानेगरी भएको उक्त विस्फोटको जिम्मेवारी हाल नख्खु जेलमा रहेका विप्लवका समिति सदस्य हेमन्तप्रकाश ओलीले फागुन १२ गते लिए। एनसेलको टावरमा विस्फोट हुँदा एनसेलको कार्यालयअगाडि हिँडिरहेका गुरुङको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ज्यान गयो।

उक्त घटनामा घाइतेमध्ये काभ्रेकी २५ वर्षीया उरुषा मानन्धरको सर्जरीपछि ठीक भएकी छन्। अर्की घाइते बाग्डोलकी २६ वर्षीया प्रतिक्षा खड्काको पनि मेडिसिटीमै उपचार गरियो। उक्त घटनामा रिमोट कन्ट्रोल सिस्टमको कुकर बमको प्रयोग विप्लवका कार्यकर्ताले प्रयोग गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो। 

प्रतिबन्धपछि झन् उग्र

नख्खु घटनापछि रिसाएका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव समूहलाई फागुन २८ गतेको निर्णयानुसार प्रतिबन्ध लगाउने घोषणा गर्‍यो। सरकारको प्रतिबन्धपछि लगभग भूमिगत अवस्थामा रहेको विप्लवका कार्यकर्ता ठाउँठाउँबाट हतियारसहित पक्राउ परे। 

सरकारले प्रतिबन्ध लगाउनुअघि कपिलवस्तुको शिवराज नगरपालिका-९ शिवगढीस्थित महासचिव विप्लवको गाउँमा दुवै प्रहरी मिलेर सर्च अप्रेशन चलाए। त्यसक्रममा गाउँले प्रहरीविरुद्ध प्रतिकारमा उत्रिएपछि त्यहाँ तनावको अवस्था आयो। प्रहरीले त्यसबेला विप्लवका भतिजा यादव चन्दको घरबाट हतियार बरामद भएको पनि दाबी गरेको थियो। 

हतियार बरामदको श्रृंखला

प्रहरीले विशेष सर्च अप्रेशन चलाउने क्रममा विप्लवको घरबाट नेपाली सेनाले मात्रै चलाउने दुई थान एसएमजी बरामद भएको जनायो। त्यसबेला जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरीका प्रवक्ता रविराज खनालले विप्लवका नातेदार यादव चन्दको घरबाट एसएमजी २ थान, त्यसमा लाग्ने गोली ६८ राउण्ड, म्यागजिन ३ थान, ५४ टाइप पेस्तोल एक थान, म्यागजिन एक थान, गोली ३ राउण्ड, ५.५६ क्यालिभरको राउण्ड १ सय ३१ थान, अर्को म्यागजिन १ थान र विभिन्‍न तार र फलामका नट १ बोरा (२५ किलो) बरामद भएको बताएका थिए।

कपिलवस्तुको शिवगढीबाट बरामद भएका हतियार


त्यसबेला प्रहरीको सर्च अप्रेशनका क्रममा एकजनामाथि गोलीसमेत हानियो। हतियार बरामद भएपछि पक्राउ गर्न खोज्दा भागेका स्थानीय दुर्गाबहादुर रोकाको बायाँ खुट्टामा प्रहरीले गोली हानेको थियो। त्यसक्रममा प्रहरीमाथि स्थानीयबासीले ढुंगामुडा पनि गरेका थिए। स्थानीयबासीले प्रहरीमाथि ढुंगा हान्दा प्रहरी जवान अमर वली र पुतली चौधरी घाइते भए। 

सुनसरीबाट अत्याधुनिक हतियार

सुनसरीमा २०७५ फागुन १६ गते नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका एक कार्यकर्ता नेपाली सेनाले प्रयोग गर्दै आएको अत्याधुनिक हतियारसहित पक्राउ परे। पक्राउ पर्नेमा मोरङको केराबारी गाउँपालिका-१० बाहुनीका ४२ वर्षीय संगीत उपनामका देवकुमार लिम्बू थिए।

धरान उपमहानगरपालिका-६ पानबारी सुनसरी प्रहरीको टोलीले लिम्बूको साथबाट गोली नभरिएका एलएमजी र एम-१६ हतियार बरामद भएको थियो।

एलएमजी हतियार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको विशेष कार्यदलले प्रयोग गर्दै आएको छ। अमेरिकामा बनेको एम-१६ नेपाली सेनाले मात्रै प्रयोग गर्छ।

प्रदेश-१ का तत्कालीन प्रहरी प्रमुख केदार रिजालले बरामद दुवै हतियार ‘अटोमेटिक’ मेसिन गन भएको बताएका थिए। धरानबाट मोरङको केराबारी जाँदै गर्दा मे ५ प ७५ नम्बरको मोटरसाइकल जाँच गर्न रोक्दा लिम्बू भागेपछि प्रहरीले पछ्याएर  पक्राउ गरेको थियो। ती हतियार जनयुद्धका क्रममा माओवादी लडाकुले नेपाली सेनाको व्यारेक आक्रमणका क्रममा खोसेको अनुमान प्रहरील गरेको थियो।

अनि विस्फोट

एकीकृत जनवादी क्रान्तिको नारासहित भूमिगत अवस्थामा रहेका विप्लवका कुनै पनि नेताले हतियारबद्ध गतिविधि गरेको स्वीकार्दैनन्। स्वयं विप्लवले सञ्चारमाध्यमलाई भनेका छन्, 'हामीले हतियारबद्ध संघर्ष थालेकै छैन। तर, राज्यले हामीलाई त्यस दिशामा जान बाध्य पारिरहेको छ।' तर, उनको यो भनाइको पछिल्लो समय उनकै कार्यकर्ताले देखाएको व्यवहारले भने खण्डन गरिरहेको छ। 

राजधानीमै विस्फोट

जेठ १३ गतेका लागि आह्वान गरिएको बन्दकै अघिल्लो दिन राजधानीका तीन ठाउँमा विस्फोटका घटना भए। महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी उत्तम सुवेदीले ती तीनै घटना विप्लवकै कार्यकर्ताका कारण भएका हुन्। 

राजधानीको सुकेधारा, घट्टेकुलो र थानकोटमा बम विस्फोट हुँदा पाँचजनाको ज्यान गयो। मारिनेमध्ये चारजना विप्लवकै कार्यकर्ता थिए। सुकेघारास्थित शैलुन र घट्टेकुलोस्थित एउटा घरको कोठामा विस्फोट भएको थियो। ती दुवै घटनामा विप्लवका कार्यकर्ताको गम्भीर कमजोरी र लापरबाही भेटिएको थियो। घट्टेकुलो र सुकेधारमा भोलिपल्टको बन्दका लागि लक्षित गर्दै टाइम बम बनाउने क्रममा अचानक विस्फोट भएका थिए। 

सुनसरीमा बरामद भएको एम-१६ र एलएमजी राइफल


त्यसैगरी, थानकोटमा मोटरसाइकलमा बम बोकेर हिँड्ने क्रममा पड्किएर जेठ १२ गते राति विप्लवका दुई कार्यकर्ता घाइते भएका थिए। विस्फोटमा परेकामध्ये एक सुरेन्द्र महर्जनल विप्लव नेतृत्वको नेवाः मुक्ति मोर्चाका अध्यक्ष थिए। बम बनाउने क्रममा विस्फोट भएको उनले बताएका थिए। सुकेधारामा उनीसहित हरि खड्का, शिव र लडाकू महावीर बनाउन जुटेका थिए।

घट्टेकुलोमा भएको विष्फोटमा प्रज्वल शाहीको मृत्यु भयो। विप्लवका कार्यकर्ता रविन केसी घाइते भए। केसी विप्लव समूहनिकट विद्यार्थी संगठनको त्रिचन्द्र कलेजका इकाई अध्यक्ष थिए। 

बम र हतियारको श्रृंखला

भोजपुरमा असार २५ मा भएको गोली हानाहानका क्रममा एकजना प्रहरी सञ्जीव राई र विप्लवका ओखलढुंगा इन्चार्ज नीरकुमार राई 'प्रशान्त' मारिए। त्यसक्रममा विप्लवका ओखलढुंगा सेक्रेटरी प्रशान्तले पहिले गोली चलाएको दाबी प्रहरीको छ। उक्त घटनापछि प्रहरीले घटनास्थलबाट चाइनिज पिस्तोल बरामद गरेको जनाएको छ। 

काठमाडौंमा श्रृंखलावद्ध विस्फोटपछि भोलिपल्ट गरिएको बन्दका क्रममा पनि बम आतंक रोकिएन। प्रहरी प्रधान कार्यालयका अनुसार बन्दका क्रममा पाँच स्थानमा विस्फोट भयो। त्यसैगरी १२ स्थानमा राखिएका बम सेनाले निष्कृय बनायो। बन्दका क्रमा २३ ठाउँमा शंकास्पद वस्तु भेटिए। त्यही क्रममा विभिन्‍न १२ जना विप्लवका कार्यकर्तालाई प्रहरीले पक्रियो।

बिहीबार साँझ मात्रै धनगढीमा भएको विस्फोटपछि घटनास्थलबाट गोलीसहितको एकथान चाइनजि पिस्तोल बरामद भएको दाबी प्रहरीले गरेको छ। उक्त पिस्तोल मृतक राकेश या अर्का घाइते कसले बोकेको भन्‍ने खुलेको छैन। 

धनगढीमा विस्फोट

यसैबीच काठमाडौंकै शैलीमा बिहीबार साँझ सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा बम विस्फोट भयो। उक्त विस्फोटको जिम्मा विज्ञप्ति निकालेर नेपाल कम्युनिस्ट पार्टीका सेती-महाकाली व्युरो इन्चार्ज निर्माणले लिए। 

उनले बिहीबार साँझ कैलालीको धनगढी उप-महानगरपालिका शहीद गेट नजिकै पार्टी कामको शिलशिलामा आत्म सुरक्षाका लागि बोकेको विस्फोटक पदार्थ विस्फोट हुँदा आफ्ना कार्यकर्ता रामबहादुर सिंह ‘राजेश’मारिएको स्वीकारे। रामबहादुरको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

धनगढीको विस्फोटस्थलमा बरामद भएको भनिएको पिस्तोल


यो घटनामा घाइते भएका कञ्चनपुरको बेलौरी-५ का लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव र केशवराज पाण्डेको स्थानीय माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले सेरला पनि विप्लव समूहकै कार्यकर्ता भएको आशंका गरेको छ। विप्लव समूहले उनीबारे केही बोलेको छैन। 

कहाँबाट आयो हतियार? 

संखुवासभाको सिलिचोङ गाउँपालिका-१ होयङ्लामा असार १६ गते बिहान विप्लवका कार्यकर्ता र प्रहरीबच गोली हानाहान भयो। कुनै हताहती नभए पनि स्थानीयका अनुसार युद्धकै जस्तै त्यहाँ गोली चलेको थियो। 

त्यसक्रममा असार १८ गते सर्च अप्रेशनमा रहेको प्रहरीले एकथान एसएलआरसहित ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-७ निवासी नेत्रविक्रम चन्द नेतृत्वको नेकपा कार्यकर्ता निम दोर्जी तामाङलाई प्रहरीले पक्राउ गर्‍यो।

तामाङसहितको टोलीले असार १६ गते बिहान होयङ्लामा जिल्ला प्रहरी कार्यालय संखुसभाबाट गस्तीमा खटिएको प्रहरी टोलीलाई लक्षित गरी गोली हानेको दाबी प्रहरीको छ। तर विप्लवले भने बास बसेकै ठाउँमा आएर प्रहरीले गोली चलाएको दाबी गरेको छ। 

प्रहरीले सर्च अप्रेशनका क्रममा तामाङलाई असार १७ गते १ थान एसएलआर, ६५ राउण्ड गोली, १ थान म्यागजिन, १३ थान खोका र एलएमजी राइफलको २० राउण्ड गोलीसहित पक्राउ थियो। प्रहरीले त्यसक्रममा विस्फोट गराउन प्रयोग गरिने रातो रंगको ३४ फिट लामो डेडकर्ड पनि बरामद भएको जनाएको छ। 

विप्लवका कार्यकर्ताबाट र विभिन्‍न स्थानबाट बरामद भएका हतियारमध्ये केही जनयुद्धका क्रममा माओवादीले प्रयोग गरेका पुष्टि भएको प्रहरी अधिकारिहरु बताउँछन्। 'कपिलवस्तु र सुनसरीबाट बरामद भएका आधुनिक हतियार हिजो माओवादीले प्रयोग गरेका हाम्राो अनुसन्धानबाट खुलेको छ', एक प्रहरी अधिकारी भन्छन्, 'तीमध्ये केही हतियार नेपाली सेनाबाट खोसेको पाइएको छ। अन्य सानातिना हतियार कहाँबाट भित्रिन्छन्? हामीले अनुसन्धान अघि बढाएका छौँ।'

बमले आत्मरक्षा? 

धनगढी विस्फोटपछि विप्लवका सेती-महाकाली इन्चार्जले निकालेको विज्ञप्तिमा आत्मरक्षाका लागि आफ्ना कार्यकर्ताले बम बोकेको दाबी गरिएको छ। पछिल्लो समय अत्यन्तै खतरनाक मानिने टाइम बममा विप्लवका कार्यकर्ता खेल्न थालेको पुष्टि काठमाडौंमा भएका विस्फोटले गरिसकेको छ। 

धनगढीमा टिफिन बम विस्फोट भएको बताइएको छ। तर उक्त बम पनि रिमोट कन्ट्रोलबाट चल्ने गरी बनाइएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ। विप्लवका पोलिटब्युरो सदस्य अनिल शर्मा 'विरही' केही दिनअघि थाहाखबरसँगको कुराकानीमा आफ्ना कार्यकर्ता निःसशस्त्र रहेको दाबी गरेका थिए। उनले भोजपुरमा प्रशान्त र सर्लाहीमा कुमार पौडेल पनि निःसश्त्र अवस्थामा मारिएको दाबी गरेका थिए। 

तर, प्रहरीले भने फरक दाबी गरिरहेको छ। भोजपुरमा र सर्लाही दुवै घटनास्थलबाट चाइनिज पिस्तोल बरामद भएको दाबी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र गृहमन्त्री रामबहादुर थापाले गरिसकेका छन्।

धनगढीमा बिहीबार साँझ बम विस्फोट भएको स्थान


धनगढी घटनाबारे विप्लवको विज्ञप्ती (रातो घेरमा बम बोकेको स्वीकार)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.