|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध जारी राख्ने भएको छ। संसदमा जारी गतिरोध अन्त्यका लागि सभामुख ओनसरी घर्तीमगरले सोमबार बोलाएको प्रमुख ७ दलको बैठकमा एमालेले विधेयक फिर्ता नलिएसम्म सदन नखोल्ने अडान दोहोर्‍याएको हो।

बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले उपध्यक्ष भीम रावलले 'राष्ट्रिय स्वाधिनता र अखण्डता विरुद्धको प्रस्ताव फिर्ता नभएसम्म संसद नखोल्ने' बताए।

'सभामुखले सहमतिका लागि पुनः आग्रह गर्नुभयो। दलहरुबीच एकता र सहमति कायम हुँदा वाञ्छनीय हुन्छ भन्ने उहाँको भनाई थियो। सरकारका तर्फबाट प्रधानमन्त्रीले प्याकेज डिलमा जाउँ भन्ने प्रस्ताव राख्नुभयो। शेरबहादुर देउवाले संविधान संशोधन विधेयकको औचित्यबारे प्रकाश पार्नुभयो', उपाध्यक्ष रावलले भने।

एमाले प्रतिक्रिया

एमालेले संक्रमणकाल व्यवस्थापनका लागि गठन भएको सरकार निर्वाचन गर्ने मुख्य कार्यभार छोडेर संशोधनमा अल्झिएको आरोप लगाएको छ।  

'यो सरकार संक्रमणकाल व्यवस्थापनका लागि गठन भएको हो। संविधान कार्यान्वयनका लागि निर्वाचन गर्ने अधिकार सरकारसँग छ। तर सरकार निर्वाचन छोडेर संविधान संशोधनतिर लागिरहेको छ। सरकारले निर्वाचनमा जाने वातावरण बनाओस्', रावलले बैठकमा एमालेको जवाफ उद्‍धृत गर्दै भने 'सरकारले ल्याएको संशोधन प्रस्ताव स्वाधिनता र स्वतन्त्रतामा आँच आउने किसिमको छ। हाम्रो अडान संविधान संशोधनको औचित्य छैन भन्ने नै हो। संविधान संशोधन जसरी पनि गर्ने हो भने जनताको बिचमा जाउँ, निर्वाचन गरौँ र त्यसबाट जुन दलले जे म्यान्डेट लिएर आउँछन्, आआफ्नो हैसियत बनाउँछन्। त्यसपछि संशोधन गरे भैहाल्यो नि।'

प्याकेज डिल

उपाध्यक्ष रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्याकेज डिल गर्न प्रस्ताव गरेको बताए। 'प्रमले प्याकेज डिल गरौँ भन्नुभयो', रावलले भने, 'हामीबीच वार्ता सुरु भएको छ। अर्को बैठकमा प्याकजेमा डिल गर्ने सहमति सहित आजको बैठक सकिएको छ।'

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसकेन्द्रित दलको चित्त नबुझाएसम्म निर्वाचनको वातावरण नबन्ने बताएका थिए। 'चुनावको वातावरण बनाउन संविधान संशोधन अघि बढाउनुपर्ने उहाँको भनाई छ', कांग्रेस महामन्त्री शशांक कोइरालाले भने।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली भने उपस्थित थिएनन्।

संसद बैठक मंगलबार बस्दैछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.