|

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठमध्येको एक हो शैलेश्वरी। सात बहिनी भगवतीमध्ये शैलेश्वरी भगवतीको मन्दिर डोटीको दिपायल सिलगढी नगरपालिका–६ मा अवस्थित छ। यहाँ दिनहुँजसो पूजाआजा गर्नेको बाक्लो घुँइचो लाग्छ।

शैलेश्वरीमा प्रत्येक १२ वर्षमा लख्यहोम तथा १ सय ४४ वर्षमा कोटीहवन महायज्ञ लाग्ने गर्दछ, भने मन्दिरमा नित्य पूजा हुने गर्दछ। प्यागोडा शैलीमा निर्मित यो मन्दिर कलात्मक र आकर्षक छ। शैलेश्वरी परिसरमा अन्य सात वटा मन्दिरहरु पनि छन्। जसमा हनुमान कुण्ड, शिव मन्दिर, गणेश मन्दिर, भैरव मन्दिर, मष्टा मन्दिर र चण्डेश्वरी मन्दिर छन्।

यो  मन्दिरमा  प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन ठूलो मेला लाग्ने गर्दछ। स्थानीय पञ्चेबाजा र आफ्नै मौलिक विशेषतासहित यहाँ भव्य मेला लाग्ने गर्दछ।

यहाँ पूजा गरे मनोकामना पूरा हुने विश्वास रहेको शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष तथा पुजारी प्रेमशंकर भट्टले जानकारी दिए। शैलेश्वरीको मेला भर्न सुदूरपश्चिम क्षेत्रका प्रायः नौ वटै जिल्लाका साथै काठमाडौं र भारतबाट समेत हजारौं दर्शनार्थी आउने गर्दछन्।

शास्त्रमा उल्लेख भएअनुसार महादेव र पार्वतीको स्वयंवर भएपश्चात् विहार गर्ने  क्रममा वनमा सयर गर्दै चन्दनगिरि पर्वत अर्थात् सिलगढीमा पुग्दा प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्वत देखियो। शिवपार्वती यहाँ मोहित भए र प्रणयमा रमाउन थाले। यही बेला राक्षस तारकासुरले देवलोक तथा पृथ्वीलोकमा आतंक मच्चाउँदै थिए।

आतंकबाट जोगिन पीडित ऋषिमुनि तथा देवता महादेवको खोजी गर्दै चन्दनगिरि (सिलगढी) आइपुगे। त्यस बेला शिवपार्वती एकाकार भइ प्रणयमा लीन थिए। सोही बेला एकाएक ऋषिमुनि तथा देउता आएपछि पार्वती लाजले शिलामा लुप्त भइन्। पार्वती शिलामा परिणत भएकाले जसको नाम शिलादेवी तथा शैलमा शयर गरेकाले शैलेश्वरी रहन गयो। यसैको नामबाट सो ठाउँको नाम पनि सिलगढी रहन गएको किम्बदन्ती छ।

भगवान शिव र माता पार्वतीले आफ्नो विवाहपश्चात मधुचन्द्रिकाका निम्ति डोटी जिल्लामा अवस्थित रमणीय चन्द्रागिरी पर्वत हालको सिलगढीलाई रोजेको बताइन्छ।

ब्रम्हा, विष्णुलगायत विभिन्न देवता भगवान् शिवको खोजी गर्दै यहाँ आइ पुग्दा माता पार्वतीले देवतालाई देखेर लज्जा स्वरुप विलिन हुँदा शिला बनेको हुनाले त्यसै बेलादेखि यसलाई शिलादेवी अर्थात् शैलेश्वरी देवी भनेर भनिएको बताइन्छ। शिव र पार्वतीले शयल खेल्न आएको हुँदा शयलगढी हुँदै पछि आएर सिलगढी भन्न थालिएको एकथरीको भनाइ पनि रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.