|

उदयपुर : खाद्यन्न अभाव हुँदै गएपछि उदयपुरको दुई गाँउपालिकामा हेलिकप्टरबाट खाद्यान्न ढुवानी हुने भएको छ। अविरल वर्षाका कारण सडक यातायात अवरुद्ध भएपछि पहाडी क्षेत्रका दुई गाँउपालिकामा १७ मेट्रिकटनभन्दा बढी चामल लगायतका खाद्यान्न हेटिकप्टरबाट ढुवानी गर्न लागिएको हो।

जिल्ला प्रशासन कार्यालय उदयपुरका अनुसार लिम्चुङबुङ र ताप्ली गाँउपालिकामा १५ मेट्रिकटन चामलसहित विभिन्न उपभोग्य वस्तु ढुवानी गर्ने सरकारी प्रक्रिया अघि बढाइएको छ। ‘गत बैशाख, जेठ र असार मसान्तसम्म लामो खडेरीले त्यस क्षेत्रमा मकै उत्पादन समेत भएन,’ उदयपुरका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले भने, ‘गत असार अन्तिममा गएको बाढीपहिरोले ग्रामीण सडक पनि तहसनहस भएपछि हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी गर्ने तयारी सुरु गरेका हौं।’

प्रजिअ खड्का अनुसार दुई गाँउपालिकालाई १५ दिनका लागि १५ मेट्रिकटन ६२ किलोग्राम चामल ढुवानी गर्ने तयारी छ। ‘स्थानीय तह, प्रदेश र संघीय सरकारको पहलमा हेटिकप्टरबाट त्यस क्षेत्रमा खाद्यान्न पठाउने प्रक्रिया अघि बढाएका छौ,’ उनले भने, ‘अवरुद्ध भएका सडकलाई पनि मर्मसम्भार एकसाथ लान विभिन्न कामहरु सुरु गरेका छांै।’

प्रशासन कार्यालयका अनुसार खाद्यान्न संकटग्रस्त रहेको लिम्चुङबुङमा नौ मेट्रिकटन २०४ केजी चामल, दाल, तेल र नुन ९ क्विन्टल २१ केजीका दरले ढुवानी गर्न गाँउपालिकाकाले माग गरेको छ। यसैगरी ताप्ली गाँउपालिकामा ५ मेट्रिकटन ५८ केजी चामलसहित दाल, तेल र नुन ९ क्विन्टल २१ केजीका दरले ढुवानी गर्न ताप्ली गाँउपालिकाकाले माग गरेको प्रमुख जिल्ला अधिकारी खड्काको भनाइ छ। प्रजिअ खड्काका अनुसार हेलिकप्टरको लागि गृहमन्त्रालयमा माग गर्न तयारीमा भइरहेको छ।

जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्ग परियारले उच्च पहाडी क्षेत्रमा पर्ने दुई गाउँपालिकामा खडेरीले बर्खामा उत्पादन हुने मकै समेत सखाप भएको र गाईघाट र कटारी बजारसँग सिधा सम्पर्क जोड्ने सडक पनि बाढीपहिराले क्षति पुगी अवरुद्ध भएकाले हेटिकप्टरबाट ढुवानी गर्ने तयारी गरेको बताए। ‘दुई गाउँपालिकामा खाद्यन्न संकट आइपरेपछि हामीले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र संघीय सरकारका रक्षामन्त्रीलाई समेत सहयोग मागेका छौं,’ उनले भने, ‘अवरुद्ध सडक मर्मत गर्न एक महिनाभन्दा बढी लाग्ने भएकाले हेलिकप्टरबाट खाद्यान्न ढुवानी गर्ने तयारीमा छौं।’

लिम्चुङबुङ र तााप्ली गाउँपालिका पूर्णरुपले सडकविच्छेद भएपछि त्यस भेगमा खाद्यान्नको अभाव भएको छ। गाउँमा खाद्यान्न तथा उपभोग्य सामग्री ढुवानी नभएकाले दुर्गम गाउँका बासिन्दाहरु भोकै पर्ने अवस्था आएकाले तत्काल हेलिकेप्टरबाट भए पनि ढुवानी तयारी गरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उदयपुरका अध्यक्ष विनोद कटुवालले बताए। 

ताप्ली गाँउपालिकाका अध्यक्ष उद्धवसिंह थापाले गाउँपालिकाले खाद्यान्न खरिद गरी प्रदेश र संघीय सरकारको सहयोगमा हेलिकप्टर ढुवानी गर्ने बताए। ‘स्थानीय सरकारले खाद्यन्न खरिद गर्ने हो,’ उनले भने, ‘प्रदेश र संघीय सरकारको सहयोगमा हेलिकप्टरमार्फत ढुवानी गर्ने हो।’

रौतामाई, उदयपुरगढी गाउँपालिकामा ग्रामीण सडक अवरुद्ध छन्। उद्धार र राहतको काम सुगम क्षेत्रमा मात्र केन्द्रित भएको भन्दै दुर्गमका जनप्रतिनिधिहरुले गुनासो गर्दै आएका छन्। सडक अवरुद्ध भन्दै राहतदाताहरु दुर्गममा पुग्न सकेका छैनन् भने पीडितहरु राहत माग्न सदरमुकामसम्म आउन नसक्ने अवस्था छ।

उदयपुरमा बाढीपहिरोका कारण तीन जनाको मृत्यु, ३१ घर पूर्ण क्षति, ६८ घर अत्ति जोखिममा र एक हजार ५७६ घरपरिवार प्रभावित रहेको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.