|

चितवन : पूर्वेली समाज चितवनले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक सहयोग गरेको छ। भरतपुरमा एक कार्यक्रम गरी समाजले संकलन गरेको २२ लाख ३५ हजार ५ सय ५५ रुपैयाँ धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल 'धुर्मुस'लाई हस्तान्तरण गरेको हो।

पूर्वेली समाजले संस्थागत रुपमा ५ लाख, डा. तिलचन्द्र भट्टराई र सारदा थपलियाका तर्फबाट १० लाख, कुमार डाँगी ५ लाख, भरतपुर महानगरपालिका वडा न १२ का अध्यक्ष एवं समाजका सल्लाहकार नरेन्द्र कन्दंवाले १ लाख ३५ हजार र शिव घिमिरेले १ लाख ५ सय ५५ रुपैयाँ गरी छुट्टाछुट्टै चेक हस्तान्तरण गरेको थियो।

पूर्वी नेपालका झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटालगायतका विभिन्न जिल्लाबाट चितवनमा आएर बसोबास गर्ने पूर्वेली समाज चितवनका सदस्य तथा पदाधिकारीबाट रकम संकलन गरी हस्तान्तरण गरिएको समाजका सचिव पदम अर्यालले बताए। राष्ट्रिय गौरवको आयोजना बन्नु खुसीको कुरा भएकाले आगामी दिनमा पनि सहयोगलाई जारी राख्ने समाजका अध्यक्ष डिक बहादुर गुरुङले बताए।

सबै एकैपटक उठ्नुपर्छ

सहयोग रकम हस्तान्तरण कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौरवको आयोजना निर्माण सम्पन्न गर्न सबै एकैपटक उठ्नुपर्ने बताइन्। दाहालले कुनै जिल्ला, स्थानको मात्रै नभई सिंगो राष्ट्रकै गौरवको आयोजना भएकाले पूर्व, पश्चिम जहाँ भए पनि आफूले सकेको सहयोग गर्न सबैलाई आग्रह पनि गरिन्।

फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले सबै नेपाली एकैपटक उठे तोकिएकै समयमा निर्माण सम्पन्न हुने जिकिर गरे । नेपालीले दिल खोलेर सहयोग गर्ने गरेको भन्दै यो परियोजना सम्पन्न गर्न पनि जनस्तरबाट सहयोग आवश्यक रहेको बताए।

प्रदेश सांसद विजय सुवेदीले पूर्वेली समाज चितवनले निर्माण पुनः सुरु भएपछि पहिलो पटक सहयोग हस्तान्तरण गरेर साइत गरेको बताए। उनले पूर्व, पश्चिम, देश विदेश जहाँ रहे पनि राष्ट्रिय गौरवको आयोजना सम्पन्न गराउन सबै एक जुट हुनुपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.