|

पर्वत : पानीको बहाव बढेपछि कालीगण्डकी नदीमा सञ्चालित स्टिमर सेवा बन्द गरिएको छ। पानीको बहाब बढेको समयमा स्टिमर सेवा सञ्चालन गर्दा दुर्घटना हुन सक्ने उच्च जोखिम भएकाले आगामी असोजसम्म बन्द गरिएको हो।

‘अहिले वर्षाको कारण कालीगण्डकी नदीको सतहमा उतारचढाव आएको छ,’ स्टिमर व्यवसायी रवि भट्टराई भन्छन्, ‘यो अवस्थामा स्टिमर चलाउनु निकै जोखिमपूर्ण भएकाले दुई महिनाका लागि बन्द गरेका हौँ।’

स्टिमर बन्द भएपछि यस क्षेत्रका नागरिकहरु मर्कामा परेका छन्। स्टिमर चलेका बेला व्यवसायी र स्थानीयवासीले सस्तोमा सामान ढुवानी गर्ने भए पनि अहलिे खच्चर र भरियामार्पmत सामान ढुवानी गर्नुपर्ने बाध्यता भएको छ। पर्वत, स्याङजा र गुल्मीका बासिन्दाहरूले आवाजावत गर्न र सामान ढुवानी गर्न स्टिमरको प्रयोग गर्ने गरेका छन्। यसअघि गुल्मीको तल्लो भागका बासिन्दाहरू पनि स्टिमर सेवाको भर पर्ने पर्दथे। तर, कालीगण्डकी करिडोर सञ्चालनमा आएपछि यस क्षेत्रका बासिन्दालाई सहज भएको छ। 

स्टिमर सेवा अवरुद्ध हुँदा करिब आधा घण्टामा सकिने यात्रा चार घण्टाको पैदल यात्रा गर्नुपर्ने बाध्यता बनेको छ। कतिपय व्यवसायीले वालिङबाट हुवास हुँदै सामान ल्याउने गरेका छन् भने गुल्मीको अर्बेनीसम्म कालीगण्डकी कोरिडोरमा सवारीका साधन चल्ने भएकाले त्यहाँबाट भरियालाई बोकाएर पनि सामान ल्याउन थालेका छन्।

कालीगण्डकी ए जलविद्युत आयोजनाले बाँधेको बाँधमा बनेको जलाशयमा दैनिक रूपमा ११ ओटा स्टिमर सञ्चालन हुँदै आएका छन्। एउटा स्टिमरमा एकै पटकमा डेढ सय जनासम्मले यात्रा गर्न मिल्छ। दक्षिण पर्वतको विहादी गाउँपालिका–६ मा रहेको शालिग्रामदेखि स्याङजाको मिर्मीसम्म करिब ८ किलोमिटर लम्बाइको दूरीमा स्टिमरहरु चल्दै आएका छन्।

त्यस क्षेत्रका बासिन्दाहरुले सेतीवेणीबाट जलयात्रा सुरु गरी मिर्मीमा पुगेर बसमार्फत गन्तव्यमा पुग्दै आएका छन्। स्टिमर सेवामा २५ जनाले प्रत्यक्ष रूपमा र अन्य दर्जनौँ व्यक्तिहरूले अप्रत्यक्ष रूपमा रोजगारी पाउँदै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.