कपिलवस्तु : कपिलवस्तुमा पछिल्ला वर्षमा डुबेर मृत्यु हुनेमा बालबालिकाको संख्या कहाली लाग्दो देखिएको छ। जिल्लाका विभिन्न नदी, खोला, ताल तलैया, पोखरी र कुलोमा डुबेर मर्नेको संख्या बर्सेनि बढ्दो गएको हो। गत आर्थिक वर्ष २०७५/०७६ मा २० जना बालबालिकाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको तथ्यांकमा उल्लेख छ।
विशेष गरि चैतदेखि साउन महिनामा सबैभन्दा बढी बालबालिका डुबेर मर्ने गरेका छन्। यस्ता घटनामा बालबालिका पर्नुमा अभिभावकको बेवास्ता मुख्य कारण रहेको प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेको भनाइ छ। नदी र पोखरीमै तीन वर्षदेखि १० वर्षका बालबालिका नुहाउन जाँदा घरका अभिभावक बेखबर देखिएको पाण्डे बताए। अभिभावकले आफ्ना साना सन्तानबारे चासो नदेखाउँदा अकालमा बालबालिकाको ज्यान गएको देखिन्छ।
जिल्ला प्रहरी कार्यालयको विगत ३ वर्षको तथ्यांकले पनि यस कुराको पुष्टि हुन्छ। ३ वर्ष यता कपिलवस्तुका विभिन्न स्थानमा गरि ५८ जना बालबालिकाको डुबेर मृत्यु भएको छ। आव २०७३/७४ मा २० जना बालबालिकाको डुबेर मृत्यु भयो भने ०७४/७५ मा १८ जना बालबालिकाले ज्यान गुमाए। आव ०७५/७६ मा पनि २० जना बालबालिकाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्तासमेत रहेको प्रहरी नायव उपरीक्षक पाण्डेले जानकारी दिए।
बालबालिकाबाहेक २८ जना युवक तथा युवतीको डुबेर मृत्यु भएको छ। 'डुबेर मर्नेमा प्राय ३ देखि १० वर्ष मुनिका बालबालिका बढी छन्। त्यसमध्ये पनि बालकको संख्या धेरै छ', पाण्डेले भने। प्रायः अभिभावक बालबालिका बिदाका समय कहाँ जान्छन् भन्ने बारे चासो नदिने, बिदाका समय कहाँ जान्छन्, के गर्दैछन् भन्ने बारे बेवास्ता गर्दा डुबेर मर्ने बालबालिकाको संख्या बढेको उनी बताउछन्।
वर्षा याममा डुबेर मृत्यु हुने घटनामा बालबालिका धेरै पर्नुमा अभिभावकको बेवास्ता मुख्य कारण रहेको स्वयं कतिपय अभिभावक स्वीर्काछन्। वर्षायाममा बालबालिकाको निगरानी गर्नुपर्ने र पानी परिरहेका बेला जोखिमयुक्त काम नगराउनसमेत अभिभावकको आग्रह छ। यसैगरि, प्राचार्य दामोदर पराजुलीले विद्यालय स्तरबाट पनि यसका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम ल्याए अभिभावक तथा विद्यार्थीलाई सचेत बनाए अकालमै थुप्रै बालबालिकाको ज्यान जोगिन सक्ने बताउँछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।