|
फोटो : दीपक केसी/थाहा खबर

काठमाडौं : ताप्लेजुङबाट निर्वाचित नेकपा सांसद योगेश भट्टराईले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको शपथ लिएका छन्। 

भट्टराईलाई शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ दिलाएकी हुन्। मन्त्री योगेशको शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना लगायतका संवैधानिक निकायका प्रमुख उपस्थित थिए।

अनेरास्ववियूका अध्यक्षबाट मूलधारको राजनीतिमा प्रवेश गर्दै ताप्लेजुङ जिल्लाबाट सांसद पदमा निर्वाचित योगेश भट्टराई तत्कालिन एमालेको सचिव र प्रचार विभाग प्रमुख भएर काम गरिसकेका छन् । उनी लोकप्रिय युवा नेतामा पर्छन् ।

निर्वाचन प्रचारमा ताप्लेजुङ पुगेका हालका प्रधानमन्त्री तथा तत्कालिन एमाले अध्यक्ष ओलीले प्रचारसभालाई सम्बोधन गर्दै तपाईंहरु सांसद बनाएर पठाउनु होस हामी योगेशलाई मन्त्री बनाएर पठाउँछौं भनेका थिए ।  

तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको गत फागुन १५ गते ताप्लेजुङमै भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि सो मन्त्री पद खाली थियो भने मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री स्वयंले सम्हाल्दै आएका थिए।

सरकारले सन् २०२० लाई पर्यटन बर्ष मनाउने घोषणा गरेको र लामो समय मन्त्री बिहीन रहनाले धेरै काम हुन नसकेको अबस्थामा मन्त्री हुन लागेका योगेश भट्टराईका लागि यो पद अवसरसँगै ठूलै चुनौति पनि हुनेछ ।    

प्रधानमन्त्री केपी शर्मा ओली  साउन १८ गते उपचारका लागि सिंगापुर जाने कार्यक्रम छ। प्रधानमन्त्रीले आफू उपचारका लागि विदेश जानुअघि नै  मन्त्री नियुक्त गरेका हुन्। मन्त्री परिषदमा ठूलै हेरफेर हुने चर्चा गरिंदै आएको सन्दर्भ योगेशको यो नियुक्तिले तत्कालका लागि टुङ्गिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.