दुवै पक्षका दल आफ्नै अडानमा

|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्को प्रतिपक्षी दल राजपा नेपालले संसदमा गरेको अवरोधका कारण उत्पन्न गतिरोध हटाउन बिहीबार सर्वदलीय बैठक बोलाइएको छ । 

सभामुख कृष्णबहादुर महराको आह्वानमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाइएको हो । कांग्रेस र राजपाले बजेट र नीति तथा कार्यक्रम पारित भएलगत्तैदेखि संसद अवरुद्ध गरिरहेका छन्। 

करिब एक महिनोदखि संसद अवरुद्ध हुँदा कयौँ विधेक तथा सरकारका काम कारबाहीबारेमा छलफल हुन सकेको छैन। यो गतिरोधलाई शनिबार प्रधानमन्त्री सिंगापुर उड्नुअघि नै हटाउने गरी छलफल थालिएको हो । 

चिकित्सकको सल्लाह अनुसार प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्योपचार र आरामका शनिबार सिंगापुरतर्फ प्रस्थान गर्दैछन्। सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्री केपी शर्मा ओली विदेश जानुअगावै संसदको अवरोध हटाउने पहल थालेका हुन्। ‘प्रधानमन्त्रीलाई पनि यसबारेमा सबै जानकारी छ’, महराले भने, ‘उहाँ जानु भन्दा पहिले यो गतिरोध हटाउने गरी छलफल थालेका छौँ।’ 

किन संसदमा अवरोध?

कांग्रेस र राजपाले विभिन्न ५ वटा माग राख्दै संसदमा अवरोध गरिरहेका छन्। कांग्रेसले सर्लाहीको इश्वरपुरमा प्रहरीको गोलीबाट मारिएका सरोजनारायण महतो र लालबन्दीमा प्रहरीबाटै मारिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वका नेकपका जिल्ला इन्चार्ज कुमार पौडल प्रकरणमा संसदीय छानबिन समिति बनाउन माग गर्दै सदन अवरुद्ध गरिरहेको छ । 

अर्को प्रतिपक्षी दल राजपाले कांग्रेससँग कार्यगत एकता गर्दै मधेस आन्दोलनमा भएको २०७२ साउनदेखि तराई, मधेस र थरुहटलगायत क्षेत्रमा विभिन्न राजनीतिक दलले गरेको आन्दोलनका क्रममा भएका हिंसा, हत्या, आगजनी, तोडफोडलगायत घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न गठन गरिएको पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ। 

यीसँगै दुई दलले पछिल्लो समय कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मल पन्तको २०७५ साउन १० बलात्कारपछि भएको हत्याको छानिबनको पनि माग गरेका छन्।

उनीहरुले बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सभामखु र उपसभामुख एकै पार्टीको भएको भन्दै नाराबाजी गरे। तर सभामुख कृष्णबहादुर महराले अदालतमा विचाराधीन रहेको विषयमा नबोल्न रुलिङ नै गर्नुपरेको थियो । 

आ–आफ्नै अडान 

प्रतिनिधि सभामा देखिएको अड्चनको सधाधानका लागि सभामुख महराले सर्वदलीय बैठक आह्वान गरेका हुन् । तर दलहरु आ–आफ्नै अडानमा छन्। कांग्रेस र र राजपाले सलार्हीका दुई हत्याकाण्डमा संसदीय छानविन समिति बनाउनुपर्ने अडान राखेका छन।  

‘यो समिति नबनेसम्म संसदमा जारी अवरोध हट्दैन’, कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले भनेका छन्। 

उता नेकपाका प्रमुख सचेतक देव गुरुङले भने संसदकै राज्य व्यवस्था समितिले छानविन गरिहेकाले दोहोरो समिति बनाउन नहुने अडान लिएका छन्। 
‘कुरा बाझिएको छ। अरु पनि छानविनका कुरा हुन्’, उनले भने, ‘राज्य व्यवस्था समितिमा सबै दलका सांसद छन्। साना दलका पनि त्यहीँ त्यो भएका हुनाले राज्य व्यवस्था समिति नै त्यसको टुंगोमा लाग्नुपर्ने विकल्प हुन सक्छ।’

राजपा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले लाल आयोगको कुरा बारम्बार उठिरहेको बताउँदै अनि संसद खुलाउन सकिने उल्लेख गरे। उनले कानुन मन्त्रीले लाल आयोगको प्रतिवेदन सार्वजनिक  गर्छु भन्दा नभइरहेकोमा शंका व्यक्त गरे।

तर सभामुख कृष्णबहादुर महराले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनिसंसद खुल्नुपर्ने शर्त राखे। ‘दुवै पक्ष केही न केही पछि हट्नुपर्छ’, उनले भने, ‘आफ्ना मागमा रहिरह्यो भने संसद चल्दैन।’

उता पूर्वसभामुख सुवास नेम्बाङले यो अड्चनले प्रणालीमाथि नै खतरा हुने चिन्ता व्यक्त गरे। उनले आफूहरुले २०५८ सालमा ५७  दिनसम्म संसद थुनेर गल्ती गरेको बताउँदै अहिले कांग्रेस त्यही गल्ती दोहोर्‍याउने बाटोमा लागेको गुनासो गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.